मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनशैली

रुसी राष्ट्रपति पुटिनको जीवनशैलीः महङ्गो घडीका सौखिन, जुडोमा ‘ब्ल्याक बेल्ट’

कति वटा छन् घर, जहाज र हेलिकोप्टर ?

संसारकै शक्तिशाली नेताहरुमध्ये शीर्ष स्थानमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘स्टाइलिस नेता’ हुन् । उमेरले ७१ वर्ष नाघेका उनी अझै पनि हट्टाकट्टा छन् ।

जुडोका कुशल खेलाडी समेत रहेका पुटिन कहिले जंगलमा शिकार खेल्न निस्किन्छन् त कहिले साइबेरियाको चिसो तालमा माछा मार्न निस्किन्छन् । बेलाबेलामा लडाकु विमान उडाएर मोटर स्पोर्टसदेखि आइस हक्की खेलमा सहभागी भएर पनि उनी संसारभरका मिडियामा छाइरहन्छन् ।

सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता निरन्तर रुसको सत्तामा रहेका पुटिन निकै लोकप्रिय र चर्चामा आइरहने नेता हुन् ।

तत्कालीन सोभियत संघको जासुसी निकाय केजीबीका जासुसका रुपमा कार्यरत उनले जुडोमा ब्लाक बेल्ट समेत लिइसकेका छन् ।

रुसमा निकै लोकप्रिय रहेका पुटिनको जीवनशैली निकै रहस्यमय मानिन्छ ।

उनको वार्षिक तलब १ लाख ४० हजार डलर हुन्छ । तै पनि बारम्बार आउने पश्चिमा मिडियाहरुको रिपोर्टमा पुटिनसँग २ खर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्तिको स्वामित्व रहेकोे दाबी गरिएको छ ।

हुन त रुसमा उनको पूर्ण नियन्त्रण छ । राजनीतिदेखि सैनिक, आर्थिक, सञ्चार, सामाजिक लगायत सबै क्षेत्र उनको इशाराबेगर केही पनि नचल्ने अवस्था छ ।

मिडिया रिपोर्टमा आउने पुटिनका घर, जहाज, कार, रेल, घडीजस्ता सुविधा हेर्दा उनको निजी जीवनमा भोगविलास र सुखभोगको कुनै कमी रहेको देखिन्न ।

आधिकारिक रुपमा एक अर्ब डलरभन्दा धेरै सम्पत्तिको स्वामित्व खुलाउन नसकेको भन्दै सन् २०१५ मा अमेरिकी आर्थिक अखबार ‘फोब्र्स’ले पुटिनलाई अर्बपति धनाढ्यहरुको सूचीमा समावेश गर्न अस्वीकार गरेको थियो । हुन पनि पुटिनको सम्पत्तिको स्रोत अपारदर्शी र गोप्य रहेको बताइन्छ ।

नब्बेको दशकमा रुसको औद्योगिक क्षेत्रमा गरेको लगानीबाट उनले यति धेरै सम्पत्ति कमाएको हुनसक्ने कतिपयको अनुमान छ ।

सन् २०१७ मा अमेरिकी सिनेटको न्याय समितिलाई दिएको बयानमा अर्थशास्त्री बिल ब्राउडरले पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति भएको दाबी गरेका थिए । उनले गरेको दाबी अनुसार त्यसबेला पुटिनको सम्पत्ति २ खर्ब डलरभन्दा बढी थियो ।

औपचारिक सम्पत्तिको कुरा गर्दा पुटिनसँग ८ सय वर्गफिटको अपार्टमेन्ट एउटा ट्रेलर र तीन वटा कार छन् । यद्यपि बारम्बार मिडियामा आउने समाचार अनुसार उनीसँग २० वटा घर, ५८ वटा जहाज र हेलिकोप्टरहरु, महङ्गा घडीहरु, विलासी निजी याटजस्ता सम्पत्ति छन् ।

कृष्ण सागरको तटमा पुटिनले १ लाख ९० हजार वर्गफिटको विलासी घर बनाएका छन् । सन् २०२१ मा प्रकाशित सनसनीपूर्ण खोजमूलक खुलासामा उक्त तटमा एउटा आलिशान घरको तस्वीर देख्न सकिन्छ । सेतो रंगको उक्त घरको छानो कालो रंगको छ । आँगनमा एउटा स्विमिङ पुल पनि देखिन्छ ।

‘पुटिनको कन्ट्री कटेज’ नाम दिइएको सो घरमा प्राचीन युनानी देवी देवताका प्रतिमा, संगरमर्मरले बनेका शौचालय र शौचालयभित्र ८ सय ५० डलर पर्ने इटालियन ट्वाइलेट ब्रस, ट्वाइलेट पेपर राख्नका लागि १ हजार २ सय ५० डलर पर्ने ट्वाइलेट पेपर होल्डर पनि राखिएको छ ।

पुटिनको घरमा इटालीको विलासी ब्राण्ड चिट्टेरियो आटेनाले निर्माण गरेको लुई सोह्रौँ शैलीको सोफा र डाइनिङ रुममा अरु फर्निचरहरु पनि रहेका छन् । फर्निचरकै कुरा गर्दा पुटिनको निजी मधुशालामा मात्रै ५४ हजार डलर पर्ने बार टेबल रहेको छ ।

साथै सो घरको रेखदेख गर्न उनले ४० जना कर्मचारी पनि खटाएका छन् । ती कर्मचारीको तलबमै हरेक वर्ष २० लाख डलर खर्च हुने दाबी गरिएको छ ।

पुटिन औपचारिक भ्रमणका लागि इल्युशिन आई एल ९६ जहाज चढ्छन् । चार इन्जिन जडित यो जहाजमा सिसाको ककपिट, फ्लाई बाइ वायर नियन्त्रणको व्यवस्था छ । फ्लाइङ क्रेमलिन नाम दिइएको जहाजको भित्री भाग नवशास्त्रीय शैलीमा डिजाइन गरिएको छ ।

जहाजभित्र पुटिनका लागि निजी कार्यालय, बैठक र सभा कक्षहरु, ठूलो डाइनिङ रुम, मधुशाला, स्नान कक्ष र मेडिकल इमर्जेन्सीका लागि औषधि कक्षहरु पनि रहेका छन् । साथै यस जहाजमा राष्ट्रपतिको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विभिन्न विशेषता पनि रहेका छन् ।

जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (राडार) जाम गर्नका लागि विशेष कोटिङ गरिएको छ । यद्यपि यसमा जहाजमा रहेका सुरक्षा संयन्त्रलाई गोप्य राखिएको छ ।

पुटिन चढ्ने जहाजका तीन वटा नक्कल छन् । पुटिन यही जहाजमा छन् भनेर दुश्मनलाई थाहा नहोस् भन्ने उद्देश्यले तीन वटा जहाज राखिएको बताइन्छ ।

पुटिन कहिलेकाहीँ लडाकु विमान पनि उडाइरहेका हुन्छन् । त्यस्तै, उनी मोटर स्पोट्र्समा निकै रुचि दिने गर्छन् । त्यो बाहेक पुटिन आइस हक्की खेलमा पनि सहभागी हुँदै आएका छन् । रुसी सञ्चारमाध्यमले उनका यस्ता अनेक गतिविधिबाट उनलाई निकै हट्टाकट्टा व्यक्तित्वका रुपमा प्रस्तुत गर्ने गरेको छ ।

पुटिन रेल चढ्न पनि उत्तिकै रुचाउँछन् । हालै प्रकाशित तस्वीरहरुमा पुटिनले २२ वटा डिब्बा भएको रेल चढ्ने गरेको दाबी गरिएको छ । रुसको विशाल भू–भागमा यात्रा गर्नका लागि प्रयोग गर्ने रेलभित्र पुटिनका लागि व्यायामशाला, स्किनकेयर र मानिसलाई बूढो नदेखाउने उद्देश्यले गरिने मसाजका लागि पार्लरको व्यवस्थासमेत छ । साथै, रेलमा विलासी टर्किस स्नान कक्ष, विभिन्न सुविधाले भरिपूर्ण बेडरुम, डाइनिङ रुम र फिल्म हेर्नका लागि थिएटरको पनि सुविधा छ ।

यस रेलका झ्यालढोका बुलेटप्रुफ छन् भने रेलको बाहिरी तहमा भारी कवच जडान गरिएको छ । भैपरी आउने अवस्थाका लागि रेलभित्रै औषधि कक्ष र चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको पनि व्यवस्था गरिएको छ ।

यस रेललाई विकास गर्नका लागि ७ करोड ४० लाख डलर खर्च भएको हुनसक्ने अनुमान गरिएको छ । रेखदेख र मर्मत सम्भारका लागि रेलमा हरेक वर्ष १ करोड ५८ लाख डलर छुट्टै खर्च हुन्छ ।

उनी कुकुर खुबै मन पराउँछन् । उनले घरमा केही कुकुर पालेका छन् भने विदेशी मुलुकका नेताहरुले पनि उनलाई कुकुर उपहार दिने गरेका छन् । त्यसबाहेक उनले कुकुरलाई अरुलाई तर्साउनका लागि पनि प्रयोग गर्दै आएका छन् ।

यसै क्रममा सन् २००७ मा तत्कालीन जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटवार्ता गर्ने बेला मर्केल कुकुरसँग निकै डराउने जान्दाजान्दै पनि पुटिनले कुकुर कोनीलाई पनि सँगै ल्याएका थिए ।

पुटिन महङ्गा घडीका पनि सोखिन हुन् । एउटै घडीको भाउ उनको आधिकारिक तलबभन्दा ६ गुणा बढी छ । पुटिन प्रायःजसो ६० हजार डलर पर्ने पटेक फिलिपेको पर्पेचुअल क्यालेन्डर घडी लगाउने गर्छन् ।

तर उनीसँग ५ लाख डलर पर्ने ए. लान्ज एण्ड शोन टर्बोग्राफ पनि रहेको बताइन्छ । घडीमा १८ क्यारेट सुन रहेको छ भने घडीका डायल चाँदीको छ । त्यस्तै, उनको घडीको फित्ता गोहीको छालाले बनेको छ । घडी नबिग्रियोस् भन्ने हेतुले उनी आफ्नो दाहिने हातमा घडी बाँध्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?