काठमाडौँ – फिल्म वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध चलचित्र विकास बोर्ड र चलचित्र निर्माता सङ्घमा उजुरी परेको छ ।
प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै फिल्म ‘बाटो’का निर्माता चन्दन झा उजुरी दिएका हुन् । डिसिएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रुद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेको उजुरी पत्रमा उल्लेख छ ।
‘हामीले डिसिएनलाई मार्केटिङ प्रमोसन आदिका लागि रकम आग्रह गरेका थियौं । र, हाम्रो पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका थियौं । तर, डिसिएनले हाम्रो सो प्रस्ताव अस्वीकार गरेको हुनाले हामीले वर्तमान सम्झौता रुद्ध गर्न पनि अनुरोध गयौं । तर, डिसिएनका अध्यक्ष अशोक शर्माले सम्झौता रुद्ध वा परिमार्जन गर्न अस्वीकार गरी नेपालमा हाम्रो फिल्मको प्रदर्शनमा रोक लगाउने त्रास देखाउनुभयो ।
उजुरीमा भनिएको छ– ‘निर्माताको हैसियतले म अन्त्यन्त पीडित अवस्थामा छु ।’ निर्माता झाले यो विषयमा समस्या समाधानका लागि बोर्ड र निर्माता सङ्घसँग अनुरोध गरेका छन् ।
वितरक शर्माले भने पहिला भएको सम्झौताकै आधारमा फिल्म वितरण गर्न सकिने बताएका छन् । ‘बाटो’लाई डिसिएनले वितरण गर्ने भनेर हल्ला भइसकेकाले फिल्म छाड्न नसकेको उनको भनाई छ ।
मदन थापाको लेखन तथा निर्देशन रहेको ‘बाटो’ टिजर र ट्रेलरबाटै चर्चामा रहेको रोड थ्रिलर फिल्म हो ।
नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर ४ वटा भाषामा तयार गरिएको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया