काठमाडौँ – राम्रो र स्वस्थ कपाल सबैको चाहनाको कुरा हो । कपाललाई व्यक्तिको सुन्दरतासँग पनि जोडेर हेर्ने गरिन्छ । तर के कुरामा ध्यान दिन सके कपाललाई राम्रो र स्वस्थ बनाउन सकिन्छ त ?
– कपाल नियमित रूपमा नुहाउनाले कपाल फोहोर र धेरै चिल्लो हुन पाउँदैन । कपाल हप्तामा कति पटक नुहाउने भन्ने कुरा कपालको प्रकारले पनि निर्धारण गर्छ । धेरै नै चिल्लो हुने कपाल भने एक दिन बिराएर नुहाउनु राम्रो हुन्छ ।
– कपाल नुहाउँदा रसायनको मात्रा एकदम कम अथवा रसायन नै नभएको स्याम्पु प्रयोग गर्नुपर्छ । यस्तो स्याम्पु कपालको लागि स्वस्थ मानिन्छ । आफ्नो कपालको प्रकार अनुसार सुहाउने स्याम्पु प्रयोग गर्नुपर्छ ।
– कपाल सुकाउने मेसिनले कपाललाई सुन्दर त देखाउँछ तर तापद्वारा कपाललाई स्टाइल दिँदा त्यसले कपालका जराहरूलाई क्षति पुर्याउँछ । यदि कपाललाई स्टाइल दिनै पर्ने महत्त्वपूर्ण कार्यक्रम छ भने मात्र कृत्रिम तरिकाले वा मेसिनले कपाल सुकाउने र स्टाइल दिने काम गर्नुपर्छ । कपाललाई नुहाइसकेपछि हावामा अथवा नरम तौलियाले पुछेर सुक्खा बनाउनुपर्छ ।
– कपाल नुहाउनुभन्दा पहिले कपालमा राम्रोसँग तेल लगाएर मसाज गर्नुपर्छ । यसले कपालको जरामा रक्तसञ्चार गराउन मद्दत गराउनुको साथै मांसपेशीमा आराम महसुस गराउने, कपालमा चमक ल्याउने र कपाललाई आवश्यक पोषण दिने काम गर्छ ।
– कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ । तनाव, प्रदूषण, धुवाँ, तापले स्टाइल दिनु जस्ता कारणले कपालमा हाँगा फाट्ने र कपाल क्षति हुन्छ ।
– आन्तरिक हाइड्रेसन र बाहिरी हाइड्रेसनको सन्तुलनले मात्र कपाललाई स्वस्थ बनाउन सक्छ । यसका लागि हाइड्रेटिङ हेयर केयर उत्पादन प्रयोग गर्न सकिन्छ । तर दैनिक कम्तीमा पनि ३ लिटर पानी पिउनाले कपाल प्राकृतिक रूपमा नै राम्रो र स्वस्थ हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया