काठमाडौँ। दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ।
मधेसमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र स्कुलकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बिच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबिचको टसन ट्रेलरमा देख्न सकिन्छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो फिल्म रहेको बताए । ‘मैले यसअघि यति ठुलो फिल्म निर्माण गरेको थिइनँ । कलाकारसहित फिल्ममा एक हजार बढी मानिस संलग्न थिएँ,’ उनले भने ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने फिल्ममा आशा र दयाहाङको अलवा विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया