मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

रंगमञ्चले जुराइदिएको विजय र प्रमिलाको जोडी

‘नाटक सिकाउँदा सिकाउँदै प्रेम बस्यो, व्यक्त गर्नै सकिनँ’

काठमाडौँ– रंगकर्मी तथा कलाकार विजय बरालले आफ्नो जीवनको लामो समय यही क्षेत्रमा खर्चिए । अभिनयमा केही गर्ने सपनाको भोक यस्तो थियो कि, उनले प्रेमका लागि समय नै छुट्याउन भ्याएनन् ।

उनलाई सधैँ अभिनय सिक्न र सिकाउनु नै महत्त्वपूर्ण लाग्यो । त्यसपछि अझ फिल्ममा पनि अभिनयका लागि प्रस्ताव आउन थालेपछि व्यस्तता झनै बढ्यो । एकपछि अर्को नाटक र फिल्ममा अभिनय गर्दागर्दै उनले आफ्नो उमेरको सुई बढ्दै गएको पनि मेसो पाएनन् ।

विजय ३२ वर्षमा टेकेपछि विजयको जीवनमा प्रेमको डायरी कोर्न आइन् प्रमिला खनाल ।

प्रमिलाको आगमनपछि अहिले विजयलाई महसूस भएको छ, आखिरमा प्रेम के रहेछ ?

‘प्रेम भावनासँग जोडिएपछि अभिव्यक्त गर्ने चिज रहेछ । त्यसलाई यत्तिकै गुम्साएर राखियो भने विष्फोट हुन सक्छ ।’

विजयका अनुसार उनको जीवनमा विवाह पूर्व जोडीका रुपमा कहिल्यै प्रेम भएन । नाट्य क्षेत्रमा जोडिएपछि त्यतैतिर उनी अभ्यस्त भए । त्यसो त परिवार र बाबुआमाबीचको प्रेम त थियो । तर, प्रमिलासँगको प्रेमले उनलाई अझ नजिक बनायो । त्यसपछि यी दुईले पाँच वर्षअघि विवाह गरे ।

रंगमञ्चले जुराइदिएको जोडी

अभिनयमा रुचि भएकी प्रमिला मण्डला थिएटरमा अभिनय सिक्न आएकी थिइन् । त्यतिबेला विजयले मण्डला थिएटर ल्याब अन्तर्गत छैठौं ब्याचका विद्यार्थीलाई अभिनय सिकाइरहेका थिए । त्यही समूहमा थिइन्, प्रमिला ।

गुरु शिष्यको सम्बन्धमा पढाउने र पढ्ने क्रममा दुवैबिच थाहै नपाइ प्रेम बस्यो । प्रमिलाले विजयको निकै ख्याल राख्थिन् । कहिलेकाहीँ खानेकुरा, केही सामान समेत किनेर ल्याइदिन्थिन् । त्यसलाई विजयले प्रेमभन्दा पनि शिष्यले गुरुलाई गरेको सत्कार र सम्मानका रुपमा लिए ।

प्रमिलालाई भने उनलाई प्रेम गर्न थालिसकेकी रहेछिन् । जुन कुरा उनले पत्तो नै पाएनन् । केही समयपछि प्रमिलाले नै प्रेमको प्रस्ताव राखेपछि उनी झस्याङ्ग भए । एकातिर उनले प्रेम, सम्बन्ध र परिवार भन्ने कुरा सोचेकै थिएनन्, अर्काेतिर प्रस्ताव राख्ने मान्छे नै उनकी शिष्य थिइन् ।

उनी केही समय त सोचमग्न भए ।

उनले सम्झिए, ‘ढल्किँदो उमेर थियो । एक्लै बसिरहेको थिएँ । आफ्नै क्षेत्रमा रहेकी मान्छेले माया गर्छु भन्दा के चाहीँ नराम्रो भो र भन्ने मलाई लाग्यो, साथीभाइले पनि राम्रै सुझाव दिए ।’

प्रेम प्रस्तावपछि भने विजय केही गम्भीर बने । साथीहरूको सल्लाह पनि लिए । र, कसैले प्रेम गरेको थाहा पाउँदा रमाइलो पनि महसूस गरे ।

‘आफ्नो परिवार र साथीभाइबाहेक दुःख सुख साट्ने नजिकको साथी पनि हुने रहेछ भन्ने उनलाई प्रमिला भेटेपछि महसूस भयो, जीवनमा आफूलाई माया गर्ने मान्छे कोही त आयो भन्ने लाग्यो,’ उनी मुस्कुराउँदै सुनाउँछन् ।

विजय र प्रमिलाबीच प्रेम त बस्यो तर विजयले आफ्नो प्रेम व्यक्त गर्न नै लामो समय कुर्नुपर्‍यो । अर्कातिर उनको प्रेमको यात्रामा कहिले उमेर त कहिले समाजको परिधि आए । जतिबेला उनी प्रेममा परे प्रेमिकाको हात समातेर सहरका गल्ली र प्रकृतिको रमणीय साथलाई साक्षी बनाएर आफ्नो मायाको बारेमा भन्न उनलाई आँट पनि आएन ।

अहिले भने उनलाई के लाग्छ भने प्रेम भन्ने चीज समयमै हुनुपर्ने रहेछ ।

‘उमेरले पाको भएपछि धेरै कुरा सोच्दासोच्दै प्रेम गर्नै नजानिँदो रहेछ । मैले प्रेम गर्ने बेला एक त उमेर पाको भइसकेको थियो । अर्काेतिर समाजले के भन्ला भन्ने कुरा पनि दिमागमा आउने रहेछ,’ उनी खिस्स हाँस्छन् ।

प्रेमको मामलामा उमेरसँगै समाजको सीमानाले धेरथोक प्रभाव पार्ने कुरामा उनको सहमति छ । माया कसरी र कुनबेला गर्ने भन्ने बारे सोच्दै प्रेमीप्रेमिका भएको लगभग साढे दुई वर्षभित्रमै उनीहरुले विवाह गरे । अहिले दुवैको प्रेमको निशानीका रुपमा १० महिने छोरो हुर्किँदै छ । छोरोलाई स्याहार्दै दुवै आफ्नो कलाकर्ममा लागिरहेका छन् ।

विवाहपछि विजयले महसूस गरेको प्रेम अझै अथाह र गाढा छ । श्रीमतीलाई गर्ने उनको प्रेमको गहिराइलाई उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । आफ्नो जन्मघर नै त्यागेर उनको जीवनमा आएकी श्रीमती प्रमिला उनका लागि जीवनको अमूल्य उपहार हुन् ।

जुन कुरा अहिले पनि उनलाई व्यक्त गर्न आउँदैन । नाटक र फिल्ममा उनले प्रेमी र श्रीमानको भूमिका धेरै निर्वाह गरेका पनि छन् । वास्तविक जीवनमा भने त्यही कुरा भन्नलाई उनी सधैं पछाडि पर्छन् । उनको यही माया गर्ने शैलीलाई श्रीमतीले अहिलेसम्मलाई त बुझिदिएकी छिन् ।

तथापि आफ्नो स्वभावबारे भने उनी आफैंप्रति गुनासो गरिरहन्छन् ।

उनी चाहन्छन्, आफ्नो यो स्वभावले उनको प्रेमको आयु र आयतन कहिल्यै नघटोस् । व्यस्तताको बाबजुत पनि उनी सधैंजसो सोच्छन्, श्रीमतीको हात समाएर ‘प्रमिला म तिमीलाई अथाह प्रेम गर्छु र गरिरहन्छु ।’

यही कुरा मनदेखि गलासम्म आए पनि प्रमिलासँग व्यक्त गर्न नसक्ने विजय बताउँछन् । युवापुस्ताले गर्ने प्रेम र प्रेमको सिजन भनिने अवसरप्रति उनको त्यति चासो छैन । उनका लागि प्रेमको कुनै दायरा र सीमाना छैन । प्रेम कुनै वस्तु र भौतिक संसारमा डुबिने बहकाउ पनि होइन । प्रेमलाई बन्धन र दीर्घकालीन स्वरुपमा ढालेर असीमित रुपमा फिँजाउनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?