महोत्तरी – हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण महायज्ञको मंगलवार समापन गरिएको छ ।
महोत्तरीको बर्दिबासमा बेवारिसे, तिरस्कृत भएका वृद्धहरू, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरू, सडक बालबालिका तथा बेसहाराहरूको उद्धार तथा व्यवस्थापन गर्ने उद्देश्यले भवन निर्माणार्थ आयोजना भएको महायज्ञ मंगलवार समापन गरिएको हो ।
कथावाचिका राधिका दासी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिबास कै वडा-२ स्थित ५ कट्ठा जमिनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदै छन् । उक्त भवन शिलान्यास बुधबार नै गरिने मूल आयोजक समितिले जनाएको छ ।
देशैभरिवाट आएका मानिसहरूले गरेको दानबाट महायज्ञमा २ करोड ४ लाख १ सय ८६ रुपैयाँ सङ्कलन भएको मूल आयोजक समितिका प्रवक्ता चेत कुमार थापाले जानकारी दिए ।
१ करोड ५० लाख सङ्कलन हुने लक्ष्य राखिए तापनि उक्त महायज्ञको अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सङ्कलन भएको महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमको भनाई छ ।
सङ्कलित रकमले प्रारम्भिक कार्यहरू अगाडी बढाउने बताउँदै २ वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गरी उद्देश्य कार्यान्वयनमा औपचारिकरुपमा अगाडी बढ्ने र सडक मानवरहित अभियान चलाउने संयोजक गौतमले बताए ।
२१ गतेदेखि सुरु भएको हाम्रो माया घर निर्माणार्थ ऐक्यबद्धता जनाउन राजनीति दलका प्रतिनिधिहरू र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका थिए । राज्यले गर्नुपर्ने काम नागरिकस्तरवाट नै अग्रसरता देखाएको बत्ताउँदै सहभागी जनप्रतिनिधिहरूले निर्माणका क्रममा सिर्जना हुने हरेक अभावहरूको परिपूर्ति गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
सङ्घीय संसद् लक्ष्मी महतो कोइरीले संसद् विकास कोषबाट १ करोड र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजले ३० लाख मन्त्रालयबाट विनियोजन गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
यही क्रममा शनिवार बेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया