मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् ‘साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार’का लागि छनोट भएका उत्कृष्ट १० आख्यान

काठमाडौँ– साहित्य पोस्ट डिजिटल पत्रिकाले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि छनोट भएका उत्कृष्ट १० आख्यान कृतिहरुको नाम सार्वजनिक गरेको छ ।

२०८० सालभित्र कथा, लघुकथा, उपन्यास र नाटक विधा मार्फत साहित्यमा प्रवेश गरेका नव स्रष्टाहरुलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । साहित्य पोस्टका अनुसार प्राप्त भएका ३७ वटा आख्यान कृतिहरुमध्ये उत्कृष्ट १० वटाको नाम मङ्गलवार सार्वजनिक गरिएको हो ।

साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले उत्कृष्ट १० कृति छनोट गरिएको साहित्य पोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताए ।

छनोट भएका डेब्यु आख्यानकृतिहरूमा अनु विज्ञातिको लघुकथासङ्ग्रह ‘अक्षर रेखा’, विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, वसन्त बायुङ राईको उपन्यास ‘कठुवा’, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, अतुल पोखरेलको उपन्यास ‘तेजस्विनी सदन’, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’, रविन्द्र केसीको कथासङ्ग्रह ‘सम्बन्धको दोबाटो’, डा.कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप’ र सागर खड्काको उपन्यास ‘राइपाली भन्ञ्याङ’ रहेका छन् ।

यही सूचीबाट दोस्रो र तेस्रो चरणमा छोटो सूचीबाट नै छनोट भएको उत्कृष्ट एकलाई ५० हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिनेछ ।

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष केदार वाशिष्ठको कृति ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो ।
साहित्यपोस्ट व्यवस्थापनबाट नै ‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’ प्रदान गरिँदै आएको छ ।

२०७८ सालदेखि साहित्य पोस्टले ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’सँगै ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा पुरस्कार प्रदान गरेको थियो । जसमा क्रमशः भवानी खतिवडाको कृति ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाको कृति ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई यी पुरस्कारहरु प्रदान गरिएको थियो ।

तेस्रो अर्थात् २०७९ सालमा भने काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा पुरस्कार प्रदान गरिएको थियो । काव्यमा प्रदिप रोदनको गजलसङ्ग्रह ‘मफलर’, आख्यानमा हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र गैरआख्यानमा डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई पुरस्कार प्रदान गरिएको थियो ।

तीनै वटा पुरस्कारलाई जनही ५०/५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको थियो । यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०/५० हजार राशिसहित सम्मान गरिनेछ ।

साहित्यपोस्टले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को उत्कृष्ट ११ काव्य कृतिहरुको सूची यस अघि नै सार्वजनिक गरिसकेको छ । साहित्यपोस्टका अनुसार ०८० सालमा प्रकाशन भएका मध्ये प्राप्त २८ काव्यसङ्ग्रहबाट छनोट गरिएको हो ।

छानिएका डेब्यु काव्यकृतिहरूमा देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, सुषमा आचार्य ‘अंशु’को कवितासङ्ग्रह ‘अक्षरको आयतन’, बाबुराम भुसालको कवितासङ्ग्रह ‘अभ्यास काव्ययात्रा’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, गगन योक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङको गीत’, सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’, अमर आकाशको कवितासङ्ग्रह ‘टुङ्गना’, सुरेश राईको कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’, जानुका गुरागाईँको गजलसङ्ग्रह ‘परिवेशको सुसेली’, विजय लुइटेलको कवितासङ्ग्रह ‘समयका खुकुला चप्पल’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझको सङ्गत रहेका छन् । यही सूचीबाट नै उत्कृष्ट एक कृति छनोट गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को लामो सूची भने वैशाख २० गते बिहीबार घोषणा गरिने जनाएको छ ।

नेपाली लेखन क्षेत्रमा युवा पुस्ताको उपस्थिति कस्तो छ र आएका नवपुस्तालाई उत्साह प्रदान गर्न साहित्यपोस्टले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?