मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ : विश्व रङ्गमञ्च दिवस

‘रङ्गमञ्च बालबालिकाका लागि सिकाइको माध्यम पनि हो’

बाल नाटकलाई उचाइमा पुर्‍याउन पुष्पराज अवस्थीले गरेको अथक मेहनत

रङ्गमञ्चमा ६० को दशकदेखि निरन्तर सक्रियता देखाइरहेका धनगढीका रङ्गकर्मी पुष्पराज अवस्थी विशेष त बाल रङ्गमञ्चकै क्षेत्रमा अभ्यस्त छन् ।

वि.सं. २०६२ सालमा धनगढीबाट काठमाडौँ छिरेपछि उनी रङ्गमञ्चका क्षेत्रमा बालबालिकालाई अभिनय प्रशिक्षण दिँदै आएका छन् । साथै उनी आफैले पनि रङ्गमञ्चमा अभिनय गर्दै आएका छन् ।

केही फिचर फिल्ममा समेत अभिनय गरेका अवस्थीको झुकाव भने बाल रङ्गमञ्चतर्फ नै बढी छ ।

केही वर्षयता उनी नेपालका कैयन् स्कूलहरूमा पुगेर बालबालिकालाई अभिनय सिकाइरहेका छन् । उनले बालबालिकालाई अभिनय तथा रङ्गमञ्चतर्फ आकर्षित गराउन अहम् भूमिका निर्वाह गरेका छन् ।

अवस्थीको लेखन तथा निर्देशनमा तयार भएका डेढ दर्जनभन्दा बढी बाल नाटकले विभिन्न विधामा अवार्ड समेत जितेका छन् ।

केही समयअघि सम्पन्न नाट्कर्मी महासंघले राजधानीमा गरेको ‘राष्ट्रिय बाल नाटक मेला’मा उनको लेखन तथा निर्देशन रहेको नाटक ‘भागु’ले नगद रूपैयाँ एक लाखसहित उत्कृष्ट नाटकको उपाधि हात पार्‍यो ।

उक्त नाटकले उत्कृष्ट लेखन, निर्देशन, उत्कृष्ट महिला, पुरुष अभिनेता, उत्कृष्ट सहायक चरित्र महिला र उत्कृष्ट प्रकाश परिकल्पनाको अवार्ड प्राप्त गर्‍यो ।

नाट्य मेलामा अवस्थीको नाटक ‘बाह्र’ले पनि दर्शक छनोट, उत्कृष्ट मञ्च परिकल्पना र उत्कृष्ट ध्वनिबाट अवार्ड हात पार्‍यो । उनै रङ्गकर्मी अवस्थीसँग बाल रङ्गमञ्च, बाल नाटकको अवस्था, महत्व र चुनौतीका विषयमा जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

लामो समयदेखि रङ्गमञ्च र बाल नाटकको क्षेत्रमा हुनुहुन्छ । बाल नाट्य क्षेत्रलाई कसरी परिभाषित गर्नुहुन्छ ?

बालबालिकाहरुको विषयलाई लिएर प्रस्तुत गरिएको नाटकलाई बाल नाटकका रुपमा लिन सकिन्छ र बालबालिकाहरुको समाजिक, मनोवैज्ञानिक विषयवस्तुहरु यसमा समावेश हुनैपर्छ ।

नेपालमा बाल रङ्गमञ्चकै सन्दर्भमा बाल नाटक महोत्सव तथा मेलाहरु भइरहेका छन् । यसको गुणात्मक पक्षलाई हेर्दा बाल नाटकको यात्रा कहाँसम्म पुग्यो त ?

विगतलाई हेर्ने हो भने अहिले धेरै हदसम्म बाल रङ्गमञ्च अगाडि बढिरहेको छ भन्न सकिने अवस्था छ । अहिले बाल नाटक भन्ने बित्तिकै विद्यालयलाई पनि जोड्नुपर्छ । पछिल्लो समय विद्यालयहरु पनि यसका लागि सकारात्मक देखिएका छन् । विद्यालयले कक्षामा मात्र नभएर थिएटरमै लगेर नाटक गर्न चाहेको पाइन्छ । अहिले देशभित्रै महोत्सवहरुमा समेत बाल नाटकले उपस्थिति जनाएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा कतिपय टिमहरु देशलाई प्रतिनिधित्व गरेर नाटक लिएर गइरहेका छन् । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लाटफर्मसम्म हामी पुगेका छौं । स्कूलहरूले सपोर्ट गरिरहेका छन् । यसलाई हेर्ने हो भने निकै राम्रो भइरहेको छ ।

बाल नाटकको विकासको लागि कुन पक्ष बढी जिम्मेवार छन् ?

