काठमाडौँ – दुई पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलले सम्झौता गरेका छन् । नेपालमै विद्युतीय स्कुटरको उत्पादनका लागि अध्ययन, अनुसन्धान तथा विकास गर्न शुक्रबार दुई कम्पनीबिच सम्झौता भएको हो ।
यस अन्तर्गत सिप्रदी ट्रेडिङले लगानी गर्ने र यात्री मोटरसाइकलले बजार अध्ययन, अनुसन्धान र विकास तथा अन्य प्राविधिक काम गर्ने सम्झौता भएको छ ।
बजार अध्ययनपछि विद्युतीय सवारी साधनको अवधारणा तयार पारिन्छ । विशेषगरी अरू सवारी साधनभन्दा त्यसलाई कसरी पृथक् बनाउने भन्ने अध्ययन गरिएको हुन्छ ।
हालसम्म विद्युतीय स्कुटर उत्पादन गर्ने परियोजनामा सिप्रदीले कति लगानी गर्छ भन्ने खुलाइएको छैन । यद्यपि डेढ वर्षभित्र प्रोटोटाइप तयार पार्ने गरी काम अगाडि बढ्ने बताइएको छ ।
यात्री मोटरसाइकलले भने नेपालमा नै कारखाना स्थापना गरी विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएको छ । सन् २०१९ मा यात्रीले आफ्नो पहिलो विद्युतीय बाइक प्रोजेक्ट जेरो सार्वजनिक गरेको थियो ।
कम्पनीको अर्को बाइक प्रोजेक्ट वन जेनेरसन टु बजारमा आउने तयारीमा छ । आउँदो दसैँमा यो मोडेल बजारमा ल्याउने लक्ष्य राखिएको भए पनि थप समय लाग्ने भएपछि नयाँ वर्ष २०८२ तिर सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया