मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिडियाबाट टाढै रहन रुचाउँछन् फरक धारका अभिनेता ह्वाकिन फिनिक्स

काठमाडौँ- हलिउडमा ह्वाकिन फिनिक्सको आफ्नै पहिचान छ । विगत ४ दशकदेखि अभिनय क्षेत्रमा आबद्ध फिनिक्सले दर्जनौँ फिल्म खेलेका छन् भने ओस्करसहित थुप्रै पुरस्कार पनि जितेका छन् । सन् १९७४ मा प्युर्टो रिकाको सान ह्वानमा जन्मेका फिनिक्स सानै उमेरदेखि अभिनयप्रति आकर्षित थिए ।

उनका बाबुआमा ‘चिल्ड्रेन अफ गड’ नामक धार्मिक अभियानमा संलग्न रहेका थिए । सोही कारण उनीहरु घुमन्ते जीवन बिताउँथे । त्यस धार्मिक अभियानमा संलग्नहरु सामूहिक बसोबास, स्वतन्त्र प्रेम र तत्कालै प्रलय आउनेजस्ता विश्वास राख्दथे ।

सोही कारण सानै उमेरमा उनी पनि बारम्बार आफ्नो परिवारसँग दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा घुमन्ते जीवन बिताउन पुगेका थिए । पछि उनीहरु लस एन्जल्स शहरमा स्थायी बसोबास गर्न थाले । आफ्ना बाबुआमाका ५ मध्ये उनी तेस्रो सन्तान थिए । उनका सबै दाजुभाइ दिदीबहिनीले अभियन क्षेत्रमा नाम कमाएका छन् ।

उनकी आमा अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीका कार्यकारी पदमा रहेकाले उनको परिवारलाई नै अभियन र कलाकारिता क्षेत्रमा लाग्ने प्रेरणा मिलेको थियो । उनले ८ वर्षको उमेरमा नै दाजु रिभर फिनिक्सको ‘सेभेन ब्राइड्स फर सेभेन ब्रदर्स’ मा अभिनय गरेका थिए ।

त्यसपछि सन् १९८४ मा ‘ब्याकवार्ड्स द रिडल अफ डिस्लेक्सिया’ मा फेरि आफ्ना दाजुसँगै उनी आबद्ध भए । त्यसको दुई वर्षपछि सन् १९८६ मा उनी ‘स्पेसक्याम्प’ मा आबद्ध भएका थिए । त्यसपछि सन् १९८७ मा ‘रुस्कीज’, सन् १९८९ मा ‘प्यारेन्टहुड’ मा आबद्ध भए ।

यस क्रममा उनका आमाबाबु छुट्टिने प्रक्रियामा थिए । उनी बाबुसँग मेक्सिको पुगे । त्यसको तीन वर्षपछि उनको जीवनमा नाटकीय मोड आयो ।  सन् १९९३ मा उनका दाजु एवम् त्यसबेला अभिनय क्षेत्रमा उदाउँदै गरेका कलाकार रिभर फिनिक्सको २३ वर्षको उमेरमा निधन भयो ।

वेस्ट हलिउड क्षेत्रमा लागूऔषधको ‘ओभरडोज’ का कारण रिभर बेहोस भएपछि ह्वाकिनले नै इमर्जेन्सीमा फोन गरेका थिए । तर, समयमै सहायता पाउन नसकेपछि रिभरले ज्यान गुमाउनु परेको थियो । त्यस घटनाले उनको जीवनमा गहिरो छाप छाडेर गयो ।

उनलाई अभिनयप्रतिको रुचि नै मरेर गयो । साथीहरुको आग्रहमा उनले सन् १९९५ मा ‘टु डाइ फर’ मा काम गर्ने मौका पाए । उनको कामले ठूलो सफलता प्राप्त ग¥यो । क्रिटिकहरुले उनको कामको खुबै प्रसंशा गरे । त्यसपछि सन् १९९७ मा ‘इन्भेन्टिङ द एबट्स’ मा पनि काम गर्न अवसर पाए । त्यस फिल्ममा उनको अभिनयले पनि चर्चा कमायो ।

त्यसबीचमा केही फिल्ममा अभिनय गरेका उनलाई स्थापित गराउने फिल्म चाहीँ सन् २००० को ‘ग्लाडिएटर’ नै हो । ऐतिहासिक इपिक ड्रामा जनराको उक्त फिल्ममा उनले स्वार्थी र स्वेच्छाचारी रोमन सम्राट कोमोडसको भूमिका निर्वाह गरेका थिए ।

त्यस फिल्मले व्यवसायिक रुपमा मात्रै सफलता प्राप्त गरेन, दर्शकहरुको पनि मन जित्न सफल भयो । ग्लाडिएटरबाट नै उनले अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाए भने सोही फिल्मका लागि उनी ओस्कर अवार्डका लागि मनोनित पनि भए ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनले ‘क्विलिस’, ‘बुफेलो सोल्जर्स’, ‘साइन्ज’, ‘द भिलेज’ जस्ता फिल्ममा पनि उनले अभिनय गरे । उनले रवाण्डा नरसंहारको पृष्ठभूमिमा आधारित फिल्म होटल रवाण्डामा पनि अभिनय गरेका छन् ।

त्यसबाहेक उनले अभिनय गरेको ‘वाक द लाइन’ पनि निकै सफल फिल्म मानिन्छ । त्यस फिल्ममा उनले अमेरिकी गायक जोनी क्यासको भूमिका निभाएका छन् । यसै फिल्मका लागि उनले अर्को ओस्कर मनोनयन पनि प्राप्त गरेका थिए ।

सन् २०१२ मा रिलिज भएको द मास्टर पनि उनको अभिनय रहेको छ । व्यवसायिक रुपमा खासै कमाइ गर्न नसकेपनि यो फिल्मका लागि उनले अर्को ओस्करका लागि मनोनयन भएका थिए ।

उनको जीवनको सबैभन्दा सफल फिल्म पक्कै पनि सन् २०१९ मा रिलिज भएको ‘जोकर’ नै हो । यो फिल्म व्यवसायिक रुपमा मात्रै सफल भएन, यसले फिल्म क्षेत्रमा एउटा मानक पनि स्थापित गर्‍यो ।

यसमा प्रयोग भएका विम्ब, ‘जोकर’ का रुपमा फिनिक्सको अभिनय, यो फिल्मको मनोवैज्ञानिक पक्षजस्ता कारणले यस फिल्मलाई उत्कृष्ट मानिएको छ । यसै फिल्मका लागि उनले पहिलो पटक ओस्कर अवार्ड नै जित्न सफल भए ।

यही जोकर फिल्मको सिक्वेल ‘जोकरः फोली आ दू’ आउँदो अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्म यस वर्षकै सबैभन्दा प्रतिक्षित फिल्म हो ।

४९ वर्षे फिनिक्स फरक धारका कलाकार मानिन्छन् । उनी मिडियामा पनि देखा पर्न रुचाउँदैनन् । अन्तरवार्ता पनि उनी दुर्लभ नै दिन्छन् । आफ्नो व्यक्तिगत कुरा पनि खोल्न चाहँदैनन् ।

दाजुको निधन र त्यसपछि मिडियामा आएका हल्लापछि मिडियाप्रति उनको अरुचि शुरु भएको बताइन्छ । मिडियाप्रति खासै रुचि नराख्ने भएकाले उनीबारे फ्यानमा थप उत्सुकता बढ्दै गएको विश्लेषण गरिएको छ ।

तीन वर्षदेखि नै उनी सानैदेखि शाकाहारी हुन् । पशु अधिकारप्रति उनी अत्यन्त संवेदनशील छन् । उनी जनावरको छालाले बनेका पहिरन लगाउँदैनन् ।

पशु अधिकारका लागि उनको योगदानलाई मध्यनजर गर्दै अमेरिकी पशु अधिकारवादी संस्था पेटाले उनलाई सन् २०१९ मा वर्ष व्यक्ति घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?