मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली कला र संस्कृति प्रवर्धन गर्ने उद्देश्यले क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने

काठमाडौँ– लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ जुलाई ७ मा हुने भएको छ ।

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए ।

‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ ।

यसले क्यानडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ । महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने ।

भण्डारीले यसअगाडि पनि क्यानाडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । गायक प्रकाश सपूत, गायक तथा सङगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका कार्यक्रम हुन् ।

निःशुल्क प्रवेश रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन् ।

गायक हिमाल सागर महोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरिसकेका छन् । ‘नेपालीहरूको माँझमा आफ्नो प्रस्तुती दिन पाउँदा सधै मा उत्साहित हुन्छु । क्यानाडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीतमार्फत नेपालकै महसुश गराउने प्रयास गर्नेछु ।

प्रवासका नेपालीलाई लक्षित गर्दै गरिने यस्ता नेपाली महोत्सवमा आफ्नो प्रस्तुती दिन म सधै तत्पर रहने गर्छु,’ गायक हिमालले भने ।

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस महोत्सवलाई नर्थ अमेरिकाकै ठूलो मध्ये एक हुने बताए ।

उनले भने, ‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली सङ्घसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उद्देश्य नै नेपाली कला र संस्कृतिको प्रवर्धन गर्नुका साथै नेपाली बीच सामीप्यता बढाउनु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?