मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ पुस्तक लोकार्पण

काठमाडौँ– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको जीवन र संघर्षका बारेमा लेखिएको पुस्तक ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ लोकार्पण भएको छ ।

शनिवार राजधानीमा नई प्रकाशनले आयोजना गरेको समारोहमा पूर्व प्रधानन्यायधीश अनुपराज शर्मा, प्रा.डा. सुरेशराज शर्मा, महासमालोचक वासुदेव त्रिपाटी, नईका कुलपति इन्दिरा प्रसाईं, सदस्यसचिव नरेन्द्रराज प्रसाईं लगायतकाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

नईं प्रकाशनले प्रकाशित गरेको पुस्तकमा पूर्वप्रधानमन्त्री विष्टको राजनीतिक जीवनको योगदान, राष्ट्रप्रति उनको प्रेम, राष्ट्रियता, उच्च नैतिक छवि, इमान र जमानको चित्रलाई उतारिएको छ । उक्त पुस्तकको सम्पादन नईंका कुलपति प्रसाईं र सदस्यसचिव प्रसाईंले गरेका छन् ।

पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै प्राध्यापक केशव सुवेदीले पञ्चायतकालीन शासनमा विष्टले देखाएको राजनीतिक नैतिकता र कुटनीतिक चातुर्यबारे प्रशंसा गरे ।

‘पञ्चायत व्यवस्थामा कुनै आग्रह र पूर्वाग्रह नराखी शालीन, शिष्ट र मर्यादामा रहेर उहाँले राजनीतिमा नैतिकता कायम गर्नुभयो,’ उनले भने, ‘उहाँले बेदाग राजनीति गर्नुभयो । अहिलेका राजनीतिक दलका नेताहरुले उहाँबाट इमान र जमानको कुरा सिक्नुपर्छ ।’

पुस्तकमा जीवनी र संस्मरण खण्ड समावेश छन् । जसमा विष्टको जीवनीलाई कथन शैलीमा उपन्यासमा जसरी नै प्रसाईंले भाव अभिव्यक्त गरेको उनले सुनाए ।

कुलपति प्रसाईंले पछिल्लो समयमा राष्ट्र र राष्ट्रियता नै संकटमा परिरहेको अवस्थामा विष्टको जीवनी कृतिबाट सिंगो मुलुकका लागि राष्ट्रप्रेमको दियो बालेर जागरण ल्याउन सक्ने धारणा राखिन् । सदस्यसचिव तथा सम्पादक प्रसाईंले पनि विष्टको नैतिक जीवन र राजनीतिक छविकाबारे आफ्नो धारणा राखे ।

नईं प्रकाशनको एक सय ८३ औं कृतिमा रुपमा आएको पुस्तकमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सिपी मैनाली, पशुपतिशमशेर राणा, कमल थापा, भद्रकुमार घले लगायत ६९ जना व्यक्तित्वहरुले विष्टका सन्दर्भमा संस्मरण लेख लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?