मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

काठमाडौं – पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको छ ।

आगामी फागुन ३ देखि १३ गतेसम्म चल्ने महोत्सवको ७४औँ संस्करण हुँदै गर्दा पहिलोपटक नेपाली चलचित्रले प्रवेश पाएको हो । यस विधामा कूल २० चलचित्र प्रतिस्पर्धामा रहेका छन् ।

निर्देशक भामले यो चलचित्र पूरा गर्न आठ वर्ष लागेको बताए। “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल होजस्तो लाग्छ, सहयात्री सबैलाई धन्यवाद छ, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले भने ।

उनले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखेता पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताए ।

उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमानले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेखेका छन्। डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गरेका छन् ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उनको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार ९अवार्ड० जित्न सफल भएको थियो ।

आठ वर्षमा ४४ मस्यौदा ‘ड्राफ्ट’ लेखेर चलचित्रलाई अन्तिम रुप दिइएको बताउँदै निर्देशक भामले दोस्रो चलचित्रमार्फत इतिहास बनाए । यसले अन्य अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रतिस्पर्धा गर्ने उनले बताए । यसको नेपाल प्रदर्शन तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?