मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउन भीमदत्तले चलायो डोजर

कञ्चनपुर – भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो ।

भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताए । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गरे । जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । 

केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समय समेत दिइएको थियो ।

अटेर गर्नेको हकमा डोजर नै लगाउनु पर्याे, वडाध्यक्ष भट्टले भने, अहिले राजमार्ग क्षेत्र वरपरको अतिक्रमण हटाउने काम भइरहेको छ । उनले बजार क्षेत्रमा लामो समयदेखि बसेका खोकाछाप्रा, सालघारीस्थित इको पार्कको अतिक्रमण र वनखेतस्थित औद्योगिक क्षेत्रमा नाममा लिएको जग्गा खाली गराइने उल्लेख गरे । 

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि केही दिनअघि झलारी र कलुवापुर बजार क्षेत्रमा पर्ने राजमार्गका सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख रणबहादुर महराले अतिक्रमण हटाउन सूचना जारी गरेपनि अटेर गरेकाले अतिक्रमण गरी बनाएका संरचना हटाइएको बताए ।

केही स्थानमा पुनः सार्वजनिक जग्गामा केही संरचना बने भन्ने सूचना प्राप्त भएको छ, नगरप्रमुख महराले भन, नगरसभाको बैठक सकिए पनि पुनः त्यसमा सक्रिय हुन्छौँ । उनले नगरपालिकाले हालै मात्रै नगर प्रहरीसमेत भर्ना गरिसकेको बताउँदै नगर प्रहरीले पनि त्यसमा निगरानी राख्ने बताए । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद सापकोटाले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेको बताए । उनले स्थानीय तह, सुरक्षा निकाय र आम नागरिकको सहयोगमा अभियानले निरन्तरता पाइरहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?