काठमाडौँ- सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।
‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजार रुपैयाँसम्म खर्च भएको थियो’, उनले भने ।
केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भीषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो’, उनले भने ।
कोशी ब्यारेजकै किसान लक्ष्मण प्रमाणीले दशैँ लगत्तै धान काट्ने सोचमा थिए । तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । ‘चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’
त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन् । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया