मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन मनाइन्छ होली ? जानौं यसको पौराणिक र सांस्कृतिक

काठमाडौँ। होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले बयान गर्दछ ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् ।

रङ्ग

होलीको लागि रङ्ग
रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्त्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ।

रातो
रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रंग हो- रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रंग मन पराउने मानिसहरू महत्त्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

हरियो
हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ। हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।

पहेंलो
यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो
नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ। यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।

कालो
होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

सेतो
धेरैलाई मन पर्ने रंग हो- सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन्। चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?