काठमाडौँ- देशका विभिन्न ठाउँमा लगातार पानी परिरहेको छ । वर्षायाममा गर्मीबाट राहत त मिल्छ तर यो मौसममा छालामा धेरै समस्या देखा पर्छ । बर्खायाममा आर्द्रता बढ्दै जाँदा छालामा समस्या देखा पर्छ ।
छालाको लागि थोरै चिल्लोपन लाभदायक त हुन्छ तर, यो पनि धेरै भए छालामा समस्या देखा पर्छ । चिल्लो छाला भएकाहरुलाई डण्डिफोरको समस्या बढी हुन सक्छ ।
यो मौसममा सुख्खा छालामा मोइस्चराइजर लगाउनेलाई पनि डण्डिफोर हुन सक्छ । फङ्गल र ब्याक्टेरियाको संक्रमण, फेसियल फोलिक्युलाइटिस, दाद र कीराको टोकाइका कारण पनि यो मौसममा छालामा समस्या देखा पर्छ । वर्षाको पानीले कपालको जरा कमजोर बनाउँछ जसका कारण कपाल झर्ने समस्या पनि हुन्छ ।
यो मौसममा छालाको केयर कसरी गर्नेबारे हामीले केही टिप्स प्रस्तुत गरेका छौँ ।
छालालाई सुख्खा राख्नुहोस्
बर्खायाममा ब्याक्टेरिया र फंगल इन्फेक्सनबाट बच्न नियमित नुहाउने र छालालाई सकेसम्म सुख्खा राख्नु आवश्यक छ । पसिना आउने शरीरका अंगको सफाइ ब्याक्टेरिया र फंगल संक्रमणबाट बच्ने उत्तम उपाय हो ।
हलुका पहिरन लगाउनुहोस्
यस्तो अवस्थामा सुती कपडा लुगा लगाउनु सबैभन्दा सहज हुन्छ किनभने यसले हावालाई शरीरमा स्पर्श हुन दिन्छ । यदि तपाइँको छालामा कुनै पनि संक्रमण छ वा मधुमेह छ भने, एन्टिफंगल पाउडर र क्रिमहरू प्रयोग गर्न सल्लाह दिइन्छ ।
धेरै पानी पिउनुहोस्
धेरै मानिसहरूले पानी कम पिउँछन् । तर, छालामा देखिने संक्रमणबाट बच्न धेरैभन्दा धेरै पानी पिउनु आवश्यक छ । बर्खायाममा पानी पर्दा चिसो भएपनि शरीरमा रहेको पानी पसिनाका माध्यमबाट खेर गइरहेको हुन्छ । त्यसैले वर्षाको समयमा पनि पर्याप्त पानी पिउनु आवश्यक छ । एक वयस्कले दैनिक ४–५ लिटर पानी पिउनुपर्छ ।
खुट्टाको हेरचाह गर्नुहोस्
बर्खायाममा आफ्नो खुट्टाको हेरचाह गर्नु अति आवश्यक छ । प्रायः जुत्ता र मोजा लगाउने व्यक्तिहरूको खुट्टा बढी ओसिलो हुन्छ । यसले उनीहरूको खुट्टामा फंगल संक्रमण हुन सक्छ । यसबाट बच्नको लागि जुत्ता लगाउनुअघि आफ्नो मोजामा एन्टिफङ्गल पाउडर छर्क्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया