मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीको रघुगङ्गामा गुणस्तरहीन रक्सी खान नपाइने

काठमाडौं- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन रक्सी खान नपाइने भएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको रघुगङ्गा –२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिए ।

उनका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीको अनुगमन गरेर कारबाही गर्न थालिएको छ । बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्री वितरण गर्न पुगेको बेनी नगरपालिका–८ कालिपुलमा रहेको बिक्की एण्ड ब्रदर्शलाई रु १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ । गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि रु १० हजार, दोस्रोपटकका लागि रु २५ हजार, तेस्रोपटकका लागि रु ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

‘‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छौँ, नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छौँ”, उनले भने । भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?