मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

नाटकमा दर्शकको क्रेज

सिनेमामा दर्शकको खडेरी, नाटकले शो बढाउँदै

काठमाडौं– नेपाली चलचित्रले दर्शक पाउन सकस परिरहेका बेला नाटक घरमा भने ‘गुल्जार’ छाएको छ ।

एकाध चलचित्र बाहेक नेपाली चलचित्रमा लामो समयदेखि खासै ठूलो क्रेज स्थापना हुन सकेको छैन । काठमाडौंमा मञ्चन भइरहेका नाटकले भने निरन्तर दर्शकको साथ पाएका छन् ।

यसका साथै अहिले देशका विभिन्न स्थानमा नाटकघर निर्माण गर्ने क्रम समेत बढेको छ भने चलचित्र क्षेत्रमै पनि यसैका उत्पादनहरुको उपस्थिति केही वर्षयता बाक्लिएको छ ।

हाल काठमाडौँ उपत्यकामै नौ ओटा थिएटर हलहरु सञ्चालनमा रहँदा काठमाडौँ बाहिर पनि थिएटरकर्मीले आफ्नै लगानीमा थिएटर हल सञ्चालनमा ल्याउने क्रम जारी छ ।

कुनै समय नाटक हेर्न सरकारी नाचघर नै जानुपर्ने अवस्थाको अन्त्य भइसकेको छ भने नाटक घरका मञ्चहरु निरन्तर सुचारु भइरहेका छन् ।

भारतमा अथवा दक्षिण एसियासी देशको नाटकको अवस्थालाई हेरेर तुलना गर्ने हो भने त्यहाँ नाट्य समूहका आ–आफ्नै थिएटर हल सञ्चालनमा ल्याएका उदाहरण एकदमै कम रहेको रंगकर्मी सुनिल पोखरेल बताँउछन् । उनका अनुसार नेपाली रंगमञ्चको संख्यात्मक रुपमा ‘उभार’ को संकेत गर्दा उनीहरू भारतीय नाट्यकर्मी नै छक्क पर्ने गर्छन् ।

दक्षिण एसियामा नेपाली रंगमञ्चले स्थान पाउनु सुखद कुरा भएको पोखरेल बताउँछन् ।

हुन त नाटक हुँदै सिनेमा छिर्ने ‘बलिउड’ परम्परा नेपालमा समेत बढ्दो छ । जसले समेत कलाकार बन्न चाहनेहरुलाई रंगमञ्चतर्फ आकर्षित हुने गरेको कतिपय नाट्यकर्मीको तर्क छ । थिएटरले चलाउने प्रशिक्षणमा आउने धेरै प्रशिक्षार्थी नाटकमै जीवन बिताउन नभई कलाकार बन्न मात्र आउने गरेको उनीहरुको बुझाइ छ ।

हुन पनि दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, दिया मास्के सरिता गिरी, प्रमोद अग्रहरी लगायतका कैयन् कलाकार नाट्य पृष्ठभूमिबाट उदाएका हुन । यी कलाकारको जीवन्त अभिनयले नेपाली सिनेमाको भाषा र भाष्य नै बदलिएको छ भने यस्ता उदाहरण अरु धेरै छन् ।

रंगकर्मी तथा कलाकार प्रमोद भने पछिल्लो समय समाज बुझ्न चाहनेहरु नाटक हेर्न आउने गरेको बताउँछन । नाटकलाई बुझेपछि जीवन जिउने तरिकामै फरक आउने बताउने उनी एकचोटि तानिएपछि त्यसको ‘लत’ नै लाग्ने अनुभव सुनाउँछन् ।

‘नाटक हेर्ने बानी परेका दर्शकलाई अर्को नाटक पनि हेर्ने लत लागेको हुन्छ । नाटकले दिने सन्देश र नाटकको प्रस्तुति हेरेर पनि दर्शक नाटकतर्फ आकर्षित हुनुभएको छ,’ उनी भन्छन् ।

सिधै फिल्ममा पुगेका कलाकारलाई समेत एकपटक ‘थिएटर’ नगरी नहुने रहेछ भन्नेमा पुग्नु सकारात्मक भएको बताउने प्रमोद कसैले सिक्न खोजेको कुरालाई अन्यथा भन्न नमिल्ने बताउँछन् ।

त्यस्तै आफूले हेरेको नाटकका बारेमा साथीभाइ, घर परिवारलाई सुनाउने चलन बढ्दा नाटकको ‘माउथ पब्लीसिटी’ पनि बढिरहेको उनको तर्क छ । नाटक निमार्णको बजेट अभाव नहुनु, कलाकार बाँच्न सक्ने अवस्था बन्नु, धमाधम नाटकघरहरु खुल्ने क्रम बढ्नुले नेपाली रंगमञ्चमा अहिले छुट्टै क्रेज स्थापना भएको भन्न डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यता मण्डला थिएटरका संस्थापक सदस्य तथा रंगकर्मी सोमनाथ खनाल पनि अहिले नाटक हेर्न आउनेहरुको संख्या बढिरहेको बताउँछन् । नाटकको विषयवस्तु हेरेर ‘हाउसफुल’ हुने गरेको बताउने खनाल यो वृद्धि ‘राम्रै’ भएको स्वीकार्छन् ।

कति छन् नेपालमा नाटकघर?

देशभर गरेर अहिले लभगभग १५ ओटा नाटकघरहरु सञ्चालनमा छन् । जसमध्ये ९ ओटा काठमाडौँ उपत्यकामै छन् ।

नाट्यकर्मी सोमनाथ खनाल भन्छन्, ‘केही थिएटर सक्रिय नभए पनि नेपालमा कुनै न कुनै नाटकहरु मञ्चन भइरहेका छन्, ती नाटकले राम्रो प्रतिक्रिया पाइरहेका छन् ।’

काठमाडौँमा मण्डला, शिल्पी, कौशी, पुरानो घर र सर्वनामले भने नियमित आफ्नो गतिविधि गरिरहँदा अरु नाटकघरमा पनि समय–समयमा नाटक मञ्चन हुँदै आएको खनाल बताउँछन् ।

यता पूर्वमा मोरङको विराटनगरमा आरोहण गुरुकुल, मोरङकै ग्रामथानमा रहेको झोराहाट नाट्यघरले नाटक मन्चन गर्दै आएका छन् । त्यस्तै झापाको कदम थियटर, पोखराको पोखरा थिएटर लगायतले पनि नाटकका क्षेत्रमा काम गर्दै आएका छन् ।

यसका अवाला छिटपुट रुपमा अरु समूहले नाटक निर्माण र मञ्चन गर्दै गर्दा नयाँ थिएटर खोल्न लागि पर्नेहरु पनि छन् ।

पोखरामा रंगकर्मी अनुप बरालको पहलमा ‘हंसध्वनि’ नाटकघर निर्माणधीन चरणमा छ । त्यस्तै रंगकर्मी घिमिरे युवराज लगायत शिल्पी थिएटर समूहको पहलमा ३० ला रुपैयाँ लागत अनुमानमा मोरङ सुन्दरहरैंचा आठ, सलकपुरमा ‘सुन्दरहरैंचा नाट्य केन्द्र’को निर्माण कार्य सुरु भइसकेको छ । जहाँ चार सय दर्शक बस्न मिल्ने मुक्त रंगमञ्च (एप्पी थिएटर) को परिकल्पना गरिएको छ ।

काठमाडौँमा कुन ‘थिएटर’मा कस्ता नाटक मञ्चन भए ?

थापागाउँमा रहेको मण्डला थिएटरमा अहिले नाटक ‘मासिन्या’ मञ्चन भइरहेको छ । तामाङ समुदायको उत्पीडनलाई प्रस्तुत गरिएको नाटकको लेखन राजु स्याङ्तान, राबत र लक्ष्मी रुम्बाको छ । नाटकको निर्देशन भने बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । यसअघि मण्डलामा ‘पगला घोडा’ र ‘गुलाब’ नाटक मञ्चन गरिएको थियो ।

जसमध्ये पगला घोडामा बादल सरकारको लेखन र घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशन रहेको छ । नाटकमा अभिनेता प्रमोद अग्रहरी, अभिनेत्री मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायत कलाकारहरुले अभिनय गरेका थिए ।

यही नाटकमार्फत मलिका महतले रंगमञ्चमा डेब्यु गरेकी हुन् । ‘गुुलाफ’मा भने दिया मास्के, सरिता साहको अभिनय थियो । रंगकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको थियो ।

त्यस्तै कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा हालै मात्र नाटक ‘डिपाचर’को मञ्चन सकिएको छ । नरेन भट्टराईको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन कृष्ण खड्काले गरेका थिए । यस अघि सर्वनाममा १९औं ब्याचले निर्माण गरेको ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मन्चन भएको थियो । रसिक राज र शीतल थोकरको नाटकको परिकल्पना तथा निर्देशनमा बनेको सो नाटक पुस ८ देखि १५ गतेसम्म ८ दिन मञ्चन भएको हो ।

त्यस्तै बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शुक्रबारदेखि चुलाचुली रंगमञ्चकको प्रस्तुतिमा नाटक ‘झोडा’ मञ्चन हुने भएको छ । गणेश रसिकको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन चेतन आङथुपोले गरेका छन् । नाट्य रुपान्तरण भने सुमन लिङ्देनको छ ।

यता सिनामंगलमा रहेको रंगमञ्च पुरानो घरमा मञ्चन भएको पछिल्लो नाटक ‘मोन्टाज’ हो । मंसिर २२ देखि पुस ८ सम्म मञ्चन भएको उक्त नाटक रंगकर्मी सुलक्षण भारतीले लेखन तथा निर्देशन गरेका हुन् । कौशी थिएटर टेकुमा पनि पुस ४ गतेसम्म ‘बोधि–सत्व’ सांस्कृतिक नाटक मञ्चन भएको थियो ।

नाटकको लेखन, निर्देशन तथा परिकल्पना चन्द्रमान मुनिकारले गरेका थिए । यसरी समग्रमा हेर्दा नाटकघरमा नियमित रुपमा नाटक मञ्चन भइरहेको देखिन्छ । नियमित मञ्चन दर्शकको उपस्थिति पनि बाक्लै देखिएको छ । नाटकघरमा आगामी नाटकहरु कुन–कुन आउने भनेर थिएटरहरुले लगातार नाटकका पोस्टरहरु सार्वजनिक गरिरहेका छन् भने अन्य साहित्यका आख्यान र काव्य जस्ता क्षेत्रमा स्थापित साहित्यकार समेत नाटक लेखनमा हौसिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?