मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म संवाद

सामान्य कथामा रोचक प्रस्तुति दिन सके दर्शकलाई फिल्म मन पर्छ: माओत्से गुरुङ

काठमाडौँ– अभिनेता समेत रहेका निर्देशक माओत्से गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘दयारानी’ प्रदर्शनका क्रममा छ । केही दिनअघि सार्वजनिक गरिएको उक्त फिल्मको ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ । कलाकारद्वय दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका रहेको यो फिल्ममा सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । ट्रेलरबाटै फिल्मको कथा र यसले उठान गरेको विषय राम्रो भन्दै दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।

यसै फिल्मको विषयवस्तु वरिपरि रहेर हामीले कलाकार तथा निर्देशक माओत्से गुरुङसँग कुराकानी गरेका छौँ:

यो कथा कहिले लेख्नुभयो?

यो कथा मैले सात/आठ वर्ष पहिले नै लेखेको हुँ । जहिले पनि मेरो कथाहरु जन्मने भनेको घटेको घटनाहरुबाट हो । मलाई त्यस्तो घटनाले क्लिक गर्‍यो भने लेख्छु तर ती कि सुनेको, कि आफूले जानेको हुनुपर्छ । यस्तो खालको परिवेश मैले मेरा साथीभाइ तथा इष्टमित्रमा पनि देखेको हुँ । ७/८ वर्ष अगाडिदेखि नै म यो कथालाई सिनेमाको रुप दिनुपर्‍यो भनेर घोत्लिरहेको थिएँ । यो यसरी नै जन्मियो भनौँ न ।

दर्शकका लागि यो सिनेमा कत्तिको रुचिकर हुन्छ जस्तो लाग्छ?

दर्शकले यो कथा हेर्छ, यो कथा हेर्दैन भन्ने नै हुँदैन । तपाईंको प्रस्तुतिमा त्यसलाई कसरी रोचक तरिकाले प्रस्तुत गर्नुहुन्छ त्यसमा निर्भर हुन्छ । कथाहरु त सबै बुलन्द हुन्छ । तपाईंको जीवनमा घटेको कथा तपाईंका लागि र मेरा जीवनमा घटेको घटना मेरा लागि उत्तम हुन सक्छ । यसमा तपाईंको बढी र मेरो कम वा त्यसको विपरीत हुन्छ भन्ने नै हुँदैन । कथा सबैको उस्तै हो । दर्शक यसको प्रस्तुतिसँग जोडिनुहुन्छ । आम दर्शकले हेर्दा त्यो कथामा के ग्रहण गर्नुहुन्छ भन्ने हो ।

तपाईंले यो सिनेमाबाट प्रस्तुत गर्न खोज्नुभएको कुरा के हो?

एउटा अंहकारी पुरुषको मनोविज्ञान । सबै पुरुषमा त्यो लागु हुँदैन । तर, केही पुरुष त्यस्ता पनि छन् । जसले आफ्ना कमी कमजोरीहरु लुकाएर अरुमाथि दोषारोपण गर्ने, अन्तिम अवस्थासम्म पनि जस्तो प्रकारको अवस्था परे पनि सहने तर म कमजोर छु भन्ने कुरालाई आत्मसात् गर्न नसक्ने पुरुषको मनोवृत्ति यसमा छ ।

यसमा पुरुष मनोविज्ञान मात्र हावी छ कि महिला सशक्तीकरणको मुद्दा छ या दुवै छोडेर यस मानवीय संवेदना प्रमुख हो भन्ने कुरा छ?

त्यो कस्तो खालको छ भन्नका लागि सिनेमा नै हेर्नुपर्छ । हामीले धेरै कुरा टिजर र ट्रेलरबाट व्यक्त गरिसकेका छौं । यद्यपि यसमा महिला सशक्तीकरण भन्दा पनि हाम्रो समाजमा महिलाहरु कतिसम्म उदार र दयालु छन् भन्ने देखाउन खोजिएको छ । एउटा पुरुषको वंश धान्नका लागि आफ्नो जीवन नै दाउमा राखेर आफ्नो श्रीमान् बाँड्न तयार हुन्छे भने त्यो भन्दा ठूलो कुरा के हुन्छ भन्ने कथा फिल्ममा छ । हाम्रो समाजमा पितृसत्तात्मक सोच महिलामाथि अझै पनि हाबी छ भन्ने देख्न सक्नुहुन्छ । यो सिनेमा हेरेर महिलाहरुले कुन रुपमा पाउनुहुन्छ अहिले नै ठ्याक्कै भन्न सक्दिनँ ।

तपाईंले दिन खोजेको सन्देश के हो?

मैले अघि नै भनेँ । यसमा पुरुष मनोवृत्तिको शिकार । भनौं न आफ्नो ज्यानभन्दा एकदमै बढी माया गर्ने श्रीमतीलाई उनले त्यस्तो खालको अवस्थामा पुर्‍याउँछ । उनीहरुले देखेको बाटो, देखेको सपनाहरु एउटा सानो घटनाले कहाँ पुर्‍याउँछ त ? शिकार कसरी हुन्छ त ? हाबी हुने जुन पुरुष मनोविज्ञान छ त्यसले आफूलाई एकदमै आत्मसाथ गर्ने , परम ठान्ने श्रीमती कतिसम्म दुःख भोग्नसक्ने, त्यही कुरा प्रमुख छ यसमा ।

यसमा पुरुषलाई त्यस्तो हुन बाध्य पार्ने सामाजिक मनोविज्ञानप्रति पनि प्रश्नहरु छन्?

किन नहुनु? यस्ता कुरा बहसमा आउनुपर्‍यो । किन हामीलाई बच्चा नभई नहुनुपर्ने हो ? हाम्रो विरासत थाम्नका लागि हाम्रो विरासत नभई नहुनुपर्ने हो ? त्यो बच्चा नहुँदाको पीडा कति भयो होला हाम्रा दम्पतीहरुलाई । हामीले यही विषय उठान गरेका छौँ ।

जुन प्रकारले तपाईंले स्क्रिप्ट तयार पार्नुभयो, त्यो दृश्यभाषाका रुपमा कति रुपान्तरण गरेँ जस्तो लाग्छ? कतिको सन्तुष्ट हुनुहुन्छ सिनेमाका रुपमा?

छैन । त्यो प्रश्न नै गर्नुपर्दैन । कस्तो हुन्छ भने धेरै कुराले प्रभाव पार्छ । म मात्र होइन, सम्भवतः धेरै निर्देशकहरु शायद हिजो एउटा कल्पना गरेको सिनेमा छ, जुन कथा छ त्यही रुपमा चाँहि पर्दामा आउँदै आउँदैन, यसमा पनि आएको छैन ।

आगामी दिनेमा तपाईं कस्ता सिनेमा निर्देशन गर्ने सोचमा हुनुहुन्छ कि पाइपलाइन मै गइसके ?

‘दयारानीֹ’ फिल्मको कहानी जहाँ सकिन्छ, त्यहाँ नै यसको कथा पूर्ण हुन्न । त्यसपछि पनि अघि बढ्ने कथा छ । जुन हामीले सुरुवातमै लेखिसकेका छौँ । उहाँहरुले चाहनुभयो भने त्यसको दोश्रो सिक्वलतिर पनि लाग्छु । त्यो भएन भने मसँग अरु कथाहरु छन् । विशेषगरी म लाहुरे परम्परा भएको परिवारबाट हुँ । त्यसले गर्दा यो लाहुरे विषयमा निर्माण भएका सिनेमाहरु एकदमै कम छन् । सम्भवतः ‘दयारानी’को सिक्वेल भएन भने लाहुरे परम्पराले ल्याएको फाइदा, बेफाइदा वा त्यसले एउटा युवा जमातमा कस्तो खाले असर पारेको छ भन्ने विषयमा सिनेमा निर्माण गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?