मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

रोमान्टिक गजलकार प्रकट पंगेनी ‘शिव’ को त्यो अधुरो प्रेम

‘प्रेम हुनलाई न उमेरले छेक्छ, न विवाहले रोक्छ’

काठमाडौँ– लोकप्रिय गजलकार प्रकट पंगेनी ‘शिव’ लाई ‘प्रणय दिवस’ विशेष लाग्छ । यो मौसममा उनी गजल वाचनका कार्यक्रममा समेत व्यस्त हुन्छन् । प्रकट प्रणय दिवसमा मात्र होइन, वर्षका हरेक दिनलाई प्रणयमय बनाउने कोशिश गर्छन् ।

आफ्ना सिर्जनामार्फत प्रणय भाव व्यक्त गर्ने प्रकट प्रेम कहिल्यै नमासिने तर्क गर्छन् । उनी भन्छन्, ‘मान्छेका विभिन्न भावना हुन्छन्, सबै भावना क्षणिक हुन् तर प्रेम जीवन्त छ ।’

उनका अनुसार सुख, दुःख, विछोड, पीडा यी सबै क्षणिक हुन् । प्रेम भने कहिल्यै नास हुँदैन । र, सारा संसार नै प्रेमको भरमा अडिएको छ ।

‘हुन त नेपालमा मनाइने कृष्ण जन्माष्टमी पनि प्रणय दिवस नै हो तर हामीले १४ फेब्रुअरीलाई पनि प्रेम दिवसमा रुपमा मनाउन थाल्यौँ,’ प्रकट जोय नेपालसँग कुराकानीमा सुनाउँछन्, ‘प्रेम गर्नेका लागि हरेक दिन प्रणय दिवस हो, माया गर्न कुनै उत्सव कुर्नुपर्दैन ।’

त्यसो त उमेरले साठी कटिसकेका प्रकटलाई विछोडका प्रेम कथाले बढी छुन्छ । झण्डै १५ सय गीत रचना गरेका प्रकटका ५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । तीमध्ये ‘तगारो छेउ आएर पनि’ लगायत केही गीत निकै लोकप्रिय छन् । उनका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमारदेखि मदनकृष्ण श्रेष्ठले समेत स्वर भरिसकेका छन् ।

यति धेरै गीत लेखेका प्रकटलाई धेरैले भने गजलकारका रूपमा चिन्छन् । त्यसमा पनि श्रृङ्गारिक गजल बढी लेख्ने भएकाले उनलाई ‘प्रणय गजलकार’ पनि भन्ने गर्छन् फ्यानले ।

प्रकट भन्छन्, ‘मैले गीत लेखेँ, कविता लेखेँ, मुक्तक लेखेँ तर धेरैले गजलकै माध्यमबाट चिन्नुहुन्छ ।’

उनले कैयन् एकल गजल वाचनका कार्यक्रम गरिसकेका छन् । उनका गजल सुन्ने धेरैले भन्छन्, वान्स मोर ।

गजलप्रेमीका लागि अब उनी गजलका पर्याय भइसकेका छन् । उनी आफ्ना गजलमा ‘श्रृङ्गारिक रस’लाई बढी प्राथमिकता दिन्छन् ।

त्यसैले पनि कतिपयले उनलाई गजलमा विसङ्गति ल्याएको भनेर विरोध गर्छन् । तर, प्रकट भने आफूले गजलमा यौनको विषय उठान गरे पनि विसङ्गति नभित्र्याएको तर्क गर्छन् ।

‘मलाई कहिलेकाहीँ छाडा गजल लेखेको भन्ने आरोप पनि लाग्छ, उहाँहरुले त्यस्तो आरोप नबुझेर लगाउनुभएको हो,’ प्रकट भन्छन्, ‘मेरा गजल राम्रोसँग पढ्नुभयो भने मैले नारीलाई होच्याएर कुनै गजल नै लेखेको छैन, प्रेम र यौन त सृष्टिको अपरिहार्य कुरा हो ।’

कहिलेकाहीँ नजिकका साथीहरुले उनलाई भन्छन्, ‘अब त तपाईं बूढो भइसक्नुभयो । के यस्ता गजल लेख्नुहुन्छ ?’

‘तन बूढो भए पनि मन त अझै जवान छ नि, मेरो भावना त उही छ, अनुहार चाउरी परे होला तर लेख्न त के छ र ?,’ कुराकानीका सिलसिलामा उनी मुस्कुराउँदै सुनाउँछन् ।

प्रकटले आफ्ना सिर्जनामा धेरै दोहोर्‍याउने नाम हो, अन्ना ।

पोखरेली साहित्यकारमाझ अन्नाका धेरै किस्सा छन् । आखिर प्रकटले कसलाई अन्ना भनेर सम्बोधन गर्छन् त?

हामीले प्रकटलाई नै सोध्यौँ, ‘को हुन् ती अन्ना ?’

उनी मुस्कुराउँदै सुनाउँछन्, ‘मेरी भूतपूर्व प्रेमिका, भूतपूर्व पनि नभनौँ, कुनै समयकी मेरी प्रेमिका ।’

***

पचासको दशकतिरको कुरा हो । पोखराका उनका समकालीन साथीहरु सरुभक्त, दीपक समीप, तीर्थ श्रेष्ठ, उषा शेरचन, विजय बजिमय, विनोद गौचन लगायतसँग उनको बाक्लै भेट हुन्थ्यो । उनी त्यतिबेला पृथ्वीनारायण क्याम्पसमा पढ्थे । त्यतिबेला क्याम्पसमा पनि साहित्यतर्फ झुकाव भएका साथीहरुसँग भेटघाट बाक्लिएको थियो । अझ, त्यो समयमा गजल लेख्नेलाई त साहित्यकार नै नमान्ने साहित्यकार पनि थुप्रै थिए ।

त्यही समयताका प्रकटको एक युवतीसँग भेट भएको थियो । आफ्ना सिर्जनामा उनले ती युवतीलाई ‘अन्ना’ भनेर सम्बोधन गर्छन् ।

‘क्याम्पस पढ्ने बेला मेरो एक कविता प्रेमी युवतीसँग प्रेम बस्यो, ती युवतीसँग हामी घुम्न जान्थ्यौँ, भेट हुन्थ्यो, उनी मेरा कविताहरु सुन्थिन्,’ प्रकट आफ्ना पुराना कुरा स्मरण गर्दै सुनाउँछन्, ‘दुई वर्षपछि हाम्रो प्रेम त छुट्यो तर म उनलाई भूतपूर्व भन्न चाहन्नँ ।’

प्रकटका अनुसार ती युवतीसँग उनी निकै गहिरो प्रेममा रहे । औधी माया गर्थे उनलाई । तर, ती युवतीको परिवारले उनको बिहे अन्तै गरिदिए । विछोड भएपछि प्रकटले ती युवतीका नाममा कैयन् गजल लेखे । कविता कोरे ।

त्यो सिलसिला अझै पनि जारी छ ।

‘प्रेम कहिल्यै मर्दैन, मलाई उनको अहिले पनि माया लाग्छ, तर उनको जीवनमा अप्ठेरो पर्ला भनेर कहिल्यै मैले उनका बारेमा खुलाउँदिनँ,’ प्रकट सुनाउँछन् ।

उनी आफूले कोरेका प्रणयका जति पनि गजल, मुक्तक तथा कविता छन्, ती सबै अन्नाकै सम्झनामा लेख्ने गरेको बताउँछन् । उनका अनुसार गजल र कविताका पात्रमा उनले ‘अन्ना’ को प्रतिबिम्ब देख्छन् ।

साँझमा दियो बालिराख्यौ को आउँदै छ आज
हातका औँला चालिराख्यौ को आउँदै आज
हिजो अस्ति उक्किएका घरका छेउकुना
बिहानदेखि टालिराख्यौ को आउँदै छ आज

प्रकटका अनुसार उनले यस्ता श्रृङ्गारिक गजलहरु तीनै अन्नाका नाममा समर्पण गरेका छन् । तर उनलाई यो पनि थाहा छैन कि, अन्नाले ती गजल सुनेकी/पढेकी छिन् कि छैनिन् । उनी कहाँ छिन्, के गर्दै छिन्? कस्ती भइन्? यी सबै प्रकटलाई थाहा छैन, यत्ति चाहिँ थाहा छ, अन्नालाई मैले अहिले पनि प्रेम गर्छु । उनलाई सम्झेर नै सिर्जना कोर्छु । उनको बिहे बुटवलतिर भएको हो ।

हुन त प्रकट ‘अन्ना’ सँग प्रेममा पर्नुअघि नै विवाह बन्धनमा बाँधिइसकेका थिए । उनी वि.सं. २०२६ सालमा नै इन्दुसँग मागी बिहे गरेका थिए ।

हामीले सोध्यौँ, ‘विवाहित युवक पनि त्यसरी प्रेममा पर्नुभयो?’

‘के गर्नु, प्रेम हुनलाई यस्ता कुराले मतलब नै नगर्ने रहेछ, अहिले पनि म उनलाई प्रेम गर्छु, त्यो निस्वार्थ प्रेम हो, केवल एउटा अनन्त भावना हो ।’

अहिले पनि साथीभाइले प्रकटलाई भन्छन्, ‘उमेरले नेटो काटिसक्यो, अझै पनि के प्रेम प्रेम भनेर बस्छस् ?’

उनी भन्छन्, ‘कहाँ बूढो भइयो त? प्रेम गर्न पनि उमेरले छेक्छ र? यो संसार नै प्रेममा अडिएको छ त !’

प्रकटका चर्चित दुई गजल:

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुनसाबुनलाई अङ्ग अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसीजुन
गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

***

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो, भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?