मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालस्थित भारतीय राजदूतावासले मनायो ७५औँ गणतन्त्र दिवस

काठमाडौं – भारतको ७५औँ गणतन्त्र दिवस नेपालमा पनि धुमधामका साथ मनाइएको छ । नेपालस्थित भारतीय राजदूतावासले आफ्नो ७५औँ गणतन्त्र दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।

सोही अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरेका थिए। त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

भारतीय राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि, भारतको अध्यक्षतामा सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिसनबारे चर्चा गरिन् ।

सोही अवसरमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे। सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरे।

कार्यक्रममा दूतावासले ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो ।

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैँ चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?