काठमाडौँ– शाहकालीन समयभन्दा अघि आदिवासी सौन्दर्यको लय आफ्नै सुर र तालमा थियो । आफ्नो संस्कृति र जीवनपद्धतिको लयमा आदिवासी जीवनका रङहरु अन्तरघुलित थिए भने उनीहरु हिँड्ने गोरेटाहरूमा स्वन्तन्त्रताको भाका थियो ।
गोर्खा राज्यको विस्तारसँगै आदिवासी ज्ञान, संस्कृति र जीवनका सौन्दर्यहरु खुम्चिन पुगे । यही सिलसिला क्रमवद्ध रुपमा अगाडि बढ्दै जाँदा पूर्वी याक्थुम लिम्बूहरुको जीवन दर्शन र संस्कृति अनि मारमा पर्यो उनीहरुको आस्थाको धरोहर ‘मुक्कुमलुङ’ ।
‘मुक्कुमलुङ’ आदिवासी याक्थुमहरुको आस्था मात्र नभएर उनीहरुको परमपूज्य ‘तागेरानिङ्वाफुमाङ’ बासस्थान समेत हो । किरातीहरुको सृष्टिको सभ्यतालाई बताउने मुन्धुमले समेत ‘मुक्कुमलुङ’ उत्पत्तिको कथा भन्छ ।
किराँती पहिलो मानव मुजिङ्ना खेयङ्नाका छोरा सावा युक्पुङ्गेम्बा सृष्टि अस्तित्वकालमै ‘मुक्कुमलुङ’ पहाडको चुलीमा तान बुन्दै गरेकी महिला ‘योसुलुङ्मा मुक्कुलुङमा’ देखे । उनी शिकार खेल्दै त्यहाँ आफ्नो कुकुरसँगै पुगेका थिए ।
मुक्कुलुङमाले नै युक्पुङ्गेम्बा सिकार खेल्ने क्रममा हराएका कुकुर र मृगलाई पत्ता लगाउने जुक्ति सिकाएका थिए । त्यसपछि पहाडको नाम नै ‘मुक्कुमलुङ’ रहन गयो । गोर्खा राज्यको विस्तार र नेपाल एकिकरणपछि सिङ्गो देशलाई हिन्दुकरण गरी खस नेपाली भाषालाई अनिवार्य गराइयो ।
त्यसपश्चात् आदिवासी ज्ञान, संस्कृति मात्र होइन भाषामा समेत संकट आयो । यही क्रममा याक्थुमहरुको ‘मुक्कुमलुङ’ नाम राज्यले नै वि.सं. २०५३ सालमा ‘पाथिभरा’ भनेर आदेश स्वरुप घोषणा गर्यो । ‘मुक्कुमलुङ’ माथि राज्य सत्ताको नियन्त्रणमा यति मात्र सीमित भएन अहिले उक्त ‘मुक्कुमलुङ’को शिरसम्म केवलकार विस्तार गरेर त्यसलाई पर्यटनको हब बनाउने मेसोमा राज्य लागेको छ ।
‘मुक्कुमलुङ’ काखैमा रहेकाे प्रकृतिमाथि क्षति पुर्याइरहेको छ । आफ्नो आस्थाको धरोहर नै धरमराउने स्थितिमा पुगेपछि किरातीहरु जुर्मुराउन थालेका छन् । उनीहरुले राज्यको अतिक्रमण विरुद्ध कलामार्फत नै प्रतिरोध गर्न शुरु गरेको छ । त्यही प्रतिरोधकै क्रममा नै सिर्जना भएको नाटक हो ‘मुक्कुमलुङ’ ।
डा.चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित रहेर नाटकको परिकल्पना तथा लेखन साहित्यकार एवं प्राज्ञ राजन मुकारुङले गरेका छन् । नाटकको निर्देशन भने युवा पुस्ताकी रङ्गकर्मी पवित्रा राईले गरेकी छिन् ।
असोज २ गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन शुरु गरिएको नाटक ‘मुक्कुमलुङ’ले याक्थुम लिम्बुहरुले यसमाथि राखेको विश्वासको शक्ति र राज्यको अतिक्रमण विरुद्ध आन्दोलनको स्वरुपलाई विम्बात्मक रुपमा बोलेको छ । आदिवासी विश्वास, संस्कृति र सभ्यतामाथि राज्यतहबाट युगौंदेखि भइरहेको अतिक्रमणविरुद्ध नाटकले कलामार्फत विरोध जनाउँदै आन्दोलनको गर्जनलाई बुलन्द पार्ने जमर्को गरेको छ ।
