काठमाडाैँ– ‘इकु’ नामबाट परिचित हास्य कलाकार सुलेमान शंकर करिब दुई दशकपछि हास्य सिरियल ‘मेरी बास्सै’ मा फर्किने भएका छन् । कलाकार शंकर १९ वर्षपछि मेरी बास्सैमा फर्किन लागेका हुन् ।
आफू यही शनिबारदेखि नै मेरी बास्सैको छायाँकनबाट काम सुरु गर्ने उनले जनाएका छन् । १९ वर्षअघि सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा उनल मेरी बास्सैमा काम गरेका थिए । केही एपिसोडमा मात्रै काम गरेपनि उनी चर्चित हुनुका साथै दर्शकले रुचाएकासमेत थिए ।
मेरी बास्सैबाट बाहिरिएपछि कलाकार शंकरले इकु र इकु २ फिल्म निर्माण गरेका थिए । तत्कालीन समयमा दर्शकले आफ्नो क्यारेक्टरलाई धेरै रुचाएको र पुन सिरियलमा जोडिन पाएकोले आफू निकै खुसी रहेको उनले जानकारी दिएका छन् ।
आगामी शनिबारदेखि इकु सिरियलमा नियमित रुपमा देखा पर्ने निर्माताले जनाएको छ । नियमित देखा पर्नको लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।
इकु केही समय अघि हास्य सिरियल हल्का रमाइलोमा देखा परेका थिए । केही एपीसोडमा देखा परेका उनी अहिले भने छैनन् ।
नेत्र रावतको लेखन तथा निर्देशनमा रहेको यो सिरियल हरेक मंगलबार बेलुकी ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ। मिडिया हब युट्युबमा ९ः३० बजे स्ट्रिमिङ हुने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया