मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकी कोरिडोरमा सम्भावनाको खोजी

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालीगण्डकी कोरिडोरमा सम्भावनाको खोजी सुरु गरेको छ । जैमिनी ऋषिको नामबाट नगरपालिकाको नामाकरण गरिएकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गौरवको आयोजनाका रुपमा रहेको कोरिडोरमा सम्भावनाको खोजी थालिएको हो ।

छिमेकी भारत र चीनलाई जोड्ने कोरिडोरको मध्य भागमा पर्ने जैमिनीले कृषि, उद्योग, पर्यटन र व्यापारको सम्भावना खोज्न थालेको नगरप्रमुख नरबहादुर पुनले बताए। सोही सन्दर्भमा सरोकार भएकाहरुसँग ‘कालीगण्डकी कोरिडोर र जैमिनीको सम्भावना’ विषयमा मंगलबार अन्तरक्रिया गरेको थियो ।

विकाससँगै पर्यटनसँग जैमिनीलाई जोड्न छलफल गरी चरणबद्ध योजना बनाइने पुनको भनाइ छ । कोरिडोरले पूर्णता पाएसँगै जैमिनीमा थुप्रै अवसर तथा सम्भावना सिर्जना हुने भएकाले चरणबद्ध योजना बनाएर प्रभावकारी कार्यान्वयनका लागि पहल थालिने उनले बताए ।

चीन र भारत जोड्ने कोरिडोरको मध्य भागमा नगरपालिका पर्ने भएकाले भारतबाट मुक्तिनाथ र चीनबाट लुम्बिनी आउने पर्यटकलाई एक दिन यहाँ रोक्नसके लाखौँको कारोबार हुनाका साथै रोजगारीका अवसर सिर्जना हुने नगरप्रमुख पुनले बताए । “पछिल्लो समय यहाँ धार्मिक पर्यटक आउने क्रम बढेको छ”, उनले भने, “मुक्तिनाथ, लुम्बिनी र अन्य क्षेत्रमा जाने पर्यटकलाई एक रात रोक्न सकियो भने यहाँको जीवनस्तर सुधार हुँदै जाने आशा गरेका छौँ ।”

हाल कोरिडोरमा तीव्र गतिमा काम भइरहेको भन्दै करिडोर सञ्चालन भएसँगै पालिकामा सहज यातायात आवागमन हुन थालेपछि स्थानीय प्रत्यक्ष लाभान्वित हुने नगरप्रमुख पुनले बताए । निर्माणाधीन कोरिडोरका कारण भारतीय पर्यटकको आवागमन बढेको उनको भनाइ छ । करिडोर सम्पन्न भएपछि भारतीय र चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनले बताए ।

“दुई ठूला देशको बीचमा मुलुक छ । ती दुवै देशलाई जोड्ने गरी निर्माण भइरहेको कालीगण्डकी कोरिडोर जैमिनी हुँदै गएकाले यहाँका थुप्रै सम्भावनालाई उजागर गरेको छ । कोरिडोरको काम सकिएपछि चीनका बौद्ध धर्मावलम्बीहरु लुम्बिनी जानेछन्भने भारतका हिन्दूहरु मुक्तिनाथ पुग्नेछन्”, प्रमुख पुनले भने, “दैनिक सयौँको सङ्ख्यामा कोरिडोर हुँदै पर्यटक ओहोरदोहोर गर्नेछन् । जैमिनीको व्यापार, व्यवसाय, कृषि, पर्यटन र अन्य क्षेत्र चलायमान हुनाका साथै स्थानीयको जीवनस्तरमा परिवर्तन आउनेछ ।”

धार्मिक महत्व बोकेको क्षेत्र जैमिनीलई अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने योजना रहेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिलेसम्म जैमिनीको पहिचान स्थापित हुन नसकेको भन्दै अब नगरपालिकाले गम्भीर भएर योजना कार्यान्वयनमा लाग्ने उनको भनाइ छ ।

अध्ययन–अनुसन्धानसँगै धार्मिक केन्द्रका रुपमा विकास गर्ने भन्दै लुम्बिनी, त्रिवेणीधामबाट मुक्तिनाथ, दामोदरकुण्डसम्म पुग्ने पर्यटकलाई जैमिनीसँग जोड्ने गरी कार्यसम्पादन गरिने उपप्रमुख शर्माले बताए । “कालीगण्डकीको महिमा जोडिनाका साथै जैमिनीको ऋषिको तपोभूमि रहेकाले पनि यहाँ धार्मिक पर्यटक आउनेछन्”, उनले भने, “यहाँ पर्यटकमैत्री संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ ।”

कालीगण्डकी कोरिडोर जोड्ने गरी नगरपालिकाले छवटा रणनीतिक सडक निर्माण गरेकाले कोरिडोर हुँदै कुश्मिसेरा बजारबाट यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्न सकिने उपप्रमुख शर्माले जानकारी दिए । जैमिनीधाममा अहिले पनि भारतलगायत अन्य मुलुकबाट साधना गर्ने धेरै आउने गरेका भन्दै पर्यटकलाई बस्न सुविधायुक्त होटल तथा अन्य संरचना नभएको निजी क्षेत्रसँगको सहकार्य गरी यसको व्यवस्थापन गरिने उनले बताए ।

“कालीगण्डकी कोरिडोर जैमिनी क्षेत्रवासीका लागि वरदान साबित हुनेछ, अहिले निर्माणको चरणमा छ । सञ्चालनमा आएसँगै जैमिनीका नागरिकाको आयस्रोत पनि बढ्नेछ । यसलाई अध्ययन–अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने योजना बनाएका छौँ”, उपप्रमुख शर्माले भने, “धार्मिक केन्द्रका रुपमा विकास गर्न काम थालिसकेका छौँ । अझै अन्य योजनाबद्ध काम गर्न बाँकी छ ।”

भारतको सुनौली नाकाबाट चीनको सिमाना मुस्ताङको कोराला नाकासम्म जोड्ने उत्तर–दक्षिण कालीगण्डकी कोरिडोर चार सय ३५ किलोमिटर छ । यसमध्ये बागलुङमा ३४ किलोमिटर पर्दछ । जैमिनी नगरपालिकामा मात्रै १९।५ किलोमिटर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?