काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।
आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्धार गरेको थियो । बैंकले जीर्णोद्धार सम्पन्न गरी महास्नानघर दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए। महास्नानघरको भुइँतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।
महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताए। राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्धार गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उनले सुनाए।
भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ । प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवनको उपयोग गर्ने गरिन्छ । यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।
हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ । महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया