मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शास्त्रीय एवं परम्परागत नृत्य प्रस्तुति

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागद्वारा शास्त्रीय एवं परम्परागत नृत्य प्रस्तुति भएको छ ।

जमलस्थित सांस्कृतिक संस्थानमा हालै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकै नृत्य विभागको संयोजनमा भएको कार्यक्रममा विभिन्न संस्थाबाट सहभागी कलाकारहरुले शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए ।

‘पिस कल्चर ग्रुप’बाट सनब खड्गी एवं संगीता खड्गीले नेपालको परम्परागत भैरवकाली नृत्य प्रस्तुत गरेका थिए भने ‘एस्थेटिक डान्स स्टुडियो’बाट नृत्याङ्गना नम्रता केसीले कथक नृत्यमा आधारित तीन वटा नृत्य प्रस्तुति दिएकी थिइन् ।

सौजन रघुवंशी तथा प्रमिला श्रेष्ठले बंगामुखी, ऋतु रङ्ग लगायत पाँच वटा भरत नाट्यम आधारित रहेर नृत्य गरेका थिए ।
नृत्य अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले शास्त्रीय नृत्यलाई देखाउन कार्यक्रम सार्थक र उपलब्धिमूलक रहेको बताए ।

सङ्गीत नाट्य प्रतिष्ठानका उपकुलपति एवं कार्यक्रमका सभाध्यक्ष शम्भु राईले लोपहुने अवस्थामा पुगेका कला संस्कृतिलाई यस प्रज्ञा प्रतिष्ठानले विविध प्रदर्शनमुलक कार्यक्रम तथा अध्ययन अनुसन्धानका माध्यमबाट सङ्ग्रहित गरिरहेको बताए ।

नेपाली कला र संस्कृतिको क्षेत्रमा भएका विकृति र विसङ्गतिलाई समेत प्रतिष्ठानमार्फत नियमन र नियन्त्रण गर्न सकिने उनले सुनाए । नृत्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक बखत बहादुर हमालले उद्देश्यमाथि प्रकाश पार्दै प्रतिष्ठानले प्रदर्शनमूलक तथा अध्ययन र अनुसन्धानात्मक कार्यलाई सँगसँग लिएर अगाडि बढिरहेको जनाए ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद सदस्य टिका पुन, कर्ण गौतम, हिसन बहादुर मगर, डक्टर किरात, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?