मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाङ पहिचान दिवसमा ‘नवौं तामाङ ज्ञान महोत्सव’

काठमाडौँ– ९२ औं तामाङ पहिचान दिवसका अवसरमा ‘नवौं तामाङ ज्ञान महोत्सव’ शुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजना तथा प्रतिष्ठानको सहकार्यमा बिहीबार ज्ञान महोत्सव शुरु गरिएको हो ।

तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक, पहिचान र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्शका साथ महोत्सव गरी तामाङ पहिचान दिवस मनाउन लागेको आयोजकले जनाएको छ ।

तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रुपमा मनाउँदै आएका छन् । तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए ।

सोही मागलाई मध्यनजर गरी सम्बोधन गर्दै भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपालमा भोटे, लामा, मुर्मि आदि नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेका थिए । सोही दिनलाई ऐतिहासिक रुपमा तामाङ पहिचान दिवसका रुपमा मानिएको हो ।

महोत्सवको उद्घाटन सत्रपछि ‘किन तामाङ आन्दोलन उठ्न सकेन’ शीर्षकमा बहस कार्यक्रम हुनेछ । बहसमा ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक डा. गणेश योञ्जन, नेपाल महिला घेदुङका पूर्व अध्यक्ष सुनी लामा र लेखक तथा विश्लेषक निष्णु थिङ सहभागी हुनेछन् । बहसमा सहजकर्ताका रुपमा कवि एवं पत्रकार राजु स्याङ्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?