काठमाडौँ– वरिष्ठ अभिनेता नीर शाहले सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को उद्घाटन सत्रमा बोल्दै मूलधार भनिएका नेपाली सिनेमाप्रति प्रश्न उठाए । र, नेपालमा कस्ता सिनेमालाई मूलधार भनिरहेका छौँ भनेर समीक्षा गर्न समेत सिनेमाकर्मीलाई आग्रह गरे ।
उनले त्यतिबेला भनेका थिए– दक्षिण भारतीय र कोरियन सिनेमाको नक्कल गरिएका सिनेमाले हाम्रो सिनेमाको उन्नति हुँदैन ।
उनले नामै तोकेर मीन भाम, अविनाश शाह, फिडेल देवकोडा जस्ता अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमा पुर्याएका फिल्मीकर्मीहरुको प्रशंसा समेत गरे भने ती फिल्मको मेकिङको पनि खुलेर तारिफ गरे ।
उनको ताप्तर्य नेपाली मौलिकता र माटोको सुगन्धलाई नबोक्ने हो भने नेपाली सिने क्षेत्रको विकास हुन सक्दैन भन्ने थियो । नायक, नायिका, दुई/चार वटा गीत, नायक र खलनायकको भिडन्तलाई देखाउने सिनेमाले नभई अन्तर्राष्ट्रिय स्तरमा गएका केही थान सिनेमाले मात्र उद्योगलाई चिनाएको उनले दाबी समेत गरे ।
शाहको भनाइ र धारणालाई मात्र आधार मान्ने हो भने अब नेपाली सिने बजारमा मसालेदारभन्दा पनि गुणस्तरीय मौलिक सिनेमाको निर्माण हुनुपर्छ ।
जुन सिनेमाले नेपाली रैथाने मौलिक संस्कृति र जनजीवनलाई जीवन्त रुपमा चित्रण गरोस् भन्ने अग्रज फिल्मीकर्मीहरुको चाहना देखिन्छ ।
त्यसो त, बौद्धिक र अपेक्षित मानिएका सिनेमाले घरेलु दर्शकको साथ पाउन मुस्किलको अवस्था छ । कमेडी तथा एक्सन जनराका सिनेमाहरुमा नै दर्शकको बढी आकर्षण देखिन्छ ।
यसको गतिलो उदाहरणका रुपमा अहिलेको सिनेमा बजारको अवस्थालाई मूल्याङ्कन गर्ने हो भने धेरै पर जानै पर्दैन ।
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘महाजात्रा’ले दर्शकको राम्रो साथ पायो । अर्कातिर फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ ले विश्व प्रतिष्ठित भेनिस जस्ता ठूला फिल्म फेस्टिभलमा छनोट भयो ।
तर, ‘द रेड सुटकेस’ ले घरेलु दर्शकको आशाजनक साथ पाउन भने सकेन । यद्यपि निर्माण टिमले भने ‘लगानी सुरक्षित गरिसकेको’ बताएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेर बौद्धिक तहबाट प्रशंसा बटुलेको सिनेमाले कतै दर्शक त कतै शो नै नपाउने झमेला बेहोरेको छ भने त्यसको तीन हप्ताअगाडि प्रदर्शन भएको सिनेमा ‘महाजात्रा’ ले चौथो हप्तामा पनि दर्शकको हलमा ओसारेको छ ।
समीक्षात्मक दृष्टिले ‘द रेड सुटकेस’ ले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । तर, ‘महाजात्रा’ लाई औसत मानिएको थियो ।
अघिल्लो वर्ष सिनेमा ‘महानगर’ प्रदर्शनमा ल्याएका निर्देशक मोहन राई यस्ता मौलिक सिनेमाले नेपालमा मात्र नभएर विश्वभर नै तुलनात्मक रुपमा कम दर्शक पाउने बताउँछन् ।
उनका अनुसार सीमित दर्शक र व्यावसायिक रुपमा नजोडिएकै कारण फरक तहबाट कलात्मक सिनेमाहरु निर्माण गर्न निकै चुनौती छ । मेकरले सबै कुरा बजार र व्यवसायभन्दा पनि आ–आफ्नो इच्छा र झुकाव अनुसार फरक सिनेमा निर्माणका लागि आँट गर्ने उनको बुझाइ छ ।
‘महानगर बनाउँदा पनि हामीले व्यवसायको पाटोमा सोचेका थिएनौं,’ उनले भने, ‘यो व्यावसायिक रुपमा पनि सफल भएन, तर यसमा हामी निराश पनि छैनौं,’ निर्देशक राई भन्छन् ।
सिने क्षेत्रमा कहाँसम्म दिगो भएर जान सकिन्छ र कसरी राम्रा सिनेमा दर्शकलाई दिने भन्ने पक्षमा भने मेकरहरु सधैं चनाखो हुनुपर्ने उनको भनाइ छ ।
‘महानगर’ मात्र नभएर सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली,’ विक्रम सापकोटाको ‘हल्कारा’ जस्ता सिनेमाहरुले दर्शकको उत्साहजनक साथ पाएनन् ।
त्यसो त नेपालमा ‘कमर्सियल’ भनेर निर्माण गरिएकामध्ये औँलामा गन्न सकिने सिनेमाले मात्रा मुनाफा कमाउँछन् । बाँकी सिनेमाको हालत पनि उस्तै छ ।
‘आर्ट सिनेमा’ कम निर्माण हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो पशंसा पाउने तर घरेलु बजारमा दर्शक नपाउँदा तिनको बढी चर्चा हुने गर्छ ।
त्यस्ता सिनेमाको मार्केट अझै संवेदनशील नै रहेको निर्देशक सुजित बिडारी सुनाउँछन् । यस्ता सिनेमाहरु हेर्ने दर्शकको सोचमा विस्तारै परिवर्तन आउने उनको बुझाइ छ ।
‘आर्ट सिनेमाको मार्केट अहिले अलि गाह्रै छ, यसमा सिनेमा मेकरहरु मात्र परिवर्तन भएर केही हुन्न जस्तो मलाई लाग्छ, अडियन्स लेभलमा नै परिवर्तन आउन जरुरी छ,’ उनी जोय नेपालसँगको कुराकानीमा भन्छन् ।
यस्तो अवस्थामा अडियन्सको बौद्धिक तहलाई नै परिवर्तन गर्न आर्ट तथा बौद्धिक तहबाट सिनेमाहरुको संख्या बढ्नुपर्ने उनी बताउँछन् । यसमा व्यक्तिगत तबरबाट भन्दा पनि संस्था वा राज्यकै तहबाट जाँदा अझै सहज हुने उनको तर्क छ ।
निर्देशक फिडेल देवकोटा भने सबै दर्शकहरुप्रति सम्मान व्यक्त गर्छन् । सिनेमा मेकरले आफ्नो कथा ‘भन्ने हो कि बेच्ने’ उनी यही कुरामा स्पष्ट छन् ।
देवकोटाले निर्देशन गरेको सिनेमा ‘द रेड सुट्केस’ले अपेक्षित दर्शक पाएन भन्ने कुरामा उनलाई कुनै गुनासो छैन ।
‘हाम्रो हातको औंला त बराबरी छैन भने, दर्शकको रोजाइ पनि एकै खालको हुँदैन, दर्शकलाई सिनेमा हेर्नैपर्छ भनेर लाद्ने कुरा पनि हुँदैन,’ उनी भन्छन् ।
नेपालमा सबैखाले दर्शकलाई समेट्न सक्ने सिनेमामा विविधताको अभाव भने रहेको उनले सुनाए । सबै खाले सिनेमाहरु बनाएर दर्शकलाई नयाँ स्वाद दिँदै गएमा सिनेमा क्षेत्रमा बौद्धिकता समेत माथि उठ्ने उनको ठहर छ ।
‘हामी त सिनेमा क्षेत्रमा इट्टा थप्ने काम गरिरहेका छौं, सबै विधा सबै खालका सिनेमा बनेमा दर्शकले महाजात्रा, छक्कापञ्जा, ऐना झ्यालको पुतली जस्ता सबै भेराइटीका मुभी हेर्न पाउँछन्,’ देवकोटा भन्छन् ।
सबै खालका सिनेमाहरु बनाउने संख्या भएमा मेकरलाई समेत सिर्जनशील बन्ने मौका भएको उनको मत छ ।
अर्का निर्देशक दिपेन्द्र लामा पनि बहुल समाजमा एकै खालका र उही तहका मानिस नरहने हुँदा सबैलाई मन पर्ने खालका सिनेमा निर्माण हुनुपर्ने बताउँछन् ।
प्रेमकथा, एक्सन तथा कमेडी जानराका सिनेमामा त्यही अनुसारको प्रविधि र शैली ध्यान दिन सकेमा राम्रो सिनेमा बनाउन सकिने उनी बताउँछन् । बौद्धिक र राम्रा भनिएका सिनेमाहरुले नेपालमा दर्शकको साथ नपाए पनि मेकरहरु तर्सिहाल्नुपर्ने अवस्था नरहेको उनको बुझाइ छ ।
‘कालो पोथी, सेतो सूर्य जस्ता सिनेमा पनि नेपालमा भयङ्कर चलेको होइन, यी सिनेमाहरुले अन्तर्राष्ट्रिय प्लाटफर्ममार्फत आफ्नो लगानी सुरक्षित गरेको हुन्छ,’ लामाले भने ।
यस्ता सिनेमाको क्षणिकभन्दा पनि लामो समयसम्म प्रभाव र यसबाट लगानी उठाउन सकिने उनको मत छ ।
नेपालमा कस्ता वर्गका दर्शकहरु बढी छन्, भन्ने कुरा उनीहरुको रोजाइले नै पत्ता लाग्ने लामा बताउँछन् ।
‘मःम, चाउमिन मन पराउने मान्छेले यो कतिको स्वस्थकर खाना हो भन्ने नछुट्टाउन्जेल गुणस्तरीय खानाबारे बुझ्दैन,’ उन अगाडि भन्छन्, ‘जब गुणस्तर खानाबारे बुझ्छन्, तब न त्यही अनुसारको खाना खोज्छन्, सिनेमामा पनि यही कुरा हुने हो, दर्शक बुझ्ने भएपछि मौलिक सिनेमाको मार्केटको खोजी हुन्छ ।’
आम दर्शकमा सिनेमा साक्षरता नहुनु पनि अहिलेको अवस्था आइरहेको देवकोटाको बुझाइ छ । सम्बन्धित तहबाट नै यसका लागि पहलकदमी भएमा नेपाली सिनेमाको भविष्य राम्रो हुने उनको अनुमान छ ।
व्यापारका आधारमा सिनेमाको चर्चा गरिनु पनि सही नभएको लामाको भनाइ छ । कुनै पनि सिनेमा बजारमा बिक्नु मात्र त्यसको गुणात्मक परिपक्कता नभएको उनी बताउँछन् ।
बजारमा कमेडी जानराको सिनेमा बिक्ने बित्तिकै त्यस्तै खालका सिनेमा निर्माणमा मेकरहरुलाई नलाग्न उनको आग्रह छ ।
‘कुनै पनि सिनेमाले कति कमाइ गर्यो भन्ने कुरा पनि चाहिन्छ, तर त्यो मात्र सिनेमाको पक्ष होइन । सिनेमाको कलात्मक पक्षको समेत लेखाजोखा भएमा दर्शकमा समेत सिनेमाबारे लिटरेसी बढ्न सक्छ,’ उनी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया