काठमाडौँ— दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले पहिलो पटक स्मार्ट रिङ अर्थात् स्मार्ट औँठी निर्माण गर्ने भएको यसअघि नै खुलासा भैसकेको थियो ।
सामसङले आफ्नो नयाँ पुस्ताको फ्ल्यागशिप ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनहरू अनावरण गरेसँगै दक्षिण कोरियाली ब्रान्ड सामसङले आफ्नो पहिलो स्मार्ट रिङले पनि सबैलाई चकित पारेको छ ।
यद्यपि, उक्त एसेसरीको झलक दिने र सामसङ हेल्थ समर्थन पुष्टि गर्ने बाहेक कम्पनीले ग्यालेक्सी रिङको बारेमा अन्य थप जानकारीहरू भने सार्वजनिक गरेको थिएन ।
तर एक कन्जुमर टेक विश्लेषक एभि ग्रीनगार्टले भने यस सम्बन्धी केही जानकारीहरू दिएका छन् । उनका अनुसार ग्यालेक्सी रिङमार्फत प्रयोगकर्ताको क्रियाकलाप तथा स्वास्थ्यको निगरानी गर्न सकिने छ ।
यस्तै उनले फिटनेस ट्र्याकरका केही प्रमुख विवरणहरूको बारेमा पनि खुलासा गरेका छन् । सामसङको पहिलो स्मार्ट रिङ्ग निकै हलुका भएको र यो १३ ओटा साइजहरूमा उपलब्ध हुने उनको भनाइ छ ।
विश्लेषक ग्रीनगार्टले सामसङ ग्यालेक्सी रिङ यस वर्षको अन्त्यसम्ममा लन्च हुने समेत खुलासा गरेका छन् । तर यसको मूल्यको बारेमा भने अझसम्म कसैलाई पनि कुनै विवरण उपलब्ध नभएको ग्रीनगार्टले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया