मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अलैँचीको मूल्य चार वर्षयताकै उच्च

काठमाडौँ – अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेपछि किसानको मुहारमा खुसी छाएको हो 

‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।’  

गत वर्षभन्दा झन्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताए । ‘गत वर्ष यस याममा प्रतिमन २८ हजार थियो, हाल राम्रो अलैँची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ’, उनले भने । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ । 

किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उनले बताए । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन् ।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब १ सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक ८–१० लाख बचत हराएको छैन’, उनले भने ।

आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो । 

मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताए ।  

जिल्लामा यस वर्ष १ हजार ३ सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो । एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्याङ्क छ ।

कार्यालयका कर्मचारी रुन खड्काका अनुसार गत आवमा १ हजार २ सय १५ दशमलव २६ मेट्रिक टन मात्र अलैँची उत्पादन भएको थियो । 

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो । अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर, अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । 

बिस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकासिएर प्रतिमन १ लाख रुपैयाँसम्म पनि पुग्यो । रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका हुन् ।

प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ । 
६ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती भए पनि सबै स्थानीय तहमा आंशिक रूपमा खेती हुँदै आएको छ । 

अलैंची खेती समुद्री सतहबाट ७ सयदेखि २ हजार १ सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?