मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् फिल्मबाट राजनीतिमा उदाएका ११ दक्षिण भारतीय सेलिब्रेटी

मुम्बई– दक्षिण भारतीय फिल्मका स्टारले राजनीतिमा पाइला चाल्ने शैली पुरानै हो । एम जी रामचन्द्रन १० वर्षसम्म तमिलनाडुको मुख्यमन्त्री भए ।

उनीपछि दक्षिण भारतीय फिल्मका यस्ता कैयौं सुपरस्टार छन्, जसले राजनीतिमा पनि पाइला राखेर सफलता पाए । राजनीतिमा लागेर उनीहरुले फ्यान क्लबलाई भोट बैंकमा बदलेका छन् ।

दक्षिण भारतमा यो क्रेज अहिले पनि जारी छ । फिल्मले ठूलो जमातमा कलाकारलाई चिनाइरहेको छ । आज हामी फिल्म हुँदै राजनीतिमा पनि सफल भएका दश सेलिब्रेटीबारे चर्चा गर्दैछौँ ।

एम जी रामचन्द्रन
एम.जी.आर.को नामले लोकप्रिय रामचन्द्रन एक प्रख्यात भारतीय अभिनेता र निर्माता थिए । उनी पछि गएर राजनेता बने ।

उनले सन् १९७७ देखि १९८७ सम्म १० वर्ष तमिलनाडुको मुख्यमन्त्रीका रुपमा काम गरे । उनी तमिलनाडुको संस्कृतिको प्रतिक थिए । उनलाई तमिल फिल्म उद्योगमा सबैभन्दा प्रभावशाली अभिनेतामध्ये एक मानिन्थ्यो ।

उनी तमिलनाडुका जनताबीच यति लोकप्रिय थिए कि उनलाई मानिसहरु ‘मक्कल थिलगम’ भनेर बोलाउँथे । जसको अर्थ थियो – मानिसको राजा ।

जयाराम जयललिता
तमिलनाडुकी दिवंगत मुख्यमन्त्रीले सन् १९६१ र १९८० को अवधिका १४० फिल्ममा आफूलाई अभिनेत्रीका रुपमा स्थापित गरिन् । त्यसपछि मात्र उनी राजनीतिमा आइन् ।

एक अभिनेत्रीका रुपमा उनको बहुमुखी प्रतिभा र उनको ड्यासिङ बौदिकताका लागि उनी लोकप्रिय थिइन् । उनी सन् १९८२ मा एम.जी. रामचन्द्रनद्वारा स्थापित पार्टी एआईएडीएमकेमा आबद्ध भइन् । रामचन्द्रन उनको सह–कलाकार पनि थिए ।

उनी सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री भइन् । उनी यो पदमा पुग्ने सबैभन्दा कम उमेरकी मुख्यमन्त्री थिइन् ।

एन टी रामा राव
एनटीआर एक भारतीय अभिनेता, फिल्म निर्माता र राजनीतिज्ञ थिए । एनटीआरले सन् १९८२ मा तेलुगु देशम पार्टी स्थापना गरे ।

उनले तीन कार्यकालमा सात वर्षसम्म आन्ध्र प्रदेशको मुख्यमन्त्रीका रुपमा काम गरे । उनले राजनीतिमा पाइला चाल्दा उनी दक्षिण भारतको प्रख्यात अभिनेता भइसकेका थिए ।

चिरञ्जीवी
तेलुगु मेगास्टार चिरञ्जीवीले सन् २००८ मा आफ्नो राजनीतिक पार्टी प्रजा राज्यम सार्वजनिक गरे । त्यसपछि उनले सन् २०११ मा पार्टीलाई भारतीय राष्ट्रिय काँग्रेसमा विलय गरे ।

उनी सन् २०१२ मा राज्यसभाका लागि चुनिए र केन्द्रीय राज्यमन्त्री (स्वतन्त्र प्रभार), पर्यटन मन्त्रालयका रुपमा सपथ लिए । उनले आफ्नो करियरमा कैयौं फिल्मफेयर र अन्य अवार्ड जितेका छन् ।

पवन कल्याण
कोनिडेला कल्याण बाबु, जसलाई मायाले पवन कल्याणको नामले चिनिन्छ । एक भारतीय अभिनेता, लेखक तथा राजनीतिज्ञ हुन् ।

उनी प्रख्यात अभिनेताबाट राजनीतिज्ञ बनेका चिरञ्जीवीका कान्छा भाइ हुन् । कल्याणले ‘थोली प्रेमा’मा अभिनय गरे । जसले सन् १९९८ मा तेलुगुमा सर्वश्रेष्ठ फिचर फिल्मका लागि राष्ट्रिय अवार्ड जिते । सन् २०१३ को फोब्र्स इण्डियाले निकालेको सय प्रख्यात हस्तीको सूचीमा उनले २६ औं स्थान पाएका थिए । सन् २०१४ मा उनले राजनीतिमा पाइला चाले । उनको पार्टी जनसेना पार्टी हो ।

विजयकान्त
अभिनेता विजयकान्त एक अभिनेताबाट नेता बनेका छन् । उनी सन् २०११ देखि २०१६ सम्म तमिलनाडु विधान सभाको विपक्षी नेता थिए । उनले सन् २००५ मा केन्द्र–वाम पार्टी देसिया मुरपोक्कू द्रविड कडमको स्थापना गरे र ऋषिवन्दियम निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै विधानसभाको सदस्य पनि भए ।

सन् २०१६ को एक चुनावी भाषणका समयमा उनले रजनीकान्तको आलोचना गरेका थिए, जुन घटनापछि उनका फ्यान रिसाएका थिए ।

राम्या
दिव्या स्पन्दना, जो आफ्नो स्टेज नाम राम्याबाट चिनिन्थिन् । उनी कन्नड फिल्ममा अभिनय गर्छिन् ।

उनले तमिल र तेलुगु फिल्ममा पनि अभिनय गरेकी छिन् । सन २००३ मा उनले कन्नड फिल्म ‘अभी’बाट करियर सुरुवात गरेकी थिइन् । उनले सर्वश्रेष्ठ अभिनेत्री–कन्नडका लागि दुई पटक फिल्मफेयर अवार्ड जितेकी छन् । सन् २०१३ मा उनले कर्नाटकमा मान्ड्या निर्वाचन क्षेत्रका लागि काँग्रेस संसद सदस्य बन्नका लागि उपचुनाव जितेकी थिइन् ।

त्यसपछि उनी आम चुनावमा पराजित भइन् ।

अम्बरीश
मालवल्ली हच्चेगौडा अमरनाथलाई उनको फिल्मी नाम अम्बरीशले चिनिन्छ । उनले सन् १९९४ मा राजनीतिमा पाइला चालेका थिए ।

उनी तीनपटक लोक सभा सदस्य र राज्यको पूर्वमन्त्री बनेका थिए । उनले चार दशकको लामो करियरमा करिब २ सय बढी फिल्ममा अभिनय गरेका थिए ।

सुरेश गोपी
सुरेश गोपी एक भारतीय अभिनेता, राजनीतिज्ञ, गायक र टेलिभिजन प्रस्तोता हुन् । उनी मुख्य रुपले मलयालम फिल्ममा काम गर्छन् र केही तमिल, तेलुगु, कन्नड र बलिउडमा पनि अभिनय गरेका छन् । उनी सन् २०१६ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए ।

कमल हसन
कमल हसन एक प्रख्यात फिल्म अभिनेता हुन् । उनलाई सुपरस्टार पनि भनिन्छ । उनले सन् २०१८ मा आफ्नो राजनीतिक पार्टी सुरु गरेका थिए र उनी चुनाव पनि लडे । उनले धेरै भोट पाए पनि चुनाव भने जित्न सकेनन् ।

रजनीकान्त
सुपरस्टार रजनीकान्तले ३१ डिसेम्बर २०१७ मा राजनीतिमा आउने घोषणा गरे । उनले चुनाव लड्ने आफ्नो इच्छा पनि जाहेर गरेका थिए ।

त्यसपछि उनले सन् २०२१ जुलाई १२ मा आफ्नो पार्टी रजनी मक्कल मन्दरमलाई भंग गरे र राजनीतिमा कहिल्यै प्रवेश गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?