मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ ।

बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । 

भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपर जोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यस वर्ष सुन्तला   बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए । 

करिब एक सय घरपरिवारले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेका जानकारी दिएका उनले तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने बताए । 

सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको जनाइएको छ ।

‘यहाँ उत्पादन भएका सुन्तला किसान आफैले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ’, उनले भने, ‘विशेष गरी यहाँका सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ ।’

स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए ।

नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप पाँच–छ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने उनको दावी छ । 

कोदोखेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ । सुन्तला खेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?