मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला सिर्जनामा दिक्तेलको सौन्दर्य

काठमाडौँ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक सौन्दर्यलाई समेटेर कला प्रदर्शनी शुरु गरेको छ ।

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शुरु गरिएको प्रदर्शनीमा खोटाङको प्रकृतिसँगै विशेषतः राई, तामाङ, शेर्षा, मगर, गुरुङ, नेवार, क्षेत्री तथा बाह्मण समुदायको सांस्कृतिक पाटोलाई कलामा चित्रण गरिएका छन् ।

खाेटाङका हरियाली वनपाखा, कुहिरो छिचोलेर आफ्नो मुहार देखाउँदै गरेका हिमाल र पहाडहरु, बग्दै गरेको नदी, मुन्धुम र साकेलामा रमाइरहेका दिक्तेल र बस्तीहरु कलामा प्रतिबिम्बित भएका छन् । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ शीर्षक राखिएको प्रदर्शनीमा अधिकांश दिक्तेलमै बसेर बनाइएका कलाकारहरुले सिर्जना गरेका १ सय ७० वटा हारहारीका चित्रहरु प्रदर्शन गरिएका छन् ।

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई जोड दिएर पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले कलामार्फत् दिक्तेललाई बोकेर काठमाडौंसम्म ल्याइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । उनका अनुसार जिल्लाको प्राकृतिक सुन्दरतामा पर्यटकीय असाध्यै सम्भावनाहरु छन् ।

त्यहाँको भौगोलिक, ऐतिहासिक, धार्मिक तथा जीवनशैली जस्ता पक्षहरु उत्तिकै सुन्दर छन् । नगरपालिकाका सबै वडाहरु र जिल्लाका अन्य स्थानीय तहका तस्वीरहरु छनोट गरी प्रत्यक्ष कार्यशाला गरेर कलाकृति तयार पारिएको भट्टराईले सुनाए । नगरकै पहलमा गएको असोज १७ गतेदेखि २१ गतेसम्म कार्यशाला गरिएको थियो ।

नेपाली आधुनिक चित्रकला फाँटका दिग्गज स्रष्टा लैनसिंह वाङ्देलको जन्म दार्जिलिङमा भएपनि उनको पूर्ख्याैली थलो खोटाङ हो । उनको सिर्जनाको सम्मान स्वरुप पनि कला प्रदर्शनी महत्वपूर्ण रहेको भट्टराईको भनाइ छ ।

आयोजकका अनुसार प्रदर्शनीले खोटाङको पहिचान र विशेषता वर्णन गर्दै सिंगो देशलाई पर्यटनको क्षेत्रमा चिनाउन सकिने छ । अर्काेतिर जिल्लाको किरात सभ्यता र मुन्धुम संस्कृतिलाई समेत नजिकैबाट बुझाउन सघाउ पुग्ने नगर प्रमुख भट्टराईको विश्वास छ ।

फागुन १७ गते सम्म चल्ने प्रदर्शनीमा नेपालसहित भारत, भुटान, श्रीलंका, चाइना, क्यानडा, जापान, स्कटल्याण्ड लगायत ४८ देशका कलाकारहरुका सिर्जनाहरु समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?