नाटकको शुरुवात समकालीन समयलाई जोड्दै शुभारम्भ हुन्छ भने अन्त्यमा पनि यही समयकाललाई जोडेको छ । समकालीन समयसम्म आइपुग्दा खेरी याक्थुम लिम्बू किराँतीहरुले केके भोगे, त्यसको परिणाम के भयो र अबको बाटो कता लाग्ने भन्ने शुरुवातमा संकेत दिँदै नाटक फ्ल्यासब्याकतिर मोडिएर मुक्कुमलुङ क्षेत्र याक्थुम लिम्बूको आदिवासी जीवनतिर पुग्छ ।
याक्थुम लिम्बूहरुको जीवनमा नाटक प्रवेश गर्दै गर्दा त्यहाँ च्याब्रुङ, पालम, हाक्पारे र मुर्चुङ्गाहरुको धुन सुनिन्छ । त्यही धुनको लयमा समानान्तर रुपमा बगिरहेका किराती मुन्धुमी संस्कार र स्वतन्त्र जीवनका भाकाहरु गुञ्जिन्छन् । त्यतैतिर नामओती(दीपा सुहाङ) र आइत(रेअर राई)को प्रेम भेटिन्छ भने आगेनी(इन्दिरा नेम्बाङ), आगे(प्रयास बान्तवा राई), कात्तिके जेठी(नुसा लिङ्देन), मारमेनी(शान्ता राई)हरुको जीवनहरु भेटिन्छन् ।
त्यसैमा याक्थुम लिम्बू समुदायमा चल्ने सांस्कृतिक लयसँगै विवाह, मृत्यु तथा संस्कृतिका अनगिन्ती पक्षहरु देखिन्छन् । मुक्कुलुङमाले बुनेको तानलाई आदिवासी सभ्यताकै रुपमा नाटकमा केन्द्रीय रुपमै प्रस्तुत गरिएको छ । जसले किराती सभ्यतासँगै मौलिक परम्परागत सीपलाई उजागर गरेको छ ।
मञ्चको अग्रभागमै ठडिएको मुक्कुमलुङको चुली आफैंले नाटकको मूल विषयलाई देखाएको छ । आगेनी र आगेले मुक्कुमलुङ आदिम बस्तीलाई छोड्दै गर्दै नाटक वियोगतिर देखाउँदै समकालीन समयतिर पुग्छ । नामओती र आइतेको भागी विवाह, आगेनी र आगेको जेठी छोरीको मृत्यु नै उनीहरुले आदिवासी भूमि छोड्नुपरेको तत्कालीन स्थिति देखिएपनि त्यसको पछाडि सदिऔंदेखि भोगिआएको अतिक्रमणको पाटो जोडिन्छ ।
आदिवासी भूमि र संस्कृति अनि माटोमाथि कसरी अरुले धावा बोले भन्ने पाटोको कुरा भने नाटकले बेलिविस्तार लगाउँदैन । मुक्कुमलुङमाथि याक्थुम लिम्बुहरुले राखिने आस्था र त्यसको आदिम सभ्यता र इतिहासलाई नाटकका कोट्याइएको छैन । उही आदिवासी लय, संस्कार र आस्थाहरुमा ‘मुक्कुमलुङ’ महिमा बुनिएको छ ।
किराती सभ्यता र संस्कृतिलाई साहित्यका अनेकन विधामा उन्ने मुकारुङले कविता तथा आख्यानमा जसरी नै नाटकमा समेत बुलन्द रुपमा उठान गर्दै आएका छन् । ‘खुवालुङ,’ ‘बाखाम्मा’ जस्ता किराती सौन्दर्य, इतिहास, सभ्यता र सृष्टि कथालाई ताजा रुपमा नाटककै भाषामा बोलेर अतिक्रमण विरुद्ध आफ्नो गर्जन निकालेका उनको धुन यसमा समेत मिसिएको छ ।
आदिवासी सभ्यता र इतिहासलाई मेटाउने विकासे योजनालाइै उनले विरोध जनाएका छन् । मुक्कुमलुङको सभ्यताको विस्तार र महिमाभन्दा पनि यसलाई विथोल्न खोज्ने समकालीन राज्यको नियतलाई उनले जोड दिएका छन् । हिजो राज्यको बलमिच्याइमा याक्थुम लिम्बुहरुले केके भोगे भन्ने कुराको पृष्ठभूमिलाई सामान्य रुपमा छोड्दै मुक्कुमलुङ(पाथीभरा)मा केवल राख्न अस्वीकार गर्दै त्यसको विरुद्धमा लागेका किरातीहरुको आन्दोलनतिर नाटकको कथा मोडिएको छ ।
अन्त्यमा देखाइने मुक्कुमलुङमा केवल राख्न अस्वीकार गरेको विषयले फ्ल्यासब्याकमा प्रस्तुत गरेको याक्थुम लिम्बूहरुको जीवन पद्धति र संस्कृति ओझेल पर्छन् । किनकी नाटक ‘मुक्कुमलुङ’ भनेकै पछिल्लो आन्दोलनको स्वरुपको रुपमा आम दर्शकले लिन्छन् ।
नाटकभित्रका लिम्बू समुदायको जीवनदेखि मृत्युसम्मका परम्परा अनि सांस्कृतिक जीवन्त लय तथा भाकाहरु पनि नाटकभित्र छन् । आन्दोलनको मूल रुपले ती कुराहरु केही ओझेल पर्छन् ।
नाटकमा समकालीन समयलाई जोड्ने तिव्र शहरीकरणको ध्वनी अनि परम्परागत किराती समुदायलाई झल्काउने गाउँबस्तीको सुँगुरको ध्वनी होस् या च्याब्रुङको लयले छुट्टिन्छ । शुरुवातकै दृश्यमा च्याब्रुङ खोसिएको र आदिवासीहरुको विद्रोहको स्वरुपले नाटकको मूल विषयलाई इंगित गर्दै अन्तिमतिर आन्दोनलको स्वरुप सम्ममा पुर्याउन निर्देशक राईले फ्ल्यासब्याकसम्मको दृश्यहरुलाई संयोजन गर्ने भरपुर जमर्को गरेकी छिन् ।
पुस्तान्तरण अनुसार भाषाको लवजमा मौलिकता र आधुनिकता झल्केका छन् । भाषा लवजकै कुरा गर्दा आइतले किराती लयमै बोलिरहँदा नामओतीका त्यो लय भेटिँदैन । यही समय, उही पुस्ता र परिवेशमा हुर्केकाहरुको लवजमा भिन्नता कसरी हुन्छ भन्ने नाटक हेर्दै गर्दा भान हुन्छ । मुक्कुमलुङको सभ्यता, अस्तित्व र यसमाथि हुँदै गरेको अतिक्रमणको पीडालाई सुन्दर विम्ब र प्रतीकहरु बनाएर समकालीन समयलाई सुनाइएको छ ।
पहिचानको आन्दोलनकै लागि लडेका वास्तविक योद्धाहरु र यसैको नाममा स्वार्थी प्रवृत्तिप्रति नाटकले व्यङ्ग्य गरेको छ । आदिवासी पहिचानकै लागि लडेका किरातीहरुमा समेत एकता नभएको नाटकले शुरुवाती दृश्यतिर इंगित गरेको छ ।
खगेन्द्र याक्मो, मनु नेम्वाङ, ब्रविम शेर्पा, इन्दिरा नेम्वाङ, पवित्र राईको गीत र सुरज राणाको कविताले किराती संस्कृति, जीवन र आवाजहरु बुलन्द गरेका छन् । असोज २० गतेसम्म मञ्चन हुने नाटकमा प्रकाश परिकल्पना र परिचालनमा संजीप योगी, सेट डिजाइनमा मणिकुलुङ राई र सङ्गीत परिकल्पनामा संजीत थुलुङ राई रहेका छन् ।
मञ्चमा
दीपा सुहाङ, रेअर राई, इन्दिरा नेम्वाङ, प्रयास बान्तवा राई, उदय बेधा, नुसा लिङ्देन, गोविन्द लिम्बू, स्मृति राई, शान्ता स्वरी राई, उज्वल बान्तवा राई, प्रमिला चाम्लिङ राई, रमिला मोक्तान, अकाश नेपाली, हिरण राई, सुजु सुनुवार किराती, संजीत थुलुङ राई, दिवस पयाङ्गू ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया