मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘राजा शिवाजी’ को सेटमा दुखद दुर्घटना : बलिउड अभिनेता रितेश देशमुख शोकमा

काठमाडौं- बलिउड अभिनेता रितेश देशमुखको निर्देशनमा निर्माण भइरहेको ऐतिहासिक चलचित्र ‘राजा शिवाजी’ को छायांकन सेटमा एक दर्दनाक दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका सदस्य २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको पुष्टि भएको छ।

सौरभ महाराष्ट्रको सतारा जिल्लामा चलचित्रको एक गीतको छायांकनमा सहभागी भएका थिए। अप्रिल २२ मा छायांकन सकिएपछि उनी नुहाउनका लागि नजिकै रहेको कृष्णा नदीमा गएका थिए। त्यही क्रममा नदीको तीव्र बहावले उनलाई बगाएको बताइएको छ। घटनापछि सौरभ बेपत्ता भएका थिए र छायांकन टोलीले उनलाई खोज्न सकेन।

सौरभको खोजीका लागि तत्कालै प्रहरी र उद्धार टोलीलाई खबर गरिएको थियो। खोजी कार्य सुरु गरिए पनि घटनाको समय साँझतिर भएकोले अँध्यारोका कारण पहिलो दिन उद्धार अभियान रोकिएको थियो। भोलिपल्ट बिहानबाट पुनः खोजी सुरु गरिए पनि कुनै सफलता मिलेन। अन्ततः अप्रिल २४ को बिहान सौरभको शव फेला पारिएको जानकारी प्रहरीले दिएको छ।

यस घटनापछि चलचित्रको छायांकन स्थगित गरिएको छ। घटनाले सम्पूर्ण फिल्म टिम शोकमा डुबेको छ। निर्देशक तथा मुख्य कलाकार रितेश देशमुखले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै सौरभको परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले पीडित परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएका छन्।

‘राजा शिवाजी’ ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्र हो, जसमा मराठा सम्राट छत्रपति शिवाजी महाराजको जीवन कथा प्रस्तुत गरिँदैछ। यस फिल्ममा रितेश देशमुखले निर्देशन र अभिनय दुवै भूमिका निर्वाह गर्दै छन्। चलचित्र हिन्दी र मराठी भाषामा निर्माण भइरहेको छ, जसको निर्माण रितेशकी पत्नी जेनेलिया देशमुख र निर्माता ज्योति देशपाण्डेले गरिरहेका छन्।

यो घटनाले बलिउड फिल्म उद्योगमा समेत शोक र स्तब्धता छाएको छ। विभिन्न कलाकार, निर्देशक र दर्शकहरूले सामाजिक सञ्जालमार्फत मृतक सौरभप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई धैर्य धारण गर्न सान्त्वना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?