काठमाडौँ- प्राचीन भारतका महान अर्थशास्त्री, राजनीतिज्ञ, र तात्त्विक चिन्तक चाणक्य (कौटिल्य) ले जीवन सफल बनाउनका लागि आचरण, व्यवहार र नैतिकताको विशेष महत्व दिएका छन्। उनले “चाणक्य नीति”मा जीवनका विविध पक्षहरूमाथि गहिरो विचार गरेका छन्। यहाँ प्रस्तुत छ चाणक्यले उल्लेख गरेका चार प्रमुख कमजोरीहरूको व्याख्या, जसले व्यक्तिको जीवन, समाजमा हैसियत र आत्मसम्मानमा गम्भीर प्रभाव पार्न सक्छ।
१. झुठको साहारा लिने प्रवृत्ति
चाणक्य भन्छन्— साँचो मार्ग कठिन हुन सक्छ, तर त्यही मार्ग दीर्घकालीन सफलता र सम्मानको आधार हो। धेरै मानिसहरू थोरै लाभ वा छिटो सफलताका लागि झुठ बोल्न थाल्छन्, तर झुठको जरो कमजोर हुन्छ। कुनै पनि झुठ कहिल्यै लुक्दैन, र एक दिन न एक दिन सत्य उजागर हुन्छ। त्यसबेला त्यस्ता व्यक्तिले सामाजिक अपमान र आत्मग्लानी मात्र पाउँछ। झुठबाट प्राप्त सफलतामा स्थायित्व हुँदैन। जीवनमा दीर्घकालीन सफलता र प्रतिष्ठाको लागि सत्यको मार्ग रोज्नु बुद्धिमानी हो।
२. धोका दिने प्रवृत्ति
चाणक्यका अनुसार, जो व्यक्ति आफ्नो स्वार्थका लागि अरुलाई धोका दिन्छ—साथी, परिवार, आफन्त, वा सहकर्मी—त्यो व्यक्ति कहिल्यै सफल र सुखी हुन सक्दैन। विश्वास भनेको सम्बन्धको मेरुदण्ड हो। एकपटक विश्वास टुटेपछि न सम्बन्ध बाँच्छ, न मान्यता रहन्छ। कसैलाई धोका दिनु केवल तिनको होइन, आफ्नो पनि क्षति हो। जीवनमा इमानदारी र पारदर्शिता राख्न सक्नु नै दीर्घकालीन सफलताको मूल कुन्जी हो।
३. रिसको नियन्त्रण गर्न नसक्ने प्रवृत्ति
चाणक्य भन्छन्- जो व्यक्ति सधैं रिसाउँछ, अरूलाई अपमान गर्छ, उनी कहिल्यै सम्मानित हुँदैन। रिस क्षणिक हुन्छ, तर त्यसको असर दीर्घकालीन हुनसक्छ। रिसले मानिसलाई विवेकहीन बनाउँछ, जसले सम्बन्ध बिगार्छ, अवसर गुमाउँछ, र सामाजिक हैसियत घटाउँछ। धैर्यता, सहनशीलता र विवेकपूर्ण व्यवहार मात्रले मानिसलाई साँचो अर्थमा महान बनाउँछ। रिसको नियन्त्रणले आत्मविकास र सामाजिक सद्भावमा मद्दत गर्छ।
४. गलत आचरण
व्यक्तिको बाहिरी सौन्दर्य होइन, उसको व्यवहार र आचरण नै उसको वास्तविक परिचय हो। चाणक्य भन्छन्—गलत बानी र आचरण भएका व्यक्तिलाई समाजमा कहिल्यै आदर दिइँदैन। स्वार्थ, क्रोध, लोभ, र कपटपूर्ण प्रवृत्तिले मानिसलाई आत्मिक र सामाजिक रूपमा कमजोर बनाउँछ। सफल, सम्मानित, र सुखी जीवनका लागि राम्रो चरित्र, नम्रता र इमानदारी अत्यावश्यक छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया