काठमाडौं- भारत र पाकिस्तानबीचको हालैको सैन्य झडपपछिको तनाव कायमै रहेकाले एयर इन्डिया र इन्डिगोले मङ्गलबार (१३ मे) का लागि सीमावर्ती क्षेत्रका केही उडानहरू रद्द गरेका छन्।
१० मेमा युद्धविरामको सहमति भए पनि सीमामा तनाव नरहेकाले सावधानीस्वरूप यस्तो निर्णय लिइएको हो। एयर इन्डियाले जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटका सबै उडान रद्द गरेको जानकारी दिएको छ। इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटका उडान रद्द गरेको छ।
दुवै कम्पनीले यात्रुहरूलाई आवश्यक जानकारीका लागि वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन्।
यसैबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेपछि सुरक्षा अवस्था अझै संवेदनशील रहेको देखिएको छ। यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्न र सतर्कता अपनाउन सुझाव दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया