मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरेक दिन थपिँदै फेसबूक ‘ह्याक’ पीडित, कसरी सुरक्षित राख्ने आफ्नो खाता?

काठमाडौँ– पछिल्ला केही महिनायता सामाजिक सञ्जाल फेसबूक ह्याकरको पहुँचमा पुग्ने गरेका रिपोर्टहरु धेरै नै सार्वजनिक भइरहेका छन् ।

तपाईंले आफ्नो फ्रेण्ड लिस्टमा भएका साथीमध्ये कतिपयका फेसबूक एकाउन्ट (खाता) ह्याक भएको ख्याल गरिरहनुभएको होला ।

ह्याकरले फेसबूक खाता ह्याक गरेर ती खाताबाट क्रिप्टोकरेन्सीका विज्ञापन गर्ने गरेको पाइन्छ । कुनै ह्याकरले त्यस्ता फेसबूक खाता आफ्नो नियन्त्रणमा लिई अश्लील तस्वीरहरु प्रयोग गर्ने गर्छन् ।

नेपाली ह्याकरले तपाईंको या आफन्तको फेसबूक एकाउन्ट ह्याक गर्न सफल भए तपाईंले उनीहरुले च्याटमार्फत तपाईंका साथीभाइसँग च्याट गरेर पैसा आवश्यक परेको भन्दै ठगी समेत गर्न सक्छन् । फेसबूक खाता ह्याक भयो भने तपाईंको एकाउन्ट दुरुपयोग हुने धेरै सम्भावना हुन्छ ।

त्यसैले आफ्नो फेसबूकलाई सुरक्षित तरिकाले प्रयोग गर्न आवश्यक हुन्छ । फेसबूक प्रयोग गर्दा तपाईंले धेरै नै ध्यान दिनुपर्ने हुन्छ ।


कसरी हुन्छन् फेसबूक एकाउन्ट ह्याक?

ह्याकरले फेसबूकको सर्भर नै ह्याक गरेर तपाईंको एकाउन्ट ह्याक गरेका होइनन् । उनीहरुले यसरी फेसबूक नै ह्याक गरेर तपाईंको खाता आफ्नो पहुँचमा पुर्‍याउन निकै गाह्रो छ । किनकि फेसबूकको सुरक्षा त्यति कमजोर छैन ।

यस्तो अवस्थामा पनि दैनिकजसो फेसबूक ह्याक हुनुका कारण ह्याकरहरुले फिसिङ साइट(कुनै क्लिक गर्ने लिंक)बाट तपाईंको फेसबूक पासवर्ड पत्ता लगाउनु हो । तपाईंले कुनै प्रलोभन या खुल्दुलीका कारण कसैले पठाएका अनावश्यक लिंकहरु खोल्नुभयो भने तपाईंको एकाउन्ट ह्याक हुने जोखिम हुन्छ ।

जस्तो कि, यदि तपाईंलाई कसैले ‘बधाई छ, तपाईंले २५ लाख रुपैयाँ जित्नुभयो, पैसा पाउनका लागि यो लिंकमा क्लिक गर्नुहोस्’ भन्दै म्यासेज पठायो । अब त्यो लिंक क्लिक गर्दा अर्को पेज खुल्छ । जुन पेज देख्दा फेसबूकजस्तै देखिने गरी बनाइएको हुन्छ ।

फेसबूकजस्तै साइट देखेर त्यहाँ दिइएको फाराममा आफ्नो फेसबूकको पासवर्ड इन्टर गर्नुभयो भने ह्याकरलाई तपाईंको पासवर्ड थाहा हुन्छ । अहिले सबैभन्दा धेरै ह्याक भइरहेको कारण यही हो । अझ कतिले त तपाईँको मोबाइल डिभाइस या कम्प्युटरमा भाइरसहरू छिराएर तपाईँका व्यक्तिगत डाटा चोरी गरिरहेका हुन्छन् ।

धेरैजसो भने ह्याकरहरुले विभिन्न प्रलोभन देखाई पठाएका लिंक क्लिक गर्दा धेरैका फेसबूक एकाउन्टहरु ह्याक भइरहेका हुन्छन् ।

कतिपयले ह्याकरले त्यस्ता लिंक इमेलमार्फत पनि पठाउँछन् भने कति इमेल हेर्दा पनि ठ्याक्कै वास्तविक जस्तो लाग्ने गरी लेखिएका हुन्छन् । त्यसैले धेरै फेसबूक प्रयोगकर्ता झुक्किन्छन् ।

पछिल्लो समय ह्याकरले ‘फेसबूक पेजले फेसबूकको नीति उल्लंघन गरेको, अब पेज बन्द हुने’ भन्ने आशयको सन्देश र लिंक पठाएर पनि फेसबूक पेज र खाता ह्याक भइरहेको पाइन्छ ।

यसबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको त्यस्ता लिंकहरुको सही पहिचान गरी आधिकारिक लिंकहरु मात्र क्लिक गर्नु हो । यदि आफूलाई शंका लागेको खण्डमा त्यस्ता लिंकहरुमा पासवर्ड इन्टर गरियो भने पनि तत्काल पुनः पासवर्ड परिवर्तन गर्नुपर्छ ।

कुनै ह्याकरले ओटीपी मागेर, प्रयोगकर्ताको इमेल आइडीमा आफ्नो पहुँच बनाएर पनि फेसबूक एकाउन्ट ह्याक गर्ने गरेको पाइन्छ । तर, धेरै नेपाली प्रयोगकर्ताको फेसबूक एकाउन्ट ह्याक हुनुको मुख्य कारण भनेको विभिन्न प्रलोभनमा फिसिङ लिंकहरु खोल्नु नै हो ।

आफ्नो फेसबूक खाता कसरी जोगाउने?

प्रयोगकर्ताले फेसबूक खाता खोले पनि धेरैले त्यसको सुरक्षालाई भने खासै ख्याल गरेको पाइँदैन । त्यसो हुँदा यदि पासवर्ड बिर्सिहाले पनि त्यसलाई रिकभर गर्न गाह्रो हुन्छ ।

प्रयोगकर्ताले फेसबूकमा सकेसम्म अरुले सहजै अड्कल गर्न नसक्ने पासवर्ड राख्नुपर्छ । अर्को कुरा पासवर्ड पनि सबैतिर प्रयोग गरेको नराखेर फरक पासवर्ड राख्नुपर्छ । यसो गर्दा कुनै कारण एउटा सामाजिक सञ्जालको खाता ह्याक भयो भने पनि अर्को जोगिन्छ ।

ह्याकरहरुले फेसबूकमा मात्र नभएर अन्य सामाजिक सञ्जाल जस्तै ट्वीटर, इन्स्टाग्राम ह्याक गर्न सक्छन् । त्यसरी ह्याक हुँदा अर्को सामाजिक सञ्जाल पनि ह्याक हुने सम्भावना हुन्छ ।

यस्तै प्रयोगकर्ताले फेसबूकको टु फ्याक्टर अथेन्टिकेसनको पनि प्रयोग गर्नुपर्छ । यसो गर्दा कसैले यदि पासवर्ड थाहा पाइहाल्यो भने पनि लगइन गर्न पाउँदैन । त्यसका लागि मोबाइल या अन्य डिभाइसमा सहमति दिइसकेपछि मात्र फेसबूक खाता खोलिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर पनि बेलाबेलामा अपडेट गराइरहनुपर्छ । ताकि, ह्याक भइसकेको खण्डमा पनि त्यसलाई पुनः रिकभर गर्न सकिन्छ ।

यदि हामीले आफ्नो मोबाइल कुनै एपहरु इन्स्टल गर्‍यौँ भने पनि ती एपका माध्यमबाट भाइरस छिरेर प्रयोगकर्ताको मोबाइलमा पहुँच बनाउन सक्छन् । त्यसैले एप इन्स्टल गर्दा पनि उक्त एप कति विश्वसनीय छ भनेर त्यसबारेमा विचार पुर्‍याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?