मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्राकृतिक सौन्दर्यलाई महसूस गर्न जाने होइन त ‘कोरी’ ?

काठमाडौँ– बडा दसैँ आउँदै छ । अधिकांश कार्यालयमा दसैँमा लामो विदा हुने गर्दछ । त्यसैले पनि लामो यात्राको लागि अधिकांशको रोजाई दसैँ विदा नै पर्ने गर्छ ।

के तपाईँ पनि दसैँमा कुनै लामो यात्राको तयारीमा हुनुहुन्छ ? तर त्यसको लागि कहाँ जाने, कसरी जाने भन्ने दोधारमा हुनुहुन्छ भने तपाईंको लागि कोरी प्रमुख गन्तव्य हुन सक्छ ।

कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको कोरी प्राकृतिक उपहारको रुपमा लिन सकिन्छ । यहाँ देखिने प्राकृतिक मनोरम दृश्य, ठूला पाटन, अग्ला हिमाल, भेडी गोठ, हरिया चौरलगायत विभिन्न दृश्यहरु देख्न सकिन्छ ।

कोरी जानका लागि तपाईंलाई कम्तीमा पनि चार दिन लाग्छ । काठमाडौँबाट पोखरा, दमौली हुँदै सिकलेस पुग्न सकिन्छ । पोखराबाट सिकलेस पुग्न करीब चार घण्टा मोटरको यात्रा गर्नुपर्छ । पोखराबाट सिकलेस जानको लागि स्थानीय जीपको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

सिकलेस केही होटल तथा कटेजहरु सञ्चालनमा रहेका छन् । त्यहाँ रहेको होटेल तथा कटेजहरुमा केहीबेर आराम गरी रैथाने परिकारसहितको खाना वा नास्ता गर्न सक्नुहुन्छ । केहीबेर पछिको आरामपछि तपाईं आफ्नो गन्तव्यमा हिँड्नुपर्छ ।

सिकलेसबाट तपाईं अब आफ्नो गन्तव्यको यात्रा गर्नुपर्छ । सिकलेसबाट जंगलको यात्रा गर्दै तपाईं तसा पुग्न सक्नु हुन्छ । तसामा पुग्नको लागि तपाईंलाई एक दिन लाग्छ । तसामा बस्नको लागि केही होटल तथा कटेजहरुको निर्माण गरिएको छ ।

जंगल नै जंगल रहेको तसामा सिक्लेसका स्थानीय बासिन्दाले तसामा वर्षायाममा भेडीगोठ पनि बनाउने गर्छन् । यसलाई तसा खर्कको रुपमा पनि बुझ्ने गरिन्छ । तसा खर्कमा पहिलो दिनको बसाईपछि तपार्इंहरुको दोस्रो दिनको यात्रा शुरु हुन्छ ।

दोस्रो दिन तपाई चाँडै खाजा नास्ता गरी कोरीका यात्रा गर्नुपर्छ । यात्रामा जंगलको बाटो प्रयोग गर्नुपर्छ । वर्षायाममा धेरै जुका लाग्ने गर्छ । अझ पानी परेको समयमा जुकाले तपाईंलाई धेरै दुख दिन सक्छ । तसाबाट कोरीमा पुग्नको लागि तपाईंलाई कम्तीमा १० देखि १२ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

एक दिनको पैदल यात्रापछि आफ्नो गन्तव्य अर्थात् कोरीमा पुग्नु हुन्छ । कोरी पुगेपछि तपाईंले बैग्लै आनन्द महसूस गर्र्नुहुन्छ । सामुन्द्रिक सतहबाट कोरी करिब चार हजार मिटर उचाइमा पर्छ ।

कोरीमा केही वर्षअघि देखि मात्रै होटलहरु सञ्चालनमा रहेका छन् । स्थानीय बासिन्दाले सिक्वेलबाट होटलको लागि आवश्यक सामग्रीहरु बोकेर कोरी लगेर सञ्चालनमा ल्याएका हुन् ।

कोरी पुग्ने बित्तिकै तपाईंलाई बैग्लै अनुभव हुन्छ । आकाशमा बाँदलमा बसेर यात्रा गर्नुभएको महसूस गर्न सक्नुहुन्छ । कोरीमा फूलेका विभिन्न प्रजातीको रंगीबिरंगी फूलले तपाईंको मनलाई लोभ्याउँछ ।

हरिया पाटनमा बसेर छुट्टै आनन्द लिन सक्नुहुन्छ । बाँदलसँग लुकामारी खेल्न सक्नुहुन्छ । आँखाले भ्याइञ्जेलसम्म विभिन्न मनोरम दृश्य हेर्नुको साथै भेडीगोठसँग रमाउन सक्नुहुन्छ ।

कोरीबाट ६ हजार मिटरभन्दा बढी उचाइका लमजुङ हिमाल, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल र आठ हजारभन्दा माथिको मनास्लु हिमाललाई आँखै अगाडि देखेर फरक आनन्द लिन सक्नुहुन्छ ।

करीब १० हजार रुपैयाँमा चार दिनमा तपाईले कोरीको यात्रा गर्न सक्नुहुन्छ । यहाँ रहेका होटल व्यवसायीले तपाईंको लागि पथ प्रदर्शकको पनि व्यवस्था गर्दै आएको छ । जंगलको पदयात्रा भएकाले तपाईंले पानी टर्च लाइट, लठ्ठी, न्यानो लुगालगायत सुरक्षाको सामग्री अनिवार्य रुपमा बोक्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?