काठमाडौँ– व्यस्त जीवनशैलीमा तपाईँ फ्रेस हुनको लागि कतै नजिकै हाइकिङ वा पदयात्राको तयारीमा हुनुहुन्छ ? अझ साताको एक दिन शनिबार साथीहरुसँग मिलेर हाइकिङको लागि गन्तव्यको खोजीमा हुनुहुन्छ भने आज हामी तपाईँलाई काठमाडौँबाट नजिक चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मको पदयात्राको लागि सिफारिस गछौँ । जुन काठमाडौँबाट नजिकका साथै प्राकृतिक, धार्मिक र ग्रामीण गन्तव्यको विकल्पको रुपमा हुन सक्छ ।
यसरी थालौँ यात्रा :
चाँगुनारायण मन्दिर काठमाडौँबाट २० किलोमिटर र भक्तपुर शहरबाट ६ किलोमिटर उत्तरमा पर्छ । यहाँ पुग्न काठमाडौँबाट कमलविनायक या दूधपाटी हुँदै देकोचाबाट उत्तरतिर लाग्नुपर्छ । देकोचाबाट भित्र छिरेको केही समयमै गाउँको झल्को दिन खेतीपाती, तरकारी खेती तथा पुराना घरहरु देखिन्छन् ।
चाँगुनारायणमा जानको लागि ब्यासी, देकोचाबाट सार्वजनिक बस पनि पाइन्छ । काठमाडौँबाट नजिक भएकाले करिब डेढदेखि दुई घण्टाको यात्रामा तपाईँ चाँगुनारायण मन्दिर पुग्न सक्नु हुन्छ । बिहान चाँडै घरबाट निस्केर चाँगुनारायण मन्दिरको दर्शन गरी, पैदल यात्रामार्फत त्रिशुली डाँडा हुँदै तेलकोट र नगरकोटको यात्रा गर्न सक्नुहुन्छ ।
लिच्छिवी वंशका राजा हरिदत्त बर्माले इसापूर्व ३२३ मा यो मन्दिरको निर्माण गर्न लगाएका थिए । ग्रामीण भेगमा रहेको यो मन्दिरले ऐतिहासिक, कलात्मक, धार्मिक तथा पर्यटकीय महत्वसमेत बोकेको छ । विश्व सम्पदामा सुचीकृत यो नेपालको पहिलो मन्दिर हो । जहाँ नेपालको पहिलो प्रमाण भेटिएको समेत इतिहासविद्हरु बताउँछन् । चाँगुनारायण मन्दिर जाने गेट छिर्नेबित्तिकै पुरानो शैली घर, विभिन्न हस्तकलाबाट निर्माण गरिएको सामग्री, ढुंगेधारा तथा ढुंगाले छापेको बाटो भेटिन्छ । काठमाडौँदेखि छोटो यात्रा गरेरै पुग्नसक्ने भएकाले बिहानै मन्दिरको दर्शन गर्न सकिन्छ । मन्दिरमा भएको कलात्मक दृश्यसँग रमाइलो गर्नुको साथै तस्बिर पनि कैद गर्न सकिन्छ ।
चाँगुनारायणदेखि त्रिशूल डाँडा
मन्दिरको दर्शनपछि अब हामी पूर्वतर्फ रहेको त्रिशूल डाँडाको यात्रा गर्न सक्छौँ । मुख्य सडकबाट भित्र छिर्ने बित्तिकै केही उकालो बाटो आउँछ । बाटामा तामाङ बस्ती आउँछन् । डाँडाको डिलमा रहेको बाटोबाट उपत्यकाको सहर स्पष्ट रुपमा हेर्न सकिन्छ । बाटो छेउका बारीमा मकै, काँक्रा, आलु, कोदोलगायत विभिन्न बाली देखिन्छ । साथीहरुसँग रमाइलो गर्दै यी दृश्य हेर्दै जान सक्नुहुन्छ । केही बेरको यात्रापछि त्रिशूल डाँडा पुगिन्छ ।
धार्मिक तथा प्राकृतिक महत्व बोकेको यो स्थान काठमाडौँभन्दा केही उचाइमा छ । यहाँको उचाइले गर्दा नै यहाँबाट नजिकैको जंगललाई नियाल्नुका साथै हिमाल र भक्तपुर नगर, क्रमशः उत्तर र दक्षिण दुवैको राम्रो दृश्य हेर्न सकिन्छ । यहाँबाट काठमाडौं उपत्यका, नगरकोट, साँखु, शिवपुरी, लाङटाङलगायतका करिब २० वटा हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
यस डाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशूल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निर्माणको चरणमा छ । यसका साथै यस क्षेत्रमा त्रिशूल, भ्यूटावर, मन्दिर, बगैँचालगायत स्थल रहेको छ । केही समय यस स्थानमा बसेर तपार्इं आफ्नो थकाइ मेट्न सक्नुहुन्छ ।
चाँगुनारायणदेखि तेलकोट हुँदै नगरकोटको यात्रा
केही बेर विश्रामपछि अब तेलकोटतर्फको यात्रा गरौँ । त्रिशूली डाँडाबाट जंगलको बाटो करिब आधादेखि एक घण्टाको यात्रा गरेपछि तेलकोट बसपार्क पुग्न सक्नुहुन्छ ।
यति यात्रा गरिसके पछि पक्कै पनि तपाईंलाई भोक लाग्यो होला । तपाईंको भोक मेटाउनका लागि तेलकोटबाट नगरकोट जाने बाटोमा नगरकोट सामुदायिक होमस्टे सञ्चालनमा छ । स्थानीय व्यक्तिहरु मिलेर सञ्चालन गरेको यस होमस्टेमा लोकल कुखुरा र कालिजसँगै खाना खानुको मज्जा नै बैग्लै हुन्छ ।
होमस्टेले तपाईंलाई गर्ने स्वागत, जंगलको बीचमा चराको चिरिबिरसँगै लोकल खाना खानुको स्वादै बैग्लै हुन्छ ।
खानासँगै केही बेर थकाइ मारेपछि तपाईं अब करिब एक वर्ष अघिदेखि मात्रै सञ्चालनमा ल्याएको रानी झुला (झोलुङ्गे पुल) को यात्रा गर्न सक्नुहुन्छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ लाई जोड्ने गरी बनाइएको यो पुल करिब २५० मिटर लामो छ ।
हरियाली जंगलको बीचमा रहेको यो पुलमा चिसो हावाको महशूस गर्नुको साथै तल हरियाली जंगल र माथिबाट बग्दै आएको खोलाको बहावको छङछङको आवाज स्पष्ट रुपमा सुन्न सकिन्छ । अझ हावा चलिरहेको बेला पुल वरीपरीको सल्लाको रुखले मिठो संगीत दिएको हुन्छ । पछिल्लो समय यो पुल आन्तरिक पर्यटकको लागि आकर्षक गन्तव्यको रुपमा विकास भएको छ ।
झोलुङ्गे पुलमा केही बेर रमाइलो गरे पछि तपाईँ अब जंगलको बाटो हुँदै नगरकोट जीप लाइनको यात्रा गर्न सक्नुहुन्छ ।
नगरपालिकाको वडा नम्बर ६ र ७ मा फैलिएको यो जीपलाइन वडा नम्बर ७ मा टेकअफ भएर वडा नम्बर ६ को लामोटोलमा ल्याण्ड हुन्छन् । दुई हजार २५० मिटर लामो रहेको यो जीपलाइन एशियाकै दोस्रो लामो रहेको सञ्चालकले दाबी गर्दै आएका छन् । जीपलाइनको मूल्य ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । खेलको क्रममा जंगलको मनोरम दृश्य देख्न सकिन्छ ।
जीपलाइनको यात्रापछि तपाईं अब बोजिनी ड्यामको यात्रा गर्न सक्नुहुन्छ । करिब १५ मिनेटको हिँडाइ पनि बोजिनी ड्याममा पुग्न सक्नुहुन्छ । बोजिनी ड्यामलाई नगरकोटको लुकेको पोखरीको रुपमा पनि लिन सकिन्छ । नगरपालिका स्थापना भइसकेपछि मात्रै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको हो ।
जंगलबाट आएको पानीलाई संकलन गरी यो पोखरी निर्माण गरिएको हो । यसलाई पछिल्लो समय पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्न थालेको छ । बोजिनी ड्यामको यात्रा पछि तपाईं नगरकोटको यात्रा गर्न सक्नुहुन्छ । तपाईं सोही दिन नै काठमाडौँ फर्कने सोचमा हुनुहुन्छ भने नगरकोटमा केही खानपान गरी फर्किन पनि सक्नुहुन्छ ।
तर, तपाईं एक रात नगरकोटमा बसेर सूर्योदय हेरेर मात्रै कार्यालय भ्याउने गरी फर्कन चाहनुहुन्छ भने पनि कुनै समस्या छैन । तपाईं नगरकोटमा बसेर पनि भोलिपल्ट १० बजे कार्यालय भ्याउने गरी काठमाडौँ फर्कन सक्नुहुन्छ । नगरकोटबाट काठमाडौँ आउन करिब डेढदेखि दुई घण्टा मात्रै लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया