काठमाडौँ– नेपालको पूर्वी जिल्ला इलाम घुम्न जाने रहर त कसको नहोला र? प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामले स्वदेशी तथा विदेशी अधिकांश पर्यटकको ध्यान तानेको छ ।
त्यसैले पनि होला इलाम अधिकांशको घुम्ने गन्तव्यमा पर्छ । इलामको चियाबारी, श्री अन्तु, माइपोखरी, कन्याम लगायतका धेरै ठाउँको नाम सुन्नु अनि घुम्नु भएकै होला । तर तपाईंलाई थाहा छ इलाममा सन्दकपुर पनि छ ।
जहाँ घुम्नको लागि तपाईंको लागि राम्रो गन्तव्यको रुपमा हुन सक्छ । सन्दकपुर गाउँपालिकामा रहेको यो इलामको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।
सामुन्द्रिक सतहबाट ३६०० मिटर उचाइमा रहेको यो क्षेत्रमा हिउँद याममा हिउँले मात्रै ढाक्दैनन् । फागुन चैत्रमा फुल्ने रङ्गीबिरङ्गीका गुराँसका फूलले तपाईंको मन पनि लोभ्याउँछ ।
इलामको माइपोखरी पुगेपछि तपाईं सन्दकपुरको यात्रा गर्नुहुन्छ । बाटो कच्ची भए पनि यात्रामा भेटिने विभिन्न साना ठूला हिम नदीले तपाई को मनलाई आनन्दित बनाउँछ । सुनसान पहाडी बाटोमा तपाई हरियाली वनजङ्गल तथा पहाडहरूसँग रमाइलो गर्दै यात्रा गर्न सक्नुहुन्छ ।
सन्दकपुर नेपाल र भारतको सिमाना पनि हो । यहाँ एक भाग छिमेकी मूलुक भारत र एक भाग नेपालको रहेको छ । सिमानामा राखिएको सीमा स्तम्भले मात्रै तपाईंलाई नेपाल र भारतको विभाजनलाई स्मरण गराउँछ । यहाँको प्राकृतिक सुन्दरता तथा हरियालीले तपाईंलाई सबै भू–भाग एउटै देशको भूमिको रुपमा मात्रै अनुभूति गराउँछ ।
यात्राका क्रममा तपाईं कालापोखरी पुग्नु हुन्छ । कालापोखरीलाई पनि दुई नामले चिनाइन्छ । एउटा काल पोखरी अर्को कालापोखरी । सधैँ सफा रहने यो पोखरीमा कहिल्यै पनि फोहर हुन्न भन्ने मान्यता रहेको छ ।
यदि रुख वा बोटविरुवाको पात झरेर पोखरी फोहोर भइहालेमा चराचुरुङ्गीले आफ्नो चुच्चोको सहायताले सफा गर्ने स्थानीयको मान्यता रहेको छ । सधैँ सफा रहने पोखरीको आफ्नो परिचय भए पनि नागरिकता भने छैन । अर्थात् सिमानामा रहेको यो पोखरी नेपाली वा भारत भूमि छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन । तर पनि पर्यटकलाई एउटा आकर्षण दिँदै आएको छ ।
कालापोखरीको मनोरम दृश्यको अवलोकन पछि तपाई चन्दुमा जान सक्नुहुन्छ । यहाँ पर्यटकको लागि भनेर होमस्टे सञ्चालनमा रहेको छ । चन्दुमा स्थानीय सामग्री तथा परिकारसहितको खाना, खाजा र बस्ने स्थानको व्यवस्था रहेको छ । यति मात्रै नभई यहाँबाट सौन्दर्य र सूर्यास्तलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।
अझ बिहान सबैर सौन्दर्यबाट मुस्कुराएका हिमाल र साँझ सूर्यास्तसँगै मलिन हुँदै दिनलाई बिदाइ गरेका हिमाललाई यहाँबाट नजिकबाट नियाल्न सकिन्छ । यहाँको सौन्दर्य र सूयास्त अन्य स्थानको तुलनामा फरक र विशेष प्रकृतिको देखिन्छ ।
थप रोमाञ्चक र फरक देखिन्छ । अझ यहाँको सौन्दर्यसँगै टल्किने हिमालबाट आएको चिसो हावाको सङ्गीतमा नाच्ने चराहरुले तपाईंलाई बैग्लै आनन्द दिन्छ ।
यहाँबाट नेपालको मात्रै नभइ भारत र भुटानसम्मको हिमाललाई नजिकबाट नियाल्न सक्नुहुन्छ । यहाँबाट नेपालको मकालु, कञ्चनजंघा, कुम्भकर्ण र सिक्किमको पाण्डिमलगायत अन्य विभिन्न हिमालहरु देख्न सकिन्छ ।
यी हिमालहरु मिलेर सुतेको बुद्धको आकृति देख्न सकिन्छ । त्यसैले पनि यो स्थानलाई ‘सिल्पिङ बुद्ध’को नामले परिचित छ ।
यहाँबाट भारतको क्षेत्र तर्फ हरियाली फाँटहरु देख्न सकिन्छ । नेपालतर्फ हेर्दा विभिन्न हरियाली वनजङ्गलहरु देख्न सक्नुहुन्छ । यति मात्रै नभई यहाँ तपाईंले रेडपाण्डा, चौरीलगायत विभिन्न जङ्गली जनावरहरुलाई पनि देख्न सक्नुहुन्छ । अझ चौरीहरू घाम लागेसँगै निस्केर पाटनमा चर्न आउँछन् ।
सन्दकपुर जानको लागि तपाई नेपाल र भारतको बाटो प्रयोग गर्दै जानुपर्छ । कहिले नेपालको भूमि र कहिले भारतको भूमि हुँदै यात्रा गर्नुहुन्छ ।
दुई देशको सिमाना क्षेत्रमा रहेको सन्दकपुरमा कुनै समय भारतले मात्रै बाटो निर्माण गरेको थियो । भारतीय भूमि भएर मात्रै सन्दकपुर जानुपर्ने अवस्था थियो । तर पछिल्लो समय सो अवस्थाको अन्त्य भइसकेको छ ।
नेपालबाट पनि सन्दकपुर जानको लागि बाटो निर्माण भइसकेको छ ।
नेपाली नागरिकले पनि विभिन्न होमस्टे तथा होटलहरु सञ्चालनमा ल्याइसकेको छ । यसले पनि सन्दकपुर नेपाली भूमिमा रहेको भन्ने अनुभूति गराउँछ । सन्दकपुर पहाडी क्षेत्रमा रहेकोले यात्रामा केही समस्याहरु आउँछन् । यहाँ पूर्वाधारको पूर्ण रुपमा विकास हुन सकेको छैन । कतिपयले जाने बाटोबारे पनि थाहा नहुन सक्छ ।
स्थानीय क्षेत्रमा सञ्चालनमा आएको होटल तथा स्थानीय बासिन्दाको सहयोगमा तपाईंले सन्दकपुरको यात्रा गर्न सक्नुहुन्छ । यहाँ जानको लागि तपाईं कम्तिमा चारदेखि पाँच दिनको लागि समयको व्यवस्थापन गर्नुपर्छ ।
यहाँ पुग्नका लागि तपाईंले कम्तिमा पनि प्रतिव्यक्ति १५ हजारका दरले बजेट छुट्याउनु पर्छ । होमस्टेमा राम्रो व्यवस्था भएकाले तपाईंहरु २० देखि २५ जनाको समूह बनाएर पनि सन्दकपुर घुम्न जानसक्नुहुन्छ ।
पहाडी भूभाग, कच्ची रोड भएकाले तपाईं वर्षायामभन्दा पनि हिउँदयाममा यहाँ घुम्न जाँदा राम्रो हुनेछ । विशेषगरी दशैँ तिहार, मंसिर, पुस, फागुन, चैत्र र बैशाखमा यहाँ घुम्न जाँदा राम्रो हुनेछ । मंसिर र पुसमा हिउँमा खेल्न सक्नुहुन्छ ।
फागुनदेखि वैशाखमा यहाँ विभिन्न प्रजातिका गुराँसको फूलहरु फुल्छन् । ती फूलहरुसँगै खुलेका आकाश र मौसममा तपाईले सन्दकपुरको सुन्दरतालाई थप नजिकबाट नियाल्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया