मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

काठमाडौँको कोलाहललाई भुलेर घुम्न जाने होइन बेथानचोक ?

काठमाडौँ– काठमाडौँको कोलाहललाई भुलेर प्राकृतिक वातावरण र डाँडाकाँडामा रमाउने रहर कसको नहोला र ? अझ पढाइसँगै रोजगारीका लागि काठमाडौँ छिरेका व्यक्तिको लागि ग्रामीण परिवेश वा घर गाउँ झल्काउने ठाउँ घुम्न रहर उधुमै हुन्छ ।

यदि तपाई पनि यस्तै ठाउँको खोजीमा हुनुहुन्छ भने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक राम्रो गन्तव्य हुन सक्छ । यो ठाउँ बेथानचोक गाउँपालिकामा अवस्थित छ । जहाँ यात्राको क्रममा ग्रामीण परिवेश र रमणीय वातावरण पाउनुहुन्छ । अझ यात्राको क्रममा भक्तपुर सहरी परिवेश नाघेको केही बेरमै तपाईंलाई आफ्नै गाउँ घर गएको महसूस गराउँछ ।

जहाँ तपाई साथीहरुसँग क्याम्पियनसहित रमाइलो र आत्मियता साटासाट गर्न सक्नुहुन्छ । बेथानचोक जानको लागि तपाईले काठमाडौँबाट सार्वजनिक यातायात वा आफ्नो व्यक्तिगत सवारी साधन पनि प्रयोग गर्न सक्नुहुन्छ । सार्वजनिक यातायातमा जाँदै हुनुहुन्छ भने काठमाडौँबाट पनौतीसम्मको बस पाउनुहुन्छ । त्यहाँबाट तपाईंहरुले धुमखर्कसम्म जाने सार्वजनिक यातायात पाउनुहुन्छ ।

धुमखर्कबाट तपाईं पैदल यात्रा गर्नुपर्छ । यहाँबाट बेथानचोक पुग्न करिब तीनदेखि चार घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

यस्तै गरी निजी सवारी साधनमा जानुहुन्छ भने धुमखर्कभन्दा केही माथिसम्म मोटरेबल बाटो विकास भएको छ । तर भर्खरै विकासको झिल्को देखिन थालेको सो क्षेत्रको बाटो कच्ची र केही अप्ठयारोपूर्ण रहेको छ । केही सावधानी अपनाएर सवारी साधन चलाउन सक्नुहुन्छ ।

मोटरबाटो छोडे पछि तपाईंहरु एक घण्टा जङ्गलको पैदल यात्रा गरी बेथानचोक पुग्न सक्नुहुन्छ । जङ्गलको यात्रापछि तपाईंहरु नारायणथान मन्दिरमा पुग्न सक्नुहुन्छ । र, त्यहाँ पूजाआजा गर्न सक्नुहुन्छ ।

नारायण थान मन्दिरभन्दा केही तल गुफा छ । घरको भित्ता जस्तै भएको यो गुफाभित्र छिरेको केही बेरमा अध्यारो हुन्छ । त्यसैले तपार्इंले मोबाइल वा कुनै वैकल्पिक टर्चको प्रयोग गरी भित्र छिर्न सक्नुहुन्छ । तर करिब ६० मिटरभित्र छिरेपछि गुफाको गन्तव्य मुस्किलैले मात्रै भेटाउन सकिन्छ ।

बेथानचोकमा तपाईंले बाटोमा ग्रामीण परिवेशका जीवनशैली, घर तथा कर्म भेटाउनुहन्छ । केही माथि पुगेपछि जङ्गलको यात्रा गर्नुहुन्छ भने सबैभन्दा माथि हरियाली चौर, रङ्गीचङ्गी फुलेको फूल, चराचुरुङ्गीको मधुर सङ्गीत र डाँडाकाँडा पाउनु हुन्छ । यहाँ मौसम पूर्ण रुपमा खुलेमा काठमाडौँ मात्रै नभई जनकपुरसम्मै दृश्यले आँखाले भ्याउने स्थानीय बताउँछन् ।

जङ्गलको यात्रामा चिसो हावाबाट रुखका हाँगा र पातहरु एक आपसमा ठोक्किएका सङ्गीतले तपाईंको मनलाई थप आनन्दित महसूस गराउने छ ।

सामुन्द्रिक सतहबाट करिब २८०० मिटर उचाईमा रहेको बेथानचोक तपाईंको लागि छोटो र नजिकको गन्तव्यको रुपमा हुन सक्छ । यहाँ हालसम्म होटल तथा लजहरु सञ्चालन आउन सकेको छैन । तर तपाईं एक रात दुई दिनको यात्राको लागि जान चाहनुहुन्छ भने बेथानचोक गाउँपालिकाले सानो छाप्रोको निर्माण गरेको छ । जहाँ आगो बालेर पकाउनका साथै सुत्नसमेत सक्नुहुन्छ ।

मिलेर करिब २० जनासम्म बस्न सक्ने क्षमता सो छाप्रोमा रहेको छ । पकाएर खानको लागि तपाईंहरुले जङ्गलबाट दाउरा खोजेर प्रयोग गर्न सक्नुहुन्छ ।

बेथानचोक जानको लागि पैदलयात्रीले केही आवश्यक खानेकुरा आफैँले लगेमा सहज हुनेछ । यसका साथै पानी अनिवार्य रुपमा बोकेर जानुहोला । यदि तपाईहरु क्याम्पियनसहित जाने सोचमा हुनुहुन्छ भने सिल्पिङ ब्याग बोकेर जाँदा पनि राम्रो हुन्छ ।

यदि तपाईंसँग निजी सवारीसाधन छ भने एक दिनको यात्रा गर्न सक्नुहुन्छ । तपाईं काठमाडौँबाट बिहानै यात्रा गरेर साथीहरुसँग रमाइलो गरी साँझ काठमाडौँ फर्कन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?