मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रकाशकीय : हाम्रो प्रण

आदरणीय पाठकहरू,
जीवनशैलीको डिजिटल अनलाइन प्लेटफर्म जोय नेपालडटकम (joynepal.com) मा तपाईँलाई स्वागत गर्न पाउँदा हामी हर्षित छौं। इन्टरनेटका माध्यमबाट नेपालसहित विश्वका असीमित पाठकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको अनलाइन ट्याबलोइड पत्रिका जोय नेपालको आज औपचारिक उद्घाटन गर्ने महत्वपूर्ण अवसर जुरेको छ।

युवापुस्ता र महिला केन्द्रित मनोरञ्जन र जीवनशैलीका डिजिटल समाचार पोर्टल जोय नेपालका साथ आजबाट हामी अझै फराकिलो अनलाइन सञ्चार माध्यमका रुपमा तपाईँहरुमाझ आइपुगेका छौँ ।

जीवन्त जीवनशैलीको उद्देश्यका साथ शुरु भएको जोय नेपाल डटकममार्फत् हामीले मूलधारका मिडियाभन्दा फरक शैली र सामान्य भाषामा युवा र महिलाको रुचि अनुसारका विषयवस्तु समेट्ने प्रयास गरेका छौँ ।

पत्रकारिता क्षेत्रमा मर्यादित, व्यावसायिक, उत्तरदायी मनोरञ्जनमूलक र जीवनशैलीको विषय न्यून प्राथमिकतामा परेको अनुभव महसुस गरी हामीले जोय नेपाल प्रकाशन गरेका छौं ।

प्रविधिको विकाससँगै भौगोलिक असीमितताको अवसर पक्कै पनि लाभदायी हुनेछ भन्ने हाम्रो विश्वास छ। यसैअनुरुप आम पाठकलाई रुचिकर सामग्री प्रकाशन गर्ने विश्वास दिलाउन चाहन्छौँ ।

पाठकको रुचि र चासोमा केन्द्रित हुँदै शुरुवातदेखिनै गुणस्तरीय सामग्री प्रस्तुत गर्ने हाम्रो प्रयत्न रहनेछ । हामीले जीवनशैलीका अलावा, मनोरञ्जनमूलक, प्राविधिक, स्वास्थ्य, फेसन, सौन्दर्य, समाज, संस्कृति, रोचक र ज्ञानवर्द्धक लगायत विभिन्न मानवीय रुचिका सामग्रीहरु प्रकाशन गर्नेछौँ ।

हाम्रो कुनै ठूलो महत्वाकांक्षी योजना र संरचना छैन । हामीले गुणस्तरीय र विश्वसनीय समाचार सामग्रीलाई नै प्राथमिकता दिनेछौँ। हामी सनसनीपूर्णको पछि नलागेर यथार्थ समाचारलाई सामान्य शैलीमा पस्कने छौँ।

हामी निराशा, अन्योल, अनिश्चितता, वितृष्णालगायत सामाजिक द्वेष फैलाउने सामग्रीभन्दा विश्वास, आशा, प्रेरणा र सफलताका कथाहरुले तपाईँको दैनिक जीवन मनोरञ्जनमूलक बनोस् भन्ने चाहन्छौँ । इतिहासको ब्याज खाने वा आफ्नो ब्राण्ड भँजाएर त्यसैको प्रभाव र पहुँचले टिक्ने हाम्रो चाहना कदापि होइन । यस्तो भ्रमबाट मुक्त रही द्रुत गतिमा विस्तार हुँदै गरेको अनलाइन पत्रकारितामा आफ्नै स्थान बनाउन सक्रिय रहने हाम्रो अठोट छ। हामी मनोरञ्जन पत्रकारितामा नयाँ ‘ट्रेन्ड’ स्थापित गर्न चाहन्छौं ।

हामी कुनै पनि राजनीतिक आस्थाद्वारा होइन, आम नागरिकको चासो र जीवनशैलीसँग जोडिएका मुद्दालाई प्राथमिकता दिनेछौँ । पत्रकारिता क्षेत्र आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनेको छ । यद्यपि कैयन् कारणले मिडियाको दिगोपनलाई जगैदेखि हल्लाएको अहिलेको अवस्थामा ठूलो आँटका साथ हामी आइपुगेका छौँ ।

अहिले नेपाली मिडिया चौतर्फी संकटको घेरामा रहेको यथार्थ धरातल लुकेर लुक्ने अवस्थामा छैन। नेपाली मिडियाले अहिले भोग्नुपरेका चरम वित्तीय संकट, विश्वसनीयताको संकट, सामाजिक सञ्जालहरूको बढ्दो प्रभाव, खुम्चिँदो विज्ञापन बजार, सामग्रीमा घट्दो प्राथमिकता, सञ्चार माध्यममा नयाँ पुस्ताको घट्दो अरुचि र जनशक्ति पलायनको अवस्थाले चौतर्फी निराशा छाएको छ।

नेपालमा मात्र होइन, विश्वव्यापी मिडिया बजार चरम संकटको घेरामा छ । संयुक्त राज्य अमेरिका, भारत, बेलायतलगायत बलियो अर्थतन्त्र भएका मुलुकहरूमा समेत श्रृङखलाबद्ध रुपमा स्थानीय पत्रपत्रिकाहरु बन्द भइरहेका छन्।

निष्पक्ष र व्यावसायिक मिडियाले मात्र लोकतान्त्रिक मूल्यमान्यता, सुशासन र मुलुकको समृद्धिमा योगदान दिन सक्छ। कुनै भौगोलिक सीमामा नरहेकाले सञ्चार जगतको भविष्य अनलाइन पत्रकारितामै छ। हाम्रो प्रयास सफल या असफल हुने यहाँहरुकै प्रेरणा र हौसलामा निर्भर हुन्छ। हाम्रो सम्पादकीय टिम, व्यवस्थापन टिम एवम् विज्ञापनदाताका रूपमा यात्रामा हामीलाई प्रेरित गरिरहनुहुनेछ भन्नेमा विश्वस्त छौँ ।

हाम्रो अस्तित्वको रक्षा र निरन्तरता तपाईँहरुकै सहयोगमा निर्भर रहनेछ । हाम्रो अभियान र उपस्थिति कहाँसम्म पुर्‍याउने भन्ने पाठकको रुचिको विषय हो । तपाईँहरुको सहयोगविना फराकिलो यात्रा तय गर्न सम्भव छैन।

यस अवसरमा आमपाठक, लेखक, विज्ञापनदाता, शुभेच्छुक तथा सहकर्मी सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । हामी तपाईँहरूको आलोचनात्मक र रचनात्मक सल्लाह सुझाव सधैँ शिरोधार्य गर्ने प्रण पनि गर्दछौँ ।

प्रमोदराज सेढाईं
अध्यक्ष, क्रेडिबल मल्टिमिडिया प्रा. लि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?