यसको विकासको लागि रङ्गकर्मी, स्कूल र अभिभावकहरु नै जिम्मेवार छन् । यसमा अझ बढी अभिभावकको बढी भूमिका छ भन्ने मलाई लाग्छ । मेरो अनुभवमा भन्नुपर्दा मैलै पढाउने विद्यालयमा कतिपय अभिभावहरु आएर रिहर्सल नै हेर्नुहुन्छ ।

त्यही हेरेर उहाँहरुले बालबालिकालाई घरमा लगेर अभ्यास गराउनुहुन्छ । त्यसले बढी निखारता आउँछ । कतिपय अभिभावकहरु नाटक भनेको केही होइन भन्ने बुझ्नेहरु पनि हुनुहुन्छ । अभिभावककै कारण कतिपय बच्चाहरु रहर हुँदाहुँदै नाटकमा र कक्षामै भाग लिन पाउनुहुन्न ।

मञ्चमा गएर प्रस्तुत गर्नु त अलन कुरा भयो । त्यही भएर मलाई बालबालिकाहरुलाई अभिभावकले पनि समर्थन गर्नुपर्छ भन्ने लाग्छ । अर्को पक्षबाट एकजना नाटक शिक्षक र निर्देशकको पनि यसमा अहम् भूमिका हुन्छ ।

हामीले गएर कसरी काम गरिरहेका छौं, विद्यार्थीलाई कसरी आकर्षित गरिरहेका छौं भन्ने कुरा पनि हुन्छ । यदि हामीले विद्यार्थीलाई नाटकप्रति लगाव बढाइरहेका छौं भने त्यो देखेर अरु पनि आकर्षित हुने रहेछन् ।

मैले पछिल्लो समयमा गरेको कामलाई हेरेर नै अरु बच्चाहरु आकर्षित भइरहेको पाएको छु । सिक्ने बालबालिकाहरू धेरै भएर हामीले थप व्यवस्थापन गरेर लैजानुपर्ने अवस्था पनि हामीले देखेका छौँ । यसमा विद्यालयहरुले पनि अवसर दिइरहेको छ । यदि अवसर नै नदिने हो भने यस्तो हुने थिएन । त्यसकारण बाल नाटकको विकासका लागि विद्यालय, अभिभावक र नाटकका निर्देशकहरु पनि उत्तिकै जिम्मेवार छन् ।

पछिल्लो पुस्ताका बालबालिकाका लागि रङ्गमञ्चको ज्ञान कत्तिको आवश्यक छ ?

रङ्गमञ्च भनेको सिकाइको माध्यम पनि हो । रङ्गमञ्चमा उनीहरुकै कुरा बोल्ने हो । कतिपय कुराहरु हामीले प्रस्तुतिबाट देखाउने हो । पछिल्लो समयमा त हामीले बालबालिकालाई किताबमा पढ्नुपर्ने नाटकहरु मञ्चन गराएका छौँ । यसले गर्दा उनीहरूलाई पढ्न पनि सहज हुन्छ ।

साथसाथै रङ्गमञ्च भनेको उनीहरूले आफ्नो बारेमा मात्र नभएर संस्कृति बुझ्न पाउने अवसर पनि हो । जस्तो मैले नाटक गर्दा सुदूरपश्चिमको संस्कृतिमा गर्छु । यसले गर्दा स्कूलका बालबालिकाले सुदूरपश्चिममा यसरी बोल्ने रहेछ, यो लगाउने रहेछ भनेर उताको बारेमा पनि थाहा पाउँछन् । यसरी हेर्दा संस्कृति पनि आदानप्रदान भयो । त्यसैले पनि यो प्रभावकारी माध्यम हो ।

यसमा सहभागिता र प्रस्तुतिको त छुट्टै कुरा भयो । नाटक भनेको अभिनय मात्र होइन । यसको पछाडि थुप्रै कुराहरु हुन्छन् । यसमा कस्ट्युम, सेट, प्रप्स, लाइटहरु जस्ता कुराले पनि छुट्टै अर्थ राख्छ ।

बाल रङ्गमञ्चमा बालबालिकाको मनोविज्ञान र उमेर अनुसार नाटकहरु मञ्चन भएनन् भन्ने गुनासो सुनिन्छ । बाल नाटक भनेर गरिने प्रस्तुतिमा तपाईंहरुले विषयवस्तु छनोट कसरी गर्नुहुन्छ ?

अन्य रंगकर्मीहरुले ठ्याक्कै के गर्नुहन्छ थाहा भएन । तर मैले गर्दा बालबालिकालाई भन्न मन लागेको कुरा पहिला आफैले बुझ्छु । उहाँहरुको स्कुल, घर र समाजमा केही भइरहेको छ कि, या उहाँहरु शिकार हुनुभएको हुनुहुन्छ वा नाटकका माध्यममा समाधान गर्न सकिन्छ कि जस्तो लाग्छ भन्ने बुझेर एकदिनको त त्यही विषयमै कक्षा हुन्छ ।

नाटककै विषयमा छलफल गर्दा बालबालिकाले आफ्ना कुराहरु खुलेर गर्ने वातावरण पनि सिर्जना हुन्छ होला नि ?

कतिपय बालबालिका बोल्न जान्नुहुन्न । अरुको अगाडि खुल्न पनि सक्नुहुन्न । कतिपय विषयवस्तुहरु यस्ता हुन्छन्, कि बच्चाहरु खुलेर हामीलाई बताउन नै चाहँदैनन् । मैले उहाँहरुलाई सबैलाई छुट्टाछुट्टै ग्रुपमा राखैर एउटा पेपर र पेन दिन्छु । उहाँहरुले नाम मेन्सन गरेर वा नगरेर लेखेर दिनुहुन्छ ।

त्यसमा धेरैजसो कुनमा विषय दोहोरिएको छ र कुन बढी सान्दर्भिक हुन्छ त्यसका आधारमा अगाडि बढ्छौँ । अर्को कुरा हामीले धेरैजसो नाटक वास्तविक घटनाबाट प्रभावित भएका नाटकहरू मञ्चन हुन्छन् । मैले लेखन तथा निर्देशन गर्ने नाटकहरू ८० प्रतिशत वास्तविक कथाहरूमा आधारित छन् ।

मैले हिँडिराख्दा देखेका र समाचारहरु पढेको आधारमा मौलिक र सामाजिक विषयमा बढी नाटक गरिरहेको हुन्छु । समाचारहरु पढ्दै गर्दा यो विषयमा नाटक निर्माण गर्नुपर्ला भन्ने लाग्यो भने त्यही विषयमा नाटक बनाउँछु । मुख्य कुरा त बालबालिकासँग पनि यस विषयमा कुरा गर्छु ।

रङ्गमञ्चमा बालबालिकाका लागि भनेर नाटक गर्दा कति चुनौती हुन्छ ?

थिएटरमा नाटक गर्दा जसरी प्रोपेसनल (व्यावसायिक) एक्टर हुन्छन्, त्यसरी बालबालिका हुँदैनन् । पहिलो कुरा त विद्यालयमा बालबालिकाको समय मिलाउन नै गर्न गाह्रो हुन्छ । कहिले घरको र कहिले स्पोर्ट डे जस्ता कार्यक्रमहरु पर्छन् । उनीहरूका लागि छुट्टै ‘गाइडलाइन’ दिनुपर्ने हुन्छ । यसमा निर्देशक बढी हाबी हुनैपर्छ । तर बालबालिकाहरु पनि निकै मेहनेती भेटेको छु ।

कहिलेकाहीँ तपाईंले हत्या, बलात्कार जस्ता संवेदनशील विषयमा पनि नाटक बनाउनुहुन्छ, नाटक ‘भागु’ मा बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टकै विषय थियो । यस्तो अवस्थामा चाहिँ कसरी अभिनय गर्ने बालबालिकालाई बुझाउनुहुन्छ ?

मैले यस्ता विषयमा नाटक गर्दा पहिला सामग्रीहरु तयार पार्छु । भागिरथीको विषयमा नाटक तयार गर्दा यससँगै सम्बन्धित समाचार, भिडियो सामग्री, उनकी आमाका बारेमा आएका भिडियोहरु जम्मा पारेर उहाँहरुलाई देखाएर पहिले अवस्थाबारे जानकारी गराएँ । त्यसपछि उहाँहरु घरमै बसेर भिडियो सबै हेरी तयार भएपछि नाटकको तयारी गरेँ । पूर्व तयारी गरिने हुँदा संवेदनशील नाटकमा काम गर्दा पनि खासै फरक पर्दैन ।

यस्तो संवेदनशील विषयमा बालबालिकालाई प्रत्यक्ष रुपमा भन्दा मानसिक रुपमा केही नकारात्मक प्रभाव त पर्ला नि होइन ?

यसमा प्रत्यक्षभन्दा पनि शब्द चयनको कुरामा ध्यान दिनुपर्छ । तर अहिले बच्चाहरु एकदमै फरवार्ड भइसकेका छन् । रङ्गमञ्चमा सबै कुराहरु लुकाएर राख्नुपर्छ भन्ने पनि छैन । यो त अभिव्यक्तिको माध्यम मात्र हो । म चाहिँ के कुरामा ध्यान दिन्छु भने बाल रङ्गमञ्चका माध्यमबाट अरु नाटक हेर्नेले पनि बुझोस् र नाटक खेल्नेलाई कतै छोएर उनीहरूको जीवनमा हिंसा नहोस् भन्नेमा जोड दिन्छु ।

सम्पूर्ण नाट्यकर्मी र बालरङ्गमञ्चमा काम गर्नेहरुलाई तपाईंको सन्देश के छ ?

बाल नाटक बालबालिकाका लागि हो । आजका बाल कलाकारहरु भोलि कलाकार मात्र होइनन्, दर्शक पनि हुन् । हामी बाल नाटक गर्छौँ भने बालबालिका राखेर मात्र नभएर उहाँहरुको विषय पनि राख्नुपर्छ । बालबालिकालाई रङ्गमञ्चमा उतार्दा भविष्यका लागि रङ्गकर्मी तथा कलाकार उत्पादन गरिएको हुन्छ । त्यसैले सबै मिलेर बाल नाटकलाई उचाइमा पुर्‍याउनु जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?