रामेछाप– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा रामेछापको सुनापति गाउँपालिका र सुनापति प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबार गाउँपालिकालाई ‘सुनापति थाङ्कु कला हब’ घोषणा गरिएको छ ।
पालिकाको वडा नं ४ मा आयोजित एक औपचारिक कार्यक्रममार्फत बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले सोको घोषणा गर्नुभएको हो । यससँगै पालिकामा ३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रम पनि सुरुवात भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज चौलागाईंले यस घोषणालाई लिएर पालिकाका सम्पूर्णले गौरव गर्नुपर्ने बताए । उनले भने, ‘गाउँपालिकाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न यो एउटा उत्कृष्ट कार्यक्रमको शुरुवात भएको छ । यसलाई बचाउन र विकास गर्न जरुरी छ ।
मैले यसलाई पहिलो पाइलाको रूपमा लिएको छु ।’ थाङ्का कला पहिचान र अर्थतन्त्रसँग जोडिएको बताउँदै उनले यसले उद्योगसँगै जागिरको पनि विकास गर्ने तथा यस्ता कला र सम्पदा केन्द्रित कार्यक्रम अन्य पालिकाले पनि ल्याउने विश्वास व्यक्त गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले पालिकालाई थाङ्का हब घोषणा गर्नुको मुख्य उद्देश्य अग्रज कलाकारलाई सम्मान गर्दै उनीहरुको ज्ञान नयाँ पुस्तामा लैजानु भएको बताए । उनले भने, ‘यसले हरित पर्यटनसँगै देशको अर्थतन्त्रलाई समेत योगदान दिनेछ ।’
समारोहमा स्वागत मन्तव्य राख्दै पलिकाका वडा नं ४ का अध्यक्ष डुन्डुप लामाले सुनापतिलाई थाङ्काको छुट्टै ब्राण्ड बनाउनुपर्ने सुनाए । वडाका प्रायः व्यक्तिहरू अग्रज थाङ्का कलाकारहरू भएको बताउँदै उनले भने, ‘यहाँ सिकेर बस्नुभएकाले पनि यसलाई निरन्तरता दिनुपर्छ ।
थाङ्का व्यवसायीसँग छलफल गर्नुपर्छ र यसको निरन्तरता हुनुपर्छ ।’ गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामाले नेपालमा गणतन्त्र प्राप्त भइसकेपछि सीप सिकाएर देशको उन्नतिमा लाग्नुपर्ने धारणा राखे ।
गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले यस कार्यक्रमलाई पालिकाको पाँचवटै वडामा लैजाने बताए । यसलाई अझै व्यापक बनाउँदै थाङ्का हबलाई अन्तर्राष्ट्रिय करण गर्नुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटाले कलालाई पर्यटनसँग जोडेर लैजानु पर्नेमा जोड दिए ।
सभाध्यक्ष तथा सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङले ऐतिहासिक कार्यक्रमको सुरुवात गरेको बताउँदै यसलाई अवसरको रूपमा लिनुपर्ने सुनाए । थाङ्का कलाको विकासक्रमको बारेमा चर्चा गर्दै उनले यस कार्यक्रममार्फत पालिकामा नयाँ थाङ्का कलाकारको उत्पादन गर्दै नेपालमा थाङ्काको उत्कृष्ट गन्तव्य बनाउने योजना रहेको जानकारी गराए ।
३ महिने थाङ्का कला प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा कर्मध्वज सिंह तामाङ, विष्णु बहादुर लामा र टहलबहादुर लामा रहनुभएको छ ।
प्रशिक्षणको पहिलो चरण पालिकाको वडा नं ४ का भलवाडी र डहुमा सञ्चालन हुने छ । त्यसपश्चात यसलाई पालिकाका अन्य स्थानमा लगिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया