काठमाडौँ– निर्देशक मीन भामले आफूले निर्माण गरेका फिचर फिल्मलाई दर्शकले डकुमेन्ट्री हो कि फिल्म हो भनेर दर्शकले सोध्ने गरेको बताएका छन् ।
आफूले फिचर फिल्म निर्माण गरे पनि कतिपयले ती फिल्मको मेकिङ हेरेर डकुमेन्ट्री हो कि भनेर सोध्ने गरेको बताए ।
काठमाडौँमा जारी सातौँ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा बसन्त बस्नेतसँगको संवादमा उनले यस्तो बताएका हुन् ।
नेपालमा रिलिज हुने अरु फिल्मको तुलनामा मीन भामले निर्देशन गरेका फिल्म दर्शकले त्यति रुचाएको पाइँदैन । नेपाली फिल्म हेरेका दर्शकलाई उनका फिल्म पृथक भए पनि व्यावसायिकभन्दा पर रहेर ‘आर्ट फिल्म’ निर्माणमा जुटेका हुन्छन् ।
निर्देशक भामले अहिले नेपालमा मौलिक सिनेमामाथि बहस हुनु सकारात्मक भएको बताए । मौलिकता भएका सिनेमा एसियाली देशमध्ये सबैभन्दा पहिले जापानमा शुरु भएको बताए ।
‘मौलिक सिनेमामा सबैभन्दा सशक्त फिल्म जापानले बनायोजस्तो लाग्छ, ती फिल्म संसारभरिका दर्शकलाई मन पर्ने खालको हुन्छ, जापान धेरै पहिले बनेका फिल्म त्यतिबेला कसरी बने होलान् जस्तो लाग्छ,’ उनले भने ।
उनले दक्षिण एसियाका धेरै देशमा मौलिक फिल्मबारे बहस भइरहे पनि भारतमा भने शायद कहिल्यै पनि नहुने बताए । उनले भने, ‘भारतमा मौलिकताबारे बहसको यो तरङ्ग आउँछ जस्तो लाग्दैन किनकि भारतको फिल्म बजार यति ठूलो छ कि, त्यहाँ यस्ता कुराहरु यसै हराउँछन् ।’
उनले भियतनाम, बंगलादेश, पाकिस्तान लगायतका देशमा भने मौलिक फिल्मबारे बहस भइरहेको बताए ।
‘उनले आफूले वर्ल्ड सिनेमा निर्माणमा जुटेको बताए । उनले आफ्ना फिल्मको शैली, भाषा, दृश्य मेरो कथा पनि भइदियोस्, जस्तो कि, मैले इरानको कुनै एउटा फिल्म हेरेँ तर मलाई त्यो फिल्म मेरो जस्तो लाग्यो भने त्यो वर्ल्ड सिनेमा हो ।,’ उनले भने ।
‘सिनेमाका कथा, दृश्य, पात्र, भाष्य, जसले हेरे पनि दर्शकको व्यक्तिगत सम्बन्ध हुनुपर्छ, चाहे त्यो पात्रमा होस्, चाहे त्यो कथामा हुनुपर्यो,’ उनले भने ।
भामले निर्देशन गरेको पछिल्लो फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रतिस्पर्धामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया