मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेब्यु फिल्मबाटै सफलताको स्वाद चाखेका समीर

काठमाडौँ– साठीको दशकमा एकपछि अर्को हिट फिल्म दिएका विराज भट्ट केही वर्ष नेपाली फिल्म उद्योगबाट टाढिए । पछिल्ला केही वर्षयता आफैले निर्माण तथा निर्देशन गरेका केही फिल्म रिलिज भए पनि उनले पहिलेको जस्तो सफलता हासिल गर्न सकेनन् ।

पुरानै ढर्राका फिल्म बनाउने विराजको कमब्याकलाई नेपाली दर्शकले त्यति स्वागत नगरे पनि अहिले भने विराजको क्रेज ह्वात्तै बढेको छ । दशैँको अवसर पारेर गत असोज २४ गतेदेखि प्रदर्शनमा आएको उनको फिल्म ‘१२ गाउँ’ ले राम्रो चर्चा कमाएको छ । फिल्मले उत्साहजनक व्यापार गरेको छ ।

‘१२ गाउँ’ मा विराजको निर्माण र निर्देशन छ भने अभिनय पनि रहेको छ । यो फिल्मबाट उनले दर्शकको न्यानो साथ पाएका छन् । अझ त्यति मात्र नभएर पहिलो फिल्मबाटै उनका छोरा समीर भट्टलाई पनि दर्शकले स्वागत गरेका छन् ।

‘१२ गाउँ’ मा शीर्ष भूमिकामा देखिएका समीरलाई पहिलो फिल्मले नै सफलताको स्वाद चखाएको छ । यो फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । त्यसो त यो फिल्म निर्माण हुने खबरसँगै चर्चामा थियो । त्यसपछि पोस्टर र टिजरले पनि समीरको चर्चालाई थप गोडमेल गर्‍यो ।

डेब्यु फिल्मबाटै चर्चामा आएका समीर अब भने फिल्म ‘बलिदान’ मा देखिने छन् । सन्तोष सेनको निर्देशन रहने सो फिल्ममा समीरलाई उस्तै सशक्त भूमिकामा देखिने निर्माण टिमले बताउँदै आएको छ ।

समीरले १० वर्ष मेहनत गरेर पूर्ण तयारीका साथ फिल्ममा डेब्यु गरेको बताउँदै आएका छन् । त्यसै कारणले पहिलो फिल्मबाट सफलता मिलेको कतिपयको बुझाइ छ ।

डेब्यु फिल्मबाटै दर्शकको मन जित्न सफल समीरको आगमनसँगै अब एक्सन फिल्मको बाढी आउने हो कि भन्ने कतिपयको आँकलन छ । अर्कातर्फ समीरलाई पनि दर्शकको मन जित्दै अझ स्तरीय फिल्म पस्किनुपर्ने दबाब बढेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?