काठमाडौं । शहरी क्षेत्रमा मात्र नभई गाउँघरमा समेत मोमो सबैको मनपर्ने खाना बनेको छ। स्वादिष्ट, सजिलै उपलब्ध, र तुलनात्मक रूपमा सस्तो भएकाले मोमो लोकप्रिय छ। तर, स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक मोमो खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ।
मोमो र उच्च रक्तचापको समस्या
चिकित्सकहरूका अनुसार बारम्बार मोमो खानुले रक्तचाप बढ्ने सम्भावना हुन्छ। तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फास्टफूडको अत्यधिक सेवन, र शारीरिक निष्क्रियताका कारण उच्च रक्तचापको समस्या बढिरहेको छ। मोमोमा हुने चिल्लो, नुनिलो मसला र अजिनोमोटो जस्ता तत्वहरूले शरीरमा प्रतिकूल असर पार्न सक्छ।
उच्च रक्तचापले निम्त्याउन सक्ने खतरा
मुटु रोग: रक्तचाप असन्तुलित हुँदा मुटुमा अतिरिक्त दबाब पर्छ। जसले हृदयघात (हार्ट अट्याक) को सम्भावना बढाउँछ।
मिर्गौला समस्या: रक्तचाप नियन्त्रणबाहिर गएमा मिर्गौलामा क्षति पुग्न सक्छ।
आँखाको समस्या: उच्च रक्तचापले आँखाको दृष्टि कमजोर बनाउन सक्छ।
मस्तिष्कघात (स्ट्रोक): रक्तचाप असन्तुलित हुँदा मस्तिष्कका नसाहरू फाट्न सक्छन्, जसले पक्षघातको खतरा बढाउँछ।
स्वास्थ्यलाई ध्यानमा राखेर मोमो कसरी खानु पर्छ?
-नियमित रूपमा मोमो नखाने, कहिलेकाहीँ मात्र सीमित रूपमा सेवन गर्ने।
-उबालेको (स्टीम) मोमो प्राथमिकता दिने, धेरै चिल्लो र फ्राइड मोमो नखाने।
-नुन, मसला, र अजिनोमोटोको मात्रा कम भएको मोमो बनाउने वा सेवन गर्ने।
-घरमै स्वच्छ र स्वस्थकर सामग्रीबाट मोमो बनाउने, बाहिरको मोमो धेरै नखाने।
मोमो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि सचेत भएर खानुपर्छ। सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाएर मात्र दीर्घकालीन रूपमा राम्रो स्वास्थ्य कायम राख्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया