मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साकिराको ‘सुन्दरता’को अद्भूत रहस्य

काठमाडौँ– कोलम्बियन गायिका साकिराको गीत नै नसुने पनि धेरैले उनको नाम चाहीँ पक्कै सुनेका छन् । साकिरा भन्नेबित्तिकै सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको आधिकारिक गीत ‘दिस टाइम फर अफ्रिका’ को नाम आउँछ ।

उनी गायिकाका रूपमा मात्र परिचित छैनिन् । उनले गीत लेखक, निर्मात्री, नर्तक र कलाकार पनि हुन् । उनले गाएको ‘वाका वाका’ बोलको गीत यति लोकप्रिय छ कि, हिपहप शैलीका गीत सुन्ने दर्शकले यो गीत नसुनेको शायदै छ ।

हुन त उनका अरु गीत पनि उत्तिकै चर्चित छन् तर यही गीतबाट उनले विश्वभर अझ बढी ख्याति कमाइन् । १३ वर्षको उमेरदेखि नै सङ्गीत क्षेत्रमा सक्रिय उनी सुन्दरताका कारण पनि चर्चा गर्ने गरिन्छ ।

साकिरालाई ‘ल्याटिन अमेरिकी सङ्गीतकी रानी’ को संज्ञा समेत दिने गरिन्छ ।

४७ वर्षे साकिराको सुन्दरतामा उमेरले कुनै कमी ल्याएको देखिँदैन । उनी २० वर्षको उमेरमा जति सुन्दरी थिइन् अहिले पनि उत्तिनै सुन्दर छिन् । केही फ्यानहरु त पहिलेभन्दा उनी अझै सुन्दर हुँदै गएको समेत बताउँछन् । आखिर उनको सुन्दरताको रहस्य के हो त ? आफूलाई सुन्दर र फिट राख्न शाकिरा के गर्छिन् त ?

पक्कै पनि जीवनशैली, खानपान, व्यायाम गर्ने बानीजस्ता कुराले पनि कसैको सुन्दरता निर्धारण गर्छ । हेलो ! म्यागजिनसँगको कुराकानीका क्रममा उनले आफ्नो खानपान निकै अनुशासित रहेको बताएकी छिन् । उनी थोरैथोरै तर धेरैपटक खान्छिन् । उनी दिनमा हरेक दुईदेखि तीन घण्टाको अन्तरालमा केही खाइरहन्छिन् ।

उनको खानेकुरामा खनिज र प्रोटिन प्रचुर पाइन्छ । उनको खानामा तरकारी, फलफूल र झोलजन्य खानेकुरा पनि पर्छन् । ठूला कार्यक्रममा प्रस्तुति दिनुअघि केही दिन उनी गुलियो, दूधजन्य खानेकुरा खान्नन् । तर, त्यस्ता समयमा पनि कहिलेकहीँ भने डार्क चकलेट भने खाइरहेकी हुन्छिन् ।

बिहान उनी अण्डा, एभोकाडो, स्मुथीजस्ता खानेकुरा खान्छिन् । त्यसपछि दिउँसोको उनको खान्कीमा माछा वा सुँगुरका परिकार पर्छन् । त्यसपछि उनी सलाद, तरकारी र झोलिला कुरा पनि खान्छिन् । झोलमा उनलाई आटिचोक, लसुनप्याजका पत्ता र भाण्टा, गाजर, अदुवा पनि मन पर्छ । त्यसबाहेक कहिलेकहीँ काँक्रो, कागती र नूनको झोल खान पनि उनी रुचाउँछिन् ।

उनलाई ककाओ राखिएको राइस केक वा चकलेट चिया पनि मन पर्ने उनकी व्यक्तिगत प्रशिक्षक अना कैसरले बताएकी छिन् । उनलाई सुकाएका फलफूल खान पनि मन पर्ने उनको भनाइ छ ।

उनी मदिरा पटक्कै पिउँदिनन् । क्याफिनबाट पनि उनी टाढै रहन्छिन् । धूमपान गर्ने उनको बानी छैन ।

फिट रहन शाकिरा व्यायाम र कसरतमा पनि उत्तिकै ध्यान दिन्छिन् । उनको मुख्य कसरत भनेकै नाच हो । उनी खुब नाच्छिन् । व्यायामका लागि मुख्यगरी उनी ‘कार्डियो डान्स’ गर्ने गरेको कैसरले बताएकी छिन् । उनी पौडी खेल्न पनि माहिर छिन् । फिटनेसका लागि उनी प्रायः पौडी खेल्न पनि रुचाउँछिन् । उनी प्रायः रातिको समयमा पौडी खेल्छिन् ।

शरीरलाई फिट राख्न उनी प्रोटिन शेक, प्रोटिन प्यानकेकजस्ता प्रोटिनजन्य खानेकुरा पनि खान्छिन् ।

यसअघि उनले व्यायाम गर्ने बेला ‘हर्ट रेट मनिटर’ को पनि प्रयोग गर्ने गरेको समाचार बाहिरिएको थियो । ‘हार्ट रेट मनिटर धेरै नै महत्वपूर्ण छ, किनकी हरेक दिन फरक हुन्छ । कहिले तपाईँसँग धेरै ऊर्जा हुन्छ भने कुनै दिन नहुनसक्छ ।’ कैसरले ई ! न्यूजलाई एक पटक भनेकी थिइन् ।

हरेक दिन एकै किसिमका व्यायाम दिक्कलाग्दो हुन्छ । त्यसैले शाकिराले फरक फरक किसिमका व्यायाम गर्ने गरेको उनको भनाइ छ । यसबाट उनी मानसिक रुपमा पनि तन्दुरुस्त हुने कैसरको दाबी छ ।

उनी छालालाई सुन्दर केही कस्मेटिकको पनि प्रयोग गर्छिन् । मुख्यगरी आफूले भिटामिन सी र सनस्क्रिनको प्रयोग गर्ने गरेको ब्युटी युट्युबर मेलिन मर्फीसँगको कुराकानीका क्रममा उनले भनेकी छिन् ।

‘यदि मेरो छाला एकदमै फुस्रो छ भने म भिटमिन ई पनि प्रयोग गर्छु । औषधि पसलबाट भिटामिन ईको क्याप्सुल ल्याउँछु र सीधै छालामा दल्छु ।,’ उनले इनस्टाइललाई भनेकी छिन् ।

उनी सुत्नुअघि मेकअफ सफा गरेरै सुत्छिन् । आफू थोरै मेक अप गरेरै सुन्दर देखिन्छुजस्तो लाग्ने उनको भनाइ छ ।

सुन्दर देखिन के उनले कस्मेटिक सर्जरी गरेकी छिन् त ? सन् २००९ मा कोलम्बियाको एल टिएम्पो अखबारले उनलाई यसबारे सोधेको थियो । त्यसबेला उनले भनेकी थिइन्, ‘स्तनका लागि त मैले गरेको छैन । मेरो नाकका लागि शायद ।’

उनले आफ्नो नाक ठीक पार्नका लागि प्लास्टिक सर्जनसँग भेट गरेको खुलाएकी छिन् । तर, उपचार नै भने नगरेको उनको भनाइ छ ।

जे होस् उनले आफ्नो सुन्दरतालाई कायमै राख्न धेरै मिहिनेत गरेकी छिन् । त्यही भएर त उनको सुन्दरता अझै पनि उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?