काठमाडौँ– २१ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को दोस्रो दिनको प्रदर्शनी तीन छोटा फिल्मबाट शुरु भएको छ।
राष्टिय सभागृहको हलमा ‘फेरा’, ‘द स्कुल्स वाल’ र ‘विन्ड हर्स’को प्रदर्शन भएको हो ।
नौ मिनेटको फेराले कोभिडका बेला विदेशबाट फर्केर नेपालमै काम गर्न चाहने क्रममा सरकारबाटै ठगिएको परिवारको कथा भन्छ । यस फिल्मका मुख्य पात्र भक्तले सरकारी सूचीमा आफ्नो नाम नपर्दा राहत नपाएपछि सरकारी कार्यालयहरुको अनेक चक्कर लगाउँछन् । यही चक्कर लगाउने क्रममा उनी गर्भवती श्रीमतीलाई छोडेर फेरि विदेश जाने कि नजाने दुविधामा पर्छन् ।
फिल्मले संरचनागत भ्रष्टाचार र आममान्छेको नियतिलाई मनछुने गरी देखाएको छ।
दोस्रो फिल्ममा मोहन श्रेष्ठको ‘द स्कुल्स वाल’ देखाइयो । बालकलाकारको मुख्य अभिनय रहेको यो फिल्म हेर्न दर्शक समूहमा स्कुलका विद्यार्थीहरुको ठूलो समूह उपस्थित थियो । २१ मिनेटको यो फिल्मका मुख्य पात्र आदित्य जुत्ता पालिस गरेर जीविका चलाउन बाध्य छन् ।
तर उनको मन भने नजिकैको स्कुलमा छ जहाँ आफ्नै उमेर समूहका बालबालिका स्कुल आउजाउ गरेको दृश्यले लोभ्याएको छ । डाँडामा बसेर स्कुलका गतिविधि नियाल्ने आदित्य पढ्ने रहरकै कारण एकदिन स्कुलको बच्चाको लुगा चोर्छन् र त्यही लुगा लगाएर स्कुल प्रवेश गर्छन् ।
फिल्मले एकातिर पढ्ने रहर भएर पनि स्कुल जान नपाएको बच्चाको बालमनोविज्ञानको चित्रण गर्छ। अर्कोतिर, गरीब र धनीबीचको पर्खालले शिक्षाबाट वञ्चित हुँदाको पीडा पनि देखाउँछ ।
तेस्रो फिल्म विन्ड हर्स, बाबुछोराबीचको द्वन्द्वात्मक सम्बन्धको कथा हो। श्रीमतीको निधनमा उपस्थित हुन नपाएका सोनाम आफ्नी श्रीमतीको नाममा प्रार्थना गर्न चाहन्छन् ।
यसकै लागि उनी नेपाल फर्केका छन्। प्रार्थना गर्ने पवित्र थलोमा पुग्न मुस्ताङको उचाइ छिचोलेर यात्रा गर्नुपर्ने छ । यात्रामा उनको साथमा छोरा कर्मा छन् जोसँग उनको भावनात्मक दूरी छ ।
भौगोलिक जटिलता र भावनात्मक दुविधाको संघर्षमा हिँडेका दुई पात्रहरुमा आउने रुपान्तरणलाई फिल्ममा निर्देशक सुनील गुरुङले १० मिनेटको फिल्ममा सुन्दर ढंगले देखाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया