मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूर्णबहादुरको सारङ्गी’ले देखाएको वर्गीय विभेदको खाडल

काठमाडौँ– फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले अन्तिम दृश्यमा कमल गन्धर्व(प्रकाश सपुत)ले पूर्खाको सम्पत्ति सारङ्गीलाई च्यापेर हिँडेपछि आफ्नी सानी छोरीलाई कर्खाको धुन सुनाउने वाचा पृष्ठभूमिको स्वरमा सुनिन्छ ।

छोरीले कर्खाको धुनबारे जिज्ञासा राखेपछि कमलले कर्खालाई ‘वीर गाथा’को रूपमा बुझाएका छन् ।

फिल्ममा डाक्टर बनेका कमल गन्धर्वले पूर्खाको नासोका रूपमा सम्हालेका सारङ्गीबारे आफ्नी छोरीलाई बुझाए जसरी नै के अबका गन्धर्व समुदायले सारङ्गी र ऐतिहासिक सभ्यतालाई आफ्ना सन्ततिलाई सिकाउलान् ? 

सारङ्गीलाई नै पूर्खाकाे गाथा र नेपाली संस्कार मानेर हिँडेका तमाम ती आदिम गीतसङ्गीतका सर्जक पुस्तालाई समाजकाे वर्गीय संरचनाले पिँधतिर धकेलिदिएपछि अबका पुस्ताले कर्खाको इतिहास र सभ्यतालाई कसरी थाहा पाउलान् ? फिल्मको यो अन्तिम दृश्यले समाजकाे नजरबाट माथि उठ्न गन्धर्व समुदायले सारङ्गीलाई छाेड्दै गर्दा पहिचानसँगै देशकै मौलिक संस्कृति काँधमा बोकेको सारङ्गीलाई अब कसले बचाउला ? फिल्मले यी यावत् प्रश्नहरु गम्भीर रुपमा उठान गरेकाे छ ।

हिजो बस्ती बस्ती पुगेर अमूर्त लोक संस्कृति, राजामहाराजा, युद्धभूमिका वीरताका कथाहरू सुनाएर सञ्चारमाध्यमका समेत भूमिका निर्वाह गरेका गीतसङ्गीतका आदिम सर्जकहरुलाई गाइनेको रूपमा रूपान्तरण गर्न यो समाज र राज्य व्यवस्थाको भूमिका कस्तो रह्यो भनेर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले केस्रा केस्रा केलाएको छ । 

पूर्खाको आदिम सभ्यता, इतिहास र पहिचान जोडिएको सारङ्गीलाई आफ्नो परम्परा, संस्कृति मानी त्यसलाई च्यापेरै हिँड्छु भनेर ढिपी कसेका पूर्णबहादुरको सामाजिक र आर्थिक जीवनको हैसियतले भुँइमात्र टेकिरह्यो, आकाश छुन सकेन ।

भुइँतिर मात्र हेरिरहेका पूर्णबहादुरले सारङ्गीलाई गरिखाने आधार मात्र होइन, पूर्खाको परम्परागत संस्कृतिको बिँडो धान्ने काम गरे । आफ्नो बाउपछि उनको हातमा आएको सारङ्गीलाई उनले कुममा भिरे र सारङ्गीको धुन रेट्दै बाउले टेकेकै जमीनहरुमा पाउ राखे । त्यसकारण उनले चरम वर्गीय विभेदलाई भाेगे ।

उनले छोरा कमलमाथि पनि आफ्नो परम्परालाई बोकी हिँड्ने जिम्मेवारी बोकाउन खोजे र छोरालाई कुममा सारङ्गी भिडाएर त्यसैमा हातका औंलाहरु चलाउन सिकाउने जमर्को गरे । त्यही जमर्कोकै दौरानमा उनको हैसियतबारे श्रीमती बाटुली (अञ्जना बराइली)ले भन्दा बढी समाजले सम्झाइदियो ।

समाजका लागि उनी गाइने त थिए नै मगन्ते पनि भए । हिजोसम्म जात र थरकै आधारमा काम गर्नुपर्छ र त्यही हैसियतमा बस्नुपर्छ भन्ने पूर्णबहादुरलाई समाजको बलमिच्याइँ र हेपाइले नै रूपान्तरणको बाटोमा लाग्न बाध्य बनायो । त्यही रूपान्तरणको बाटो उसले आफ्नो छोरो कमललाई देखाए ।

त्यसपछि नै फिल्मको कथाले  बाउछोराको सम्बन्ध र बाउका सङ्घर्षहरु छुन्छन् । त्यसकारण ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मलाई बाउछोराको सम्बन्ध केलाउने फिल्मका रूपमा मात्र परिभाषित गर्दा गन्धर्व समुदायको सङ्घर्ष र योगदानप्रति न्याय हुँदैन ।

पूर्णबहादुरको छातीमा बलेको आगोको झिल्कोको उज्यालो उनले छोरा कमललाई दिएका छन् । छोराका लागि जीवनको उत्तरार्द्धसम्म उनले समाजको बलमिच्याइँहरु सहेर नै सारङ्गीको धुन रेटे ।

त्यही धुन रेटाइमा बगेका उनका पसिनाहरुमा उनले छोरोलाई आकाशतिर उडान सपना देखे । सारङ्गीको धुन रेट्दै गाउने उनको धुन नै बन्द भएपछि उनले सारङ्गीलाई दाउमा राखेर छोरालाई डाक्टर बनाउने सपनामा फेरि उनी डुबे । 

४० को दशकको मध्यतिरदेखि शुरुवात भएको कथाले ६० को दशकपछि गणतन्त्र उदयसम्मको परिवेशलाई छोएको छ । सारङ्गी बजाएरै जीविकोपार्जन गर्दै आएको गन्धर्व परिवारको जीवनको लयलाई केन्द्रमा राखेर कथा अगाडि बढ्दा त्यसमा सारङ्गी बजाएरै बाटुलीको मन जितेका पूर्णबहादुरले रोदीबाटै मायाप्रेमसँगै वैवाहिक जीवनको शुरुवात गर्छन् । 

छोरा कमलको जन्मसँगै बाटुली र पूर्णबहादुरको जीवनमा थपिएको जिम्मेवारी र समाजको चरम विभेदमा कथाले चरम सङ्घर्ष एवं चुनौतीतिर मोड लिन्छ । त्यही मोडमा पूर्णबहादुरको सङ्घर्षमा केवल एकजना बाउको मात्र होइन, आफूलाई गन्धर्व समुदायको हुँ भनेर सारङ्गी बोक्नेहरुको पीडादायी अवस्था फिल्ममा देखिन्छ ।

फिल्ममार्फत वर्गीय र जातिय रूपमा उत्पीडनहरुको यथार्थ स्थितिको चित्रण गरिएको छ । जात र पेसाकै आधारमा समाजमा सधैं पिँधमा बसिरहेका पूर्णबहादुर जस्तै आम मानिसहरूको जीवनको यथार्थता फिल्ममा समेटिएको छ । 

पूर्णबहादुर समग्र गन्धर्व समुदायको प्रतिनिधि पात्र हुन् । पूर्णबहादुरका रूपमा अभिनेता विजय बरालले ‘थ्रि’ लेयरको पात्रका रूपमा जीवन्त भूमिका निर्वाह गरेका छन् । रङ्गमञ्च र सिने क्षेत्रमा गरेको डेढ दशकभन्दा लामो साधना उनले यसमा पोखेमा छन् ।

फिल्ममा युवा, वयस्क र पाको उमेरमा उनले निर्वाह गरेका चरित्रहरुले आम दर्शकको मनमुटुसम्म बिझाउँछ । तीन तहमा पूर्णबहादुरले बाँचेको जीवनमा अभिनेता बरालले पनि शतप्रतिशत स्वीकार गरेर बाँचिदिएका छन् ।

केन्द्रीय भूमिकामा बरालले जुन तहको अभिनय कौशल देखाएका छन्, आगामी दिनमा त्यही तहको काम उनले दर्शकलाई दिने मौका पाउलान् या नपाउलान् स्वयं उनका लागि समेत यो फिल्मले थप जिम्मेवारी र भयको भारी बोकाइदिएको छ ।

फिल्ममा केन्द्रीय भूमिकामा देखिएका बराल मात्र नभएर सहायक रूपमा देखिएका अभिनेताहरु मुकुन भुषाल, बुद्धि तामाङको अभिनय पनि उत्तिकै जोडदार देखिन्छ । यी दुईले पनि बरालले जसरी नै ‘थ्रि’ लेयरको जीवन फिल्ममा बाँचेका छन् भने भोलाराज सापकोटाको अभिनय पनि उत्तिकै जोडदार देखिन्छ । बाल कलाकारका रूपमा देखिएका स्वयम् केसीको अभिनयले दर्शकको मन छुन्छ । 

फिल्मका कथालेखक एवं निर्देशक सरोज पौडेलले गन्धर्व समुदायको आँखाबाट सीमान्तकृत तथा यथार्थ स्थितिलाई देखाएका छन् । फिल्ममा केन्द्रीय भूमिकामा देखिएका बराल मात्र नभएर सहायक रूपमा देखिएका अभिनेता भुषाल, तामाङले उत्पीडन वर्गकै प्रतिनिधित्व गरेका छन् । फिल्ममा देखिएका माइला दाई(बुद्धि तामाङ) फिल्म अवधिभर नै भरियाका रूपमा देखा पर्छन् । उनको आङमा बोकिरहने डोकोले त्यसको संकेत गर्छ । 

यस दृश्य र पात्रले राज्य र शासनप्रणालीले तामाङ जातिलाई मासिन्या मतवालीको दर्जा दिएर भारी बोक्न राखेको पिपा जस्ता पक्षमा जोडेर इतिहासतिरको खोजी गर्छ । यसलाई बलियो दृश्यका रूपमा लिन सकिन्छ । 

लेखकको मूल ध्येय नै पूर्णबहादुरहरुलाई क्रान्तिकारी बनाउनु देखिन्छ । विश्वकर्मा थरका एकजना युवालाई जनगणनाको हाकिमका रूपमा प्रस्तुत गरेर ‘मान्छेको कदर उसको थरले होइन, योग्यताले हुन्छ’ भन्ने चेतनाको आगो लेखकले पूर्णबहादुरको मनमा बालिदिएका छन् ।

त्यही आगोको ज्वाला लिएरै नै पूर्णबहादुरले छोरालाई ठूलो मान्छे बनाउने सपना देख्छन् । लेखक तथा निर्देशक पौडेलले सुधारिएको पञ्चायत, बहुदल र गणतन्त्रपछि पूर्णबहादुर जस्ता उत्पीडन वर्गको छातीमा बलेको विभेदको आगोको क्रान्ति प्रस्तुत गरेका छन् । 

पूर्णबहादुरले छोराको रहर नै सही भोटो फालेर छोराको आङमा स्कूले नीलो सर्ट लगाइदिनु, सारङ्गी झिकेर छोरालाई अक्षर चिनाउन स्कूल पुर्‍याउनु, ब्राह्मण समूहको भजन किर्तनको माहोलमा पुगेर सारङ्गी बजाउन हिम्मत गर्नु पूर्णबहादुरको क्रान्तिकारी रुपहरु हुन् । ब्राह्मण समुदायले सारङ्गीलाई ‘गरिखाने भाँडो’को संज्ञा दिइरहँदा पूर्णबहादुरले प्रतिउत्तर उनीहरुलाई पनि मागेरै खाइरहेको जवाफ समेत दिन्छन् । 

समाजको चरम विभेद र उत्पीडनहरुमा पूर्णबहादुरले बाँच्न चाहेको जीवन र समानताको आवाज यसमा झल्केको छ । 

फिल्ममा प्रतिकात्मक रूपमा देखाएका दृश्य भाषाहरुको गहिराइमा गहन अर्थहरु भेट्टाउन सकिन्छ । चरम विभेद र उत्पीडनहरुलाई पार गरेर बाँच्न चाहेको पूर्णबहादुरहरु जस्तै आम किनाराकृत मानिसहरुका भोगाइलाई प्रतिबिम्बित गर्छन् । 

कान्छाले रहरले लगाएको नीलो सर्टलाई मास्टर(भोलाराज सापकोटा)ले गाइनेहरुले लगाउन नहुने भन्दै फुकाल्न लगाएपछि भावुक भएर हिँडेको पूर्णबहादुरको बाउछोराले खेतको आलीमा एउटा बुख्याँचा नीलो सर्ट र पाइन्टमा देख्छन् । जुन दृश्यले गन्धर्व समुदायको हैसियलाई समाजले बुख्याँचाको भन्दा तल देखेको अर्थ्याउँछ । 

गन्धर्व समुदाय समाजको विभेद र आर्थिक रूपमा माथि आउन खोजेको भावलाई फिल्ममा धेरै ठाउँमा प्रतिकात्मक रूपमा देख्न सकिन्छ । जस्तो पूर्णबहादुरको बाउछोरा धेरैजसो उकालो लागेको देखिन्छ । स्कूले नानीहरु तलतिर झर्दा दुवै बाउछोराहरु उकालो लागिरहेका छन् । पूर्णबहादुरको घरमा जब आर्थिक र शिक्षाको कुरा हुन्छ, तब अँध्यारो र टुकी बत्तीलाई फोकस गरिएको छ । जसले अन्धकार हटाएर उज्यालो खोजिरहेको संकेत गर्छ ।

बाटुलीको दोधारे मनलाई बगिरहेको खोलाको रूपमा देखाइएको छ । ताल जसरी जमिरहन खोज्ने पूर्णबहादुरको ठाउँमा बाटुली खोलाजसरी बगेर रूपान्तरण चाहन्छिन् । उनी खोलामा बसेर आफ्नो बह पोख्छिन् । त्यही समयमा हर्के(विनोद न्यौपाने)सँगै पुललाई समेत देखाइएको छ । कथाकारले कथा लेखनमा भने पितृसत्ता परम्परागत सोचलाई हाबी बनाएका छन् । बाटुलीको चरित्रमा दाग लगाउँदै पूर्णबहादुरको पात्र र सङ्घर्षलाई सेफ ल्याण्डिङमा राखेका छन् ।

‘सिउँदो भरी छ, मन खाली’ भनेर बाटुलीको चरित्र चित्रण गरेका लेखकले केही समयमै फेरि हर्केसँग भागेको नभएर छोरा पढाउन घर छोडको कुरा उठान गरेर चलाखीपूर्ण रूपमा आफूलाई प्रस्तुत गरेका छन् । जुन दृश्यमा बाटुलीको चौबन्दीले छोपिएको आधा पोतेमात्र देखाइएको छ ।

५० देखि ६० को दशकबिचमा देखाइएको दृश्यमा टुकी बत्तीको सट्टामा एउटा सानो सिसीमा बत्ती बनाइको छ । जतिबेला परम्परागत टुकी बत्ती नै उपलब्ध थिए । अर्कोतिर ६० को दशकपछिको गाउँको परिवेश, सारङ्गी बजाएर हिँड्नेहरुको अवस्थालाई तुलानात्मक रूपमा हेर्दा फिल्मको कथाक्रममा केही बेमेल र त्रुटीहरु छन् । यद्यपि त्यसलाई पूर्णबहादुरको चरित्रका रूपमा बाँचेका अभिनेता बराललगायतका अन्य कलाकाहरुको अभिनय कौशलले ढाकिदिएका छन् । 

६० को दशकपछि आएको गणतन्त्रले नछोएको गन्धर्व जस्ता सिमान्तकृत समुदायको अवस्थालाई ‘व्यवस्था फेरियो तर जनताको शासन अझै आएन’ जस्ता ढुङ्गामा लेखिएका अक्षरहरुमा देखाइएको छ । पूर्णबहादुर छोराले पठाएको चिठ्ठी पढ्ने मान्छे खोजेर भौतारिएर हिँडेको अन्धकार मुसलेधारे पानीमा ‘गणतन्त्र जिन्दावाद’ नारा लगाएर हिँडेको धुमिल दृश्य देखिन्छ । फिल्मको जुन दृश्यले तत्कालीन राज्य व्यवस्था आम सीमान्तकृत समुदायका लागि कस्तो रह्यो भन्ने कुरा प्रस्ट्याउँछ । 

आज पनि सारङ्गी बजाएर आफ्नो सन्ततिलाई गन्धर्व समुदायको पेसाभन्दा अलग्गै बाटोमा हिँडाउन शिक्षादिक्षा दिइरहेका पूर्णबहादुरहरु शहरका गल्ली गल्ली सारङ्गीको धुन सुनाइरहेका छन् । ठमेलका चोक चोकमा पूर्णबहादुरहरु छरिएका छन् । आफ्ना सन्ततिहरुले सारङ्गीको धुन रेट्न नजान्नुमा ती पूर्णबहादुरहरुको छातीमा हर्ष र विस्मात् दुवै गुजुल्टिएर बसेका छन् ।

पूर्णबहादुरहरुलाई हर्ष यस मानेमा छ कि, आफ्ना सन्तानहरु पढेलेखेको भएपछि अब घर घरमा सारङ्गी बजाएर माग्नुपर्दैन । समाजले मानेको उच्च हैसियतको पेसामा आफ्ना कतिपय सन्ततिहरू छन् । 

नयाँ पिँढीका आफ्ना सन्तानहरुले नै सारङ्गीको धुन नरेटेपछि गन्धर्व जातिको ऐतिहासिक सभ्यतालाई अब कसले भनिदिन्छ ? यही विस्मात् अहिलेका पूर्णबहादुहरुलाई छ । ‘पूर्णबहादुरहरु नै ढलेपछि सारङ्गीलाई जोगाउँदै कर्खाको धुन बजाउने पुस्ता जन्माउन अब देशले सक्ला कि नसक्ला ? फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले यही प्रश्न राज्यसँग गